बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका तीन समूह : कसको शक्ति कति ?

तेस्रो धारको च्याप्टर बुधबार क्लोज हुने
आइतबार, ०६ भदौ २०७८, १७ : ४६
आइतबार, ०६ भदौ २०७८

विभाजित नेकपा एमालेको शक्ति सन्तुलन त्रिकोणात्मक बनेको छ । केपी ओली पक्ष र माधव नेपाल पक्षका साथै घनश्याम भुसालहरुको तेस्रो धारसमेत जन्मेपछि एमालेमा त्रिकोणात्मक शक्ति संघर्ष शुरु भएको हो । केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए नयाँ दल दर्ता गर्न सकिने अध्यादेश आएसँगै अब घनश्याम भुसालहरुको ‘तेस्रो धार’ले पनि चाहेको खण्डमा नयाँ दल दर्ता गर्न सक्ने स्थिति बनेको छ ।

निर्वाचन आयोगले मान्यता दिएको नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य संख्या २०३ हो । यसमध्ये २० प्रतिशत अर्थात ४१ जना केन्द्रीय सदस्यको साथ पाउने समूहले नयाँ दल दर्ता गर्न अध्यादेशले बाटो खोलिदिएको छ । जबकि माधव नेपाल समूहले मात्र होइन, तेस्रो धारले समेत आफ्नो पक्षमा २० प्रतिशतभन्दा बढी सदस्यहरु रहेको दाबी गरेका छन् ।

संघीय संसदमा एमालेका १५४ सांसद छन् । प्रतिनिधिसभाका १२१ र राष्ट्रियसभाका ३३ जोड्दा कुल संख्या १५४ पुग्छ । यसमध्ये माधव समूहले २० प्रतिशत, अर्थात ३१ सांसद जुटाएमा केन्द्रीय सदस्य संख्या २० प्रतिशत नपुगे पनि अध्यादेशअनुसार पार्टी विभाजनले वैधानिकता पाउन सक्छ ।  

एमालेको नवौं महाधिवेशनले १८१ सदस्यीय सदस्य निर्वाचित गरेको थियो । जसमा पदाधिकारीसहित २६ जना स्थायी कमिटी सदस्य थिए भने ३९ जना पोलिटब्युरो सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) र ११६ जना केन्द्रीय सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) थिए । १० प्रतिशत सदस्य मनोनित गर्न सकिने गरी विधानले २०३ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको थियो । यीमध्ये केही सदस्यको निधन भएको छ भने केही राजनीतिक नियुक्तिमा गएका छन् । तथापि निर्वाचन आयोगमा दर्ता रहेको २०३ सदस्यीय कमिटी नै एमालेको नवौं महाधिवेशनको केन्द्रीय संरचना हो ।​

एमालेका तीनवटा समूहको खास संख्या कति हो ? यसबारे नेताहरुलाई सोध्दा अहिले नै यकिन संख्या गणना गर्न नसकिने नेताहरु बताउँछन् ।

एमाले तेस्रोधारका एक नेताले रातोपाटीसँग भने, ‘२०३ मध्ये अहिले नै ठ्याक्कै संख्या निकाल्न सकिँदैन, किनभने माधव नेपाल समूह छाडेर तेस्रो धारमा लाग्ने वा संस्थापन पक्षतिर तानातान हुने क्रम यथावतै छ । बुधबार निर्वाचन आयोगले सनाखत गरिससकेपछि बल्ल यकिन ‘फिगर’ आउला ।’

नेताहरुले यसो भनिरहँदा हामीले गरेको एक विश्लेषणमा केपी ओलीको पक्षमा ५० प्रतिशत भन्दा थोरै बढी केन्द्रीय सदस्यहरु रहेको देखिन्छ । नेपाल पक्षले पुग–नपुग ३० प्रतिशत र तेस्रोधारले लगभग २० प्रतिशत केन्द्रीय सदस्यहरु ‘होल्ड’ गरेको देखिन्छ । यद्यपि नेताहरुले भनेजस्तै तीनवटै समूहमा तरलता र बहाव जारी नै देखिन्छ । तीनवटै समूहले एकआपसमा तानातान गरिरहेका छन् ।

‘कम्फर्टेबल जोन’ मा माधव नेपाल

निर्वाचन आयोगमा माधव नेपाल समूहले सुरुमा पेश गरेको निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम उल्लेख थियो । तीमध्ये ५८ जना पुराना केन्द्रीय सदस्य र बाँकी पछि थप गरिएका हुन् । दोस्रोपटक नियमावलीअनुसार दिइएको निवेदनमा नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यहरुको संख्या थप गरेको छ । तथापि थपिएका केन्द्रीय सदस्यहरुलाई भने आयोगले सनाखत गर्ने छैन ।

२०३ सदस्यमध्येबाट ४१ सदस्य हुँदा नै माधव नेपाल पक्षले दलको मान्यता पाउने अवस्थामा पुराना ५८ जना केन्द्रीय सदस्यले माधव नेपाललाई साथ दिएका छन् । यसले गर्दा नयाँ दलले मान्यता पाउनेमा कुनै समस्या नरहेको नेताहरु बताउँछन् ।

त्यसो त केपी शर्मा ओली पक्षले निर्वाचन आयोगमा अपडेट गराएको तथ्यांकमा केन्द्रीय कमिटीको सदस्य संख्या २६० उल्लेख छ । ओलीको यो दाबीलाई आयोगले मान्यता नदिने र २०३ सदस्यीय केन्द्रीय कमिटीबाटै सनाखत गर्ने आयोगको तयारी छ ।

एमालेले यसै साता आयोगका बुझाएको २६० सदस्य संख्यालाई आधार मान्ने हो भने पनि त्यसको २० प्रतिशत पुर्याउन माधव नेपाललाई ५२ जना केन्द्रीय सदस्य चाहिन्छ । त्यो अवस्थामा पनि माधव समूहमा पुराना केन्द्रीय सदस्यहरु नै ५८ जना रहेकाले २६० मै गणना गर्दा पनि नयाँ दलले वैधानिकता पाउने देखिन्छ ।

तर, अध्यादेशअनुसार केन्द्रीय समितिमा मात्र मात्रै होइन, संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए पनि नयाँ दलले मान्यता पाउँछ । यो अवस्थामा केन्द्रीय कमिटीमै २० प्रतिशत पुर्याइराख्न  आवश्यक छैन ।

संघीय संसदमा प्रतिनिधिसभाका १२१ र राष्ट्रिय सभामा ३३ गरी एमालेका १५४ सांसद छन्, जसमध्ये ३१ सांसद भए पार्टी विभाजनले मान्यता पाउँछ । माधव नेपालको पक्षमा प्रतिनिधसभाका र राष्ट्रिय सभामा गरी २२ को हाराहारीमा सांसद छन् । केपी ओलीलाई विश्वासको मत दिनेबेलामा मतदान नगर्ने सांसदको संख्या २७ थियो  । देउवालाई विश्वासको मत दिँदा २२ सांसदले फ्लोर क्रस गरेका थिए भने तेस्रो धारका १० सांसदले मतदान गरेका थिएनन् । उता राष्ट्रियसभामा डा बेदुराम भुसाल र स्वतन्त्रबाट चुनाव जितेका खिमलाल देवकोटासमेतलाई जोड्दा हाल नेपाल पक्षमा प्रेम आलेको टोलीसहित करिब २२ सांसद देखिन्छन् । 

राजनीतिक दलसम्बन्धी नियमावली आइसकेपछि शुक्रबार माधव नेपाल समूहले निर्वाचन आयोगमा अर्को निवेदन बुझाएको छ । सो निवेदनमा पनि २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरुको संख्या प्रस्तुत गरिएको छ । बुधबार निर्वाचन आयोगले ती केन्द्रीय सदस्यहरुको सनाखत गर्ने कार्यक्रम छ ।​

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि माधव नेपाल पक्षले बुझाएको ११५ जनाको हस्ताक्षरमध्ये करिब ५८ जना केन्द्रीय सदस्यहरु २०३ सदस्यीय केन्द्रीय कमिटीमा आवद्ध नेताहरु छन् । ‘-यान्डम्ली’ हिसाब गर्दा यो संख्या लगभग ३० प्रतिशतको हाराहारी पुग्न जान्छ ।  

हालसम्म माधव नेपाल समूहमा खुलेका केन्द्रीय सदस्यहरुको सूची यस्तो छ–

माधवकुमार नेपाल,  झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथ प्रसाद साह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुबंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी (गरिमा) शाह, देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाई कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधीरप्रसाद साह, कल्याणीकुमारी खड्का, शत्रुघन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चूडामणि बिक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्वाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, महम्मद महफुज अन्सारी, केशवलाल श्रेष्ठ, नरेश खरेल ।

निर्वाचन आयोगमा दर्ता गरिएको निवेदनमा पछि थपिएका माधव नेपाल समूहका केन्द्रीय सदस्यको विवरण–

