आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बजारमा डलर र भारुको अभाव, सञ्चिती घटेपछि सटहीमा कडाई

नोटको सट्टा कार्ड प्रयोग गर्न केन्द्रीय बैंकको प्रोत्साहन
बिहीबार, १४ असोज २०७८, १३ : २६
बिहीबार, १४ असोज २०७८

विदेशी मुद्राको सञ्चिती घटेपछि डलर र भारु लगायतका विदेशी मुद्राको सटहीमा कडाई गर्न थालिएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्राको सटही कडाई गर्न मौखिक निर्देशन दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्राको सटही कम गर्न अनौपचारिक निर्देशन दिएको रातोपाटीलाई बताए । उनले विदेशी मुद्राको नोट कारोबार कम गर्ने लक्ष्यसहित यस्तो निर्देशन दिएको बताए ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलाएरै नोटभन्दा कार्ड (डिजिटल) बाट कारोबार गर्न भनेको हो । यसले राष्ट्र बैंकसँग रहेको अमेरिकी डलरको सञ्चिती घट्नबाट रोकिने केन्द्रीय बैंकको आँकलन छ ।

केन्द्रीय बैंकले हालसालै निकालेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ नामक प्रतिवेदनमा विदेशी मुद्राको सञ्चिती घटेको देखिएको छ । प्रतिवेदनअनुसार एक महिनाको अवधिमै विदेशी मुद्राको सञ्चिती ३.२ प्रतिशतले घटेको छ ।

ग्लोबल आईएमई बैंकका डेपुटी कार्यकारी अधिकृत महेश शर्मा ढकालले विदेशबाट भित्रिने रेमिट्यान्स घट्दा र पर्यटकीय गतिविधि घट्दा विदेशी मुद्राको अभाव भएको बताए । उनले विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा पनि आर्जन हुने गरेकामा कोभिड–१९ का कारण पर्यटक नआउँदा मुद्रा आर्जन घटेको बताए ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिती थियो । तर, साउन मसान्तसम्ममा आइपुग्दा विदेशी मुद्रा ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरमा आइपुगेको छ ।

खासगरी, चालू आर्थिक वर्षमा आयात ह्वात्तै बढेपछि राष्ट्र बैंकको ढुकुटीबाट विदेशी मुद्राको सञ्चिती निरन्तर घटिरहेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को साउन र भदौमा ३ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । तर, आयातको तुलनामा न्यून निर्यात हुँदा वैदेशिक व्यापारमार्फत विदेशी मुद्रा आर्जन हुन सकेको छैन ।

यही तुलनामा आयात बढेमा अबको बाँकी १० महिनामा २० खर्बभन्दा बढीको आयात हुने आँकलन गरिएको छ । केन्द्रीय आयातको बढ्दो क्रम रोक्न समेत डलरको सटहीमा कडाई गरेको हो । नेपाल भारत बाहेकका मुलुकबाट गर्ने आयातको भुक्तानी डलर बाटै दिनुपर्छ । भारतबाट हुने आयातमा भने भारतीय रूपैयाँबाट समेत भुक्तानी गर्न सकिन्छ ।

केन्द्रीय बैंकले डलर र भारु सटहीमा कडाई गरेपछि अहिले वाणिज्य बैंकहरुमा चर्को अभाव देखिएको छ । नेपालका अधिकांश बैंकले भारु साट्न आउने ग्राहकलाई फिर्ता पठाउने गरेका छन् । अब, केन्द्रीय बैंकको अनौपचारिक निर्देशनपछि डलरको सटहीका लागि आउने ग्राहकलाई पनि फिर्ता पठाउन थालेका छन् ।

यसका साथै, भारतसँगको खुला सिमानाको फाईदा उठाउँदै अनौपचारिक क्षेत्रबाट सामान आयात हुँदा अनौपचारिक क्षेत्रबाटै भारु जाने गरेको छ । जसले गर्दा नेपालमा अहिले डलरसँगै भारुको पनि अभाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप