ad
x
न्याय

हाइप्रोफाइल बुढानीलकण्ठ दुर्घटना प्रकरण : नभएको सिसिटिभी खोजी र साक्षी बुझ्नमै अड्कियो मुद्दा

दुई वर्षमा एक पटक मात्रै पेसीमा !

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

२०७६ साल मङ्सिर २८ गते बिहान बुढानीलकण्ठमा एउटा कार दुर्घटना भयो । शिवपुरी क्षेत्रबाट तीव्र गतिमा आएको बा१४च ६१२३ नम्बरको कार अनियन्त्रित भई सडकछेउमा रहेको फुटपाथमा हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई ठक्कर दियो र उनको मृत्यु भयो । उक्त कारका चालक २१ वर्षीय पृथ्वी मल्ल (तत्कालीन समयमा) पक्राउ परे ।


दुर्घटनापछि भएको अनुसन्धानमा कार चालक पृथ्वी मल्लले अत्यधिक मादक पदार्थ सेवन गरेको र उनी पूर्ण होस हवासमा नरहेको पुष्टि भयो । साथै मल्लसँग नेपाली सवारी चालक अनुमति पत्रसमेत नभएको पुष्टि भयो र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको अनुसन्धानको आधारमा नेपाल सरकारले मल्लविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सवारी ज्यान मुद्दा दर्ता गर्‍यो ।



रामकुमार देवकोटाको जाहेरी तथा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २०७६ पुस २१ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको मुद्दा २ वर्ष पूरा हुन लाग्दासमेत अझै साक्षी बुझ्न मै केन्द्रित छ । यो करिब २ वर्षको अवधिमा २०७८ साल असोज २० गते एक पटक मात्रै उक्त मुद्दा पेसीमा चढेको थियो र उक्त दिन पनि साक्षी बुझ्ने आदेश भएरै मुद्दा अड्किएको छ । बुढानीलकण्ठ दुर्घटनाको नामले चर्चित उक्त दुर्घटनाका प्रतिवादी पृथ्वी मल्ल सर्वोच्च अदालतको आदेशले थुनामुक्त भइसकेका छन् । यद्यपि उनी विरुद्धको मुद्दा भने काठमाडौँ जिल्ला अदालतमा चलिरहेको छ ।





पहिले घटनाबारे बुझौँ ।



काठमाडौँको गोठाटार स्थायी घर भएका २१ वर्षीय पृथ्वी मल्ल अध्ययनका लागि अमेरिका गएका थिए । तर केही समयको बिदामा मल्ल २०७६ साल मङ्सिरको २३ गते नेपाल फर्किएका थिए । नेपाल फर्किएको चौथो दिन अर्थात् मङ्सिर २७ गते मल्ल घुमघाममा निस्किए । साथी करिश मास्केलाई साथमा लिएर मल्ल बा १४ च ६१२३ नम्बरको कार चलाएर उनी घुम्न निस्किए । सुरुमा मल्ल र मास्के नक्साल नारायणचौरमा रहेको जिम हलमा पुगे । त्यहाँ केही समय बिताए । अनि साँझ ७:३० बजेतिर बालुवाटारमा रहेको पलेञ्ज गार्डेन रेष्टुरेन्टमा गएर खाना खाए ।



साँझ ९ बजेतिर मल्ल र मास्के ठमेलमा रहेको केसिज रेष्टुरेन्टमा साथीहरु भेट्न पुगे । त्यहाँ उनीहरूले मदिरा पनि सेवन गरे । त्यसपछि उनीहरू रातको १:३० बजेको समयमा ठमेलस्थित नाइट क्लब एलओडी पुगे । एलओडीमा मदिरा पिउँदै बसेका उनीहरू बिहान ४:३० बजे ठमेलमै रहेको सेनेट क्लबमा गए र त्यहाँ केटी साथीहरु परमिता राणा र मनीषा महर्जनलाई लिएर बुढानीलकण्ठस्थित ग्रिनभ्याली पार्क रिसोर्टतिर लागे ।



​मदिराले लट्ठ भएकै अवस्थामा मल्ल आफैले कार चलाएर अन्य ३ साथीसहित बुढानीलकण्ठस्थित ग्रिनभ्याली रिसोर्टमा पुगेका थिए । त्यहाँ पुगेर पनि उनीहरूले निरन्तर मदिरा सेवन गरे । बिहान केही नास्ता गरेपछि उनीहरू त्यहाँबाट घरतर्फ फर्किए । तर मदिराले लट्ठ बनेका मल्लले आफ्नो कारलाई नियन्त्रणमा राख्न सकेनन् र बुढानीलकण्ठमा विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई ठक्कर दियो । घटनामा गम्भीर घाइते बनेकी लिलाको उपचारकै क्रममा मृत्यु भयो ।

यता दुर्घटनाको साक्षी रहेकी परमिता राणा र उनकी साथी मनीषा महर्जन त्यहाँबाट भागे । पृथ्वी मल्ल र उनका साथी करिश मास्के त्यहीँ बसे । प्रहरी आएपछि उनीहरूलाई पक्राउ गरियो । मल्लसँग नेपाली लाइसेन्ससमेत थिएन । आफूसँग अमेरिकाकै अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स भएको कारण कार चलाएको बयान मल्लले दिएका थिए ।

सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको सवारी ज्यान मुद्दामा १० वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

दोषी ठहरिए सजाय हुने यस्तो छ कानुनी व्यवस्था

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन २०७५ को दफा १६१ मा ज्यान मरेमा हुने सजायको उल्लेख गरेको छ ।

दफा १६१ मा यस्तो कुरा लेखिएको छ :

१६१. ज्यान मरेमा हुने सजायः

(१) कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।

(२) कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

(३) कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(४) चालक अनुमति पत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँ समेत जरिवाना हुनेछ ।

तर जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन ।

(५) कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमति पत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।

अदालतमा चैत २०७७ मै पत्र पुगे पनि त्यसपछि साक्षी बुझ्ने भन्दै फेरि साक्षीहरूको नाममा पत्र काटियो । अदालतले चाहेको भए सुरुमै साक्षी बुझ्न पनि सक्थ्यो । तर सिसिटिभी फुटेज मगाउने र साक्षी बुझ्ने काम एकैपटक गर्न सकिने भएपनि एकपछि अर्को पत्र लेख्दैमा अदालतले समय गुजारेको छ ।

२०७८ साल असोज ६ गते न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीको इजलासमा पहिलो पटक पेसीमा चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भयो । साक्षीहरूलाई मङ्सिर ७ गतेका लागि बकपत्र गर्न बोलाइएको थियो । तर मङ्सिर ७ गते कुनै पनि साक्षी अदालतमा उपस्थित भएर बयान बकपत्र गरिदिएनन् । अदालतले मल्लको ‘अल्कोहल टेष्ट’ गर्ने चिरायु अस्पतालका चिकित्सकलाई पनि बकपत्रका लागि बोलाएको थियो । तर अस्पतालले मङ्सिर ५ गते काठमाडौं जिल्ला अदालतलाई पत्र पठाएर मल्लको स्वास्थ्य परीक्षण गर्ने डाक्टर अध्ययनका सिलसिलामा देशबाहिर रहेको पत्र पठाएको छ ।

बिना लाइसेन्स, मदिरा सेवन गरी लापरबाहीपूर्वक सवारीसाधन चलाएर फुटपाथमा हिँडिरहेकी एक महिलाको ज्यान गएको सवारी ज्यान मुद्दा यो वा त्यो कारणले पछाडि धकेलिँदै छ । सवारी ज्यान मुद्दामा अन्य मुद्दामा जस्तो बुझ्नुपर्ने कुरा धेरै हुँदैनन् । यस्तो मुद्दामा साक्षीको बकपत्र पनि अदालती कर्मकाण्डी मात्रै हुन् ।

अदालतले घटना भएको स्थान र समयको सिसिटिभी फुटेज पाइसकेको छ । तर अदालत कहिले सेने क्लबको सिसिटिभी फुटेज त कहिले पलेञ्ज गार्डेन रेष्टुरेण्टको सिसिटिभी फुटेजमै अड्किएको छ । अनि सुरुमै गर्न सकिने साक्षी बुझ्ने काम पनि बल्ल सुरु हुँदैछ । तर बकपत्रका लागि साक्षी उपस्थित नै नभएपछि अब फेरि साक्षी बोलाउने कि बहस सुरु गर्ने भन्ने अन्योल कायम नै छ ।

न्यायाधीश चोङ्टेन्लीले पहिलो पटक पेसीमा चढ्दा साक्षी बुझ्ने आदेश दिए पनि साक्षी बुझ्न सकिएन । अब यस मुद्दाको अर्को पेसी आगामी मङ्सिर २७ गतेका लागि तोकिएको छ । तर उक्त पेसीमा पनि फेरि साक्षी बुझ्ने आदेश हुने कि सजाय हुनुपर्ने हो वा होइन भनेर बहस हुने हो अझै अन्योल नै छ ।

जिल्ला अदालत नियमावली २०७५ को नियम ४० क मा २ जनासम्म प्रतिवादी भएको सामान्य प्रकृतिको मुद्दा ६ महिनाभित्रै फैसला गरिसक्नुपर्ने उल्लेख छ । तर एउटा चर्चित दुर्घटनाको मुद्दा दर्ता भएको २ वर्ष पूरा हुन लाग्दासमेत एक पटक मात्रै पेसीमा चढ्नु र नभएको सिसिटिभी फुटेज खोज्नु तथा साक्षी बुझ्नुमै केन्द्रित हुनु रहस्यमयी छ ।

अब बुढानीलकण्ठ दुर्घटनालाई हेर्ने हो भने यहाँ मान्छे मार्ने नियतका साथ सवारीसाधन चलाएको नभई लापरबाहीपूर्वक सवारी चलाएको चाहिँ प्रष्ट नै बुझिन्छ । यसरी हेर्दा बुढानीलकण्ठ दुर्घटनाका पीडक वा अभियुक्त पृथ्वी मल्ललाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने बुझिन्छ ।

तर मल्लसँग नेपाली सवारी चालक अनुमति पत्र नभएको कारण निजलाई थप २ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ । सरकारी वकिलले यही दफा प्रयोग गरेर मल्ललाई १० वर्ष कैद सजायको माग दाबी गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ गते प्रतिवादी पृथ्वी मल्ल तत्काल प्राप्त प्रमाणबाट निर्दोष हुन् भन्न सकिएन भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर मल्लले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पाटन उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गर्दै थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशलाई पनि अस्वीकार गर्दै मल्ल थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालत पुगेका थिए । त्यतिबेला कोरोना महामारीको जोखिम बढेको, आफू दमको रोगी रहेको, डिप्रेसनको रोगी रहेको कारण थुना बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने उनको निवेदन थियो ।

सो निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले मल्ल ७ महिना थुनामै रही अनुसन्धानलाई सहयोग गरेको, निज भागेर जाने वा प्रमाण लुप्त हुने अवस्था पनि नदेखिएको तथा थुनामै राख्दा दमका रोगीलाई कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै ५ लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो । उक्त आदेशपछि मल्ल यतिबेला थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

तर २०७६ पुस २१ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब २ वर्षको अवधिमा एक पटक मात्रै पेसीमा चढेको छ । काठमाडौँ जिल्ला अदालतको ताकेता हेर्ने हो भने लामो समय हुँदै नभएको सिसिटिभी फुटेजको ताकेता मै केन्द्रित छ भने पछिल्लो समय साक्षी बुझ्ने भन्दै त्यसैमा केन्द्रित छ ।

काठमाडौँ जिल्ला अदालतले तेस्रोपटक २०७७ चैत ६ गते जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै सिसिटिभी फुटेज पठाइदिन ताकेता गरेको छ । अदालतले घटना भएको दिनको बिहान ४ देखि ५ बजेसम्मको सेनेट क्लब आसपासको सिसिटिभी फुटेज र बालुवाटारको पलेञ्ज गार्डेन रेष्टुरेण्टको फुटेज माग गरेको थियो । पहिलो र दोस्रो पत्रको जवाफ नआएपछि तेस्रोपटक २०७७ चैत ६ गते पत्र लेखेर सिसिटिभी फुटेज उपलब्ध गराइदिन आग्रह गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले महानगरीय प्रहरी वृत्त महाराजगञ्जको पत्रको आधारमा २०७७ चैत ३१ गते काठमाडौँ जिल्ला अदालतलाई पत्र लेख्दै उक्त दिन र समयमा ती स्थानहरुको सिसिटिभी फुटेज उपलब्ध हुन नसकेको ब्यहोरा उल्लेख गर्दै पत्र पठाएको छ ।

अदालतमा चैत २०७७ मै पत्र पुगे पनि त्यसपछि साक्षी बुझ्ने भन्दै फेरि साक्षीहरूको नाममा पत्र काटियो । अदालतले चाहेको भए सुरुमै साक्षी बुझ्न पनि सक्थ्यो । तर सिसिटिभी फुटेज मगाउने र साक्षी बुझ्ने काम एकैपटक गर्न सकिने भएपनि एकपछि अर्को पत्र लेख्दैमा अदालतले समय गुजारेको छ ।

२०७८ साल असोज ६ गते न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीको इजलासमा पहिलो पटक पेसीमा चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भयो । साक्षीहरूलाई मङ्सिर ७ गतेका लागि बकपत्र गर्न बोलाइएको थियो । तर मङ्सिर ७ गते कुनै पनि साक्षी अदालतमा उपस्थित भएर बयान बकपत्र गरिदिएनन् । अदालतले मल्लको ‘अल्कोहल टेष्ट’ गर्ने चिरायु अस्पतालका चिकित्सकलाई पनि बकपत्रका लागि बोलाएको थियो । तर अस्पतालले मङ्सिर ५ गते काठमाडौं जिल्ला अदालतलाई पत्र पठाएर मल्लको स्वास्थ्य परीक्षण गर्ने डाक्टर अध्ययनका सिलसिलामा देशबाहिर रहेको पत्र पठाएको छ ।

बिना लाइसेन्स, मदिरा सेवन गरी लापरबाहीपूर्वक सवारीसाधन चलाएर फुटपाथमा हिँडिरहेकी एक महिलाको ज्यान गएको सवारी ज्यान मुद्दा यो वा त्यो कारणले पछाडि धकेलिँदै छ । सवारी ज्यान मुद्दामा अन्य मुद्दामा जस्तो बुझ्नुपर्ने कुरा धेरै हुँदैनन् । यस्तो मुद्दामा साक्षीको बकपत्र पनि अदालती कर्मकाण्डी मात्रै हुन् ।

अदालतले घटना भएको स्थान र समयको सिसिटिभी फुटेज पाइसकेको छ । तर अदालत कहिले सेनेट क्लबको सिसिटिभी फुटेज त कहिले पलेञ्ज गार्डेन रेष्टुरेण्टको सिसिटिभी फुटेजमै अड्किएको छ । अनि सुरुमै गर्न सकिने साक्षी बुझ्ने काम पनि बल्ल सुरु हुँदैछ । तर बकपत्रका लागि साक्षी उपस्थित नै नभएपछि अब फेरि साक्षी बोलाउने कि बहस सुरु गर्ने भन्ने अन्योल कायम नै छ ।

न्यायाधीश चोङ्टेन्लीले पहिलो पटक पेसीमा चढ्दा साक्षी बुझ्ने आदेश दिए पनि साक्षी बुझ्न सकिएन । अब यस मुद्दाको अर्को पेसी आगामी मङ्सिर २७ गतेका लागि तोकिएको छ । तर उक्त पेसीमा पनि फेरि साक्षी बुझ्ने आदेश हुने कि सजाय हुनुपर्ने हो वा होइन भनेर बहस हुने हो अझै अन्योल नै छ ।

जिल्ला अदालत नियमावली २०७५ को नियम ४० क मा २ जनासम्म प्रतिवादी भएको सामान्य प्रकृतिको मुद्दा ६ महिनाभित्रै फैसला गरिसक्नुपर्ने उल्लेख छ । तर एउटा चर्चित दुर्घटनाको मुद्दा दर्ता भएको २ वर्ष पूरा हुन लाग्दासमेत एक पटक मात्रै पेसीमा चढ्नु र नभएको सिसिटिभी फुटेज खोज्नु तथा साक्षी बुझ्नुमै केन्द्रित हुनु रहस्यमयी छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।