भानुभक्त जैसी, चन्द्रबहादुर शाही, दिलकुमारी पन्त, बलराम बास्कोटा, बसन्तप्रसाद मानन्धर, महेश रेग्मी, श्रीनाथ बराल, सारदाप्रसाद रेग्मी, गोविन्द कोइराला (बाँके), सुरेश कार्की(उदयपुर),पुरुषोत्तम पौडेल (बारा), उर्वादत्त पन्त (कञ्चनपुर), दलबहादुर सुनार (बाँके), गणेश काङबाङ (पाँचथर), प्रभा बज्राचार्य (काठमाडौं), मनु सिग्देल (मकवानपुर), उषा पोखरेल (सप्तरी), रमा आले मगर (काठमाडौं), रीता रावल (जाजरकोट), माया भट्ट (बैतडी), पूर्णा जोशी (डोटी), कृष्णा राई, विद्या चाम्लिङ (मोरङ), रेखा थापा बस्याल (तनहुँ), शर्मिलादेवी पौडेल क्षेत्री (स्याङजा), राजेन्द्रलक्षी गैरे(पाल्पा), अनारकली मियाँ (दाङ), देवी ओली (रुकुम), नन्दा शर्मा चपाई (सुर्खेत), दुर्गा परियार (उदयपुर), कौशिला सिंह (बर्दिया), यमुना भुसाल (अर्घाखाँची), उदया शर्मा (काठमाडौं), आशा यादव (सिरहा), गोमा विष्ट(मकवानपुर), सीता बस्याल (चितवन), विभा कार्की (पर्सा)             

तेस्रो धारमा को को ?

नेकपा एमालेका दोस्रो तहका ९ जना नेताहरुले तोस्रो धार जन्माएका छन् । तेस्रो धारका ९ जना नेताहरुमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

तेस्रो धारका नेताहरुले शुक्रबार महाराजगञ्जमा आयोजना गरेको भेलामा ५७ जनाको उपस्थिति रहेको दाबी गरिए पनि केन्द्रीय सदस्य र सांसदहरुको सूची गोप्य राखिएको छ ।

तेस्रो धारका एक नेताले रातोपाटीसँग भने, ‘अध्यादेशमा टेकेर पार्टी विभाजन गर्ने हो भने हामीसित पनि २० प्रतिशत केन्द्रीय सदस्यको संख्या पुग्छ । तर, हामी एकताका पक्षधर हौं, हामीले यो अध्यादेशको विरोध गरेका छौं ।’

 

एमालेको तेस्रो धारमा तीन उपाध्यक्ष, एक उपमहासचिव र तीनजना सचिवसहित स्थायी कमिटीका ९ सदस्य सहभागी छन् । उनीहरुको समूहमा सहभागी रहेका केन्द्रीय सदस्य र सांसदहरुको विवरण प्राप्त भएको छैन । तर, यसअघि माधव नेपाल समूहमा रहेका तर, अहिले पार्टी विभाजनमा सहभागी नभएका नेताहरुको सूची हेर्दा ४० जनाको हाराहारी देखिन्छ । यो संख्या भनेको कुल २०३ सदस्य संख्याको लगभग २० प्रतिशत हो ।

माधव समूहका यी केन्द्रीय सदस्य, जो अहिले तटस्थ छन्–

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अमृत बोहोरा (पदेन), रघुजी पन्त, परशुराम मेघी गुरुङ, अरुण नेपाल, जीवन घिमिरे,  टंक कार्की, ठाकुर गैरे, ममता गिरी, यज्ञराज सुनुवार, लक्ष्मण पौडेल, विजय गुरुङ, सीता गिरी ओली, सोमप्रसाद पाण्डे, श्रीप्रसाद साह, केदार न्यौपाने,  हरिनारायण महतो, कमलजंग राई दनुवार,  गणेश पहाडी,  धर्मराज निरौला, प्रकाश शाह,  माधव अर्याल,  रचना खड्का, राजन राई, राजबहादुर बुढा, रामरती देवी राम, सुरेन्द्र मानन्धर, सोम मिश्र, हरिबहादुर राई, हंशराज शाही, खगेन्द्र चुँडाल, झपट रावल ।  

केपी ओलीसँग ५० प्रतिशत बढी

एमालेका तीनवटा धारमध्ये केपी ओलीसँग ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरुको संख्या देखिन्छ । माधव नेपालको पक्षमा नगएका केन्द्रीय सदस्यहरुलाई समेट्ने हो भने ओलीको पक्षमा दुई तिहाई भन्दा पनि अर्थात ७० प्रतिशत केन्द्रीय सदस्य पुग्न सक्छन् । तर, तेस्रो धारले अलग्गै बनाएका कारण ओली पक्षको संख्या ५० को हाराहारीमा खुम्चन पुगेको हो ।

ओली समूहमा रहेका केन्द्रीय नेताहरुको सूची–

केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, ईश्वरीप्रसाद भट्टाई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, कृष्णबहादुर राई, खिमलाल भट्टराई, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, पदमा अर्याल, पुरनसिंह दयाल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षेत्री, थममाया थापा, नजीर मियाँ, नारदमुनि राना, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भानुभक्त ढकाल, महादेव यादव, मोहमद हारुन हलुवाई, रामेश्वर राना मगर, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षेत्री, शान्ता चौधरी, बिन्दा पाण्डे, भैरबसुन्दर श्रेष्ठ, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, राधाकुमारी ज्ञवाली, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजवंशी, हिक्मतकुमार कार्की, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल र शेरबहादुर तामाङ ।

वामदेव अझै अस्पष्ट

एमाले विवादमा वामदेव गौतम कतै पनि लागेका छैनन् । अध्यक्ष ओलीसँग पनि उनको राम्रो सम्बन्ध हुन सकेको छैन भने माधव नेपालले गठन गरेको एकीकृत समाजवादीमा पनि उनी खुलिसकेका छैनन् ।

तेस्रो धार भनेर पार्टी एकताका लागि जुटेका भीम रावल सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरुको कित्तामा पनि गौतम सहभागी छैनन् ।

एमाले विवादमा ओली र नेपालसँगको कुराकानीमा पार्टी एकता गर्ने जिम्मा दिए आफूले दुबै धारलाई मिलाउने बताउँदै आएका गौतमले आइतबार मात्रै आफू एमालेमै रहेको बताएका छन् । 

तेस्रो धारको च्याप्टर बुधबार क्लोज हुने

एमालेको शक्ति संघर्षमा रोचक एवं नौलो परिघटना के देखिएको छ भने भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल लगायतका दोस्रो पुस्ताका नेताहरुले एमालेमै रहने बताउँदै बेग्लै गुट खडा गरेर केपी ओलीलाई विगतकै जस्तो चुनौती दिएका छन् । यसले गर्दा माधव नेपाल पक्षलाई केही राहत मिलेको छ भने ओली पक्ष केही दबावमा परेको छ ।

माधव पक्षका नेताहरु पार्टीबाट बाहिरिए पनि तेस्रो धारले १० बुँदे कार्यान्वयन हुनुपर्ने माग राखेर ओलीलाई दबाव दिइरहेको छ, जसले गर्दा ओलीले हिजो भोगेको समस्या अहिले पनि ज्युँकात्युँ रहन पुगेको हो ।

१० बुँदे कार्यान्वयन भएन भने एमालेभित्र ठूलो विद्रोह हुने तेस्रो धारका नेताहरुले चेतावनी दिएको अवस्था छ । यो स्थितिले गर्दा ओलीको पक्षमा ५० प्रतिशतभन्दा बढी बहुमत नै रहेता पनि अन्तरविरोधको गजुल्टो फुकेको छैन, जसले पार्टीलाई अप्ठ्यारोमा पार्ने स्थिति यथावतै छ ।  

हुन त एमालेमा यो स्थिति अब धेरै समय नरहला । किनभने, तेस्रोधारमा लागेका एमाले नेताहरुसँग तीनवटा मात्रै विकल्प छन् ः ओलीसँगै रहने, माधव नेपालतिर लाग्ने वा बेग्लै पार्टी बनाउने ।  यी तीन विकल्पको कार्यान्वयन गर्ने अवस्थासम्म पुग्दाखेरि एमालेको शक्ति सन्तुलनमा निकै ठूलो उथल–पुथल हुने सम्भावना देखिन्छ । यी विकल्पहरु चाँडै रोज्नुपर्ने समयको दबाव र चापमा छन् तेस्रो धारका नेताहरु ।  

​तेस्रो धारका नेताहरुले अहिले पनि १० बुँदे सहमति कार्यान्वयन गर्न, १४ संसदमाथिको कारवाही फिर्ता लिन, अध्यादेश फिर्ता लिन र नयाँ दल दर्ता गर्नबाट पछाडि हट्न ओली–माधव दुबै पक्षलाई दबाव दिइरहेका छन् ।

तेस्रो धारले दिएको यो दबावको म्याद यही बुधबार सकिनेछ । किनभने, त्यस दिन आयोगले माधव नेपाल पक्षलाई सनाखतमा बोलाएको हुँदा तेस्रो धारको माग पूरा हुने–नहुने मंगलबार साँझसम्म टुंगो लागिसक्नुपर्ने हुन्छ ।

तेस्रो धारका नेता गोकर्ण विष्ट रातोपाटीसँग भन्छन्, ‘हामी एकताकै लागि अहिलेसम्म प्रयासरत छौं, अन्तिमसम्म पनि प्रयास सफल नभए हामी आफ्नो निर्णय लिन स्वतन्त्र छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप