शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित, दैनिक एक लाखसम्म पुग्ने

बिहीबार, ०४ कात्तिक २०७८, ०६ : १५
बिहीबार, ०४ कात्तिक २०७८

बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म पुग्ने स्वास्थ्य मन्त्री साजिद जाविदले बुधबार साँझको कोरोना अपडेट प्रेस ब्रिफिङमा बताए ।

विगत आठ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । गत जनवरीमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलिरहँदा दैनिक सङ्क्रमित सङ्ख्या ५० हजार भन्दा माथि रहेको थियो । सङ्क्रमित सङ्ख्याको सबैभन्दा उच्चतम बिन्दु ८ जनवरीमा ६८ हजार ५३ पुगेको थियो । बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या ८५ लाख ८९ हजार ७३७ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घण्टामा १७९ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अघिल्लो दिन पछिल्लो सात महिनायताकै सबैभन्दा बढी २२३ जनाको मृत्यु भएको थियो।थपिएका नयाँ सङ्क्रमितसँगै बेलायतमा कोरोनाका सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकै दिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

सङ्क्रमण दर तीव्र रूपमा बढ्दै गएपछि स्वास्थ्य मन्त्री जाविदले सङ्क्रमण फैलिन नदिन सम्भव भएसम्म आउटडोर मिटिङ गर्न आग्रह गरेका छन् । यदि घरभित्र मिटिङ गर्न परेमा झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न पनि अनुरोध गरेका छन् । साथै प्रत्येक हप्ता र्यापिड टेष्ट गर्न पनि उनको सुझाव छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४९ लाख ३९ हजार ८४ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९५ लाख ५ हजार ३२७ जनाले खोपको पहिलो डोज र ४ करोड ५४ लाख ३३ हजार ७५७ जनाले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसका साथै बेलायतमा हाल खोपको तेस्रो अर्थात् बुष्टर डोज पनि सुरु गरिएको छ । हालसम्म करिब ४० लाख मानिसहरूले बुष्टर डोज लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप