शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा पनि हिमानी ट्रस्ट विस्तार, हिमानी शाहले गरिन् उद्घाटन

बिहीबार, ०६ माघ २०७८, १५ : ४०
बिहीबार, ०६ माघ २०७८

पूर्व राजपरिवारको संलग्नतामा नेपालमा सामाजिक कार्यका लागि स्थापना गरिएको ‘हिमानी ट्रस्ट’ अमेरिकामा पनि विस्तार गरिएको छ । पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन गरेकी हुन् । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यस्थित लिजबर्ग शहरमा आयोजित कार्यक्रममा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरिएको हो । समारोहमा पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो संस्था र यसको सेरोफेरोमा चर्चा गरेकी थिइन् ।

उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका विभिन्न शाखाका पदाधिकारी, स्थानीय सामाजिक अभियन्ता, विदेशी पाहुना उपस्थित थिए । समारोहमा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो । समारोहमा हिमानी ट्रस्ट युएसएका महासचिव आनन्दु लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विदेशी पाहुनाहरुले मन्तव्य राख्दै हिमानी शाह र उनकै नेतृत्वमा खोलिएको हिमानी ट्रस्टले सामाजिक सेवामा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

समारोहमा विदेशी अतिथिहरुमा भर्जिनियाका सिनेटर मार्क वार्नरका प्रतिनिधि, लाउडन काउन्टीका प्रतिनिधिहरु, अमेरिकी विदेश विभागका पूर्व पदाधिकारी लगायत सहभागी थिए । समारोहमा स्वयंसेवक, दाता तथा पदाधिकारीहरुलाई हिमानी शाहले प्रशंसापत्र वितरण गरेकी थिइन् । सञ्चारकर्मी रमा सिंहले सञ्चालन गरेको कार्यक्रममा महासचिव आनन्दु लामाले अमेरिकामा स्थापित शाखा र यसको उद्देश्यबारे जानकारी गराएका थिए । हिमानी ट्रस्ट युएसएका अध्यक्ष हरि शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

हिमानी शाह गत मंगलबार डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेकी थिइन् । विमानस्थलमा उनको स्वागतमा भर्जिनिया, वाशिंगटन डिसी, क्यालिफोर्निया ,ओहायो, टेक्सस, कोलोराडो लगायतबाट पदाधिकारीहरु आएका थिए ।

हिमानी शाहको अमेरिका बसाई करिव २ हप्ता हुनेछ भने यस पटक उनी डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ । हिमानी ट्रस्ट युएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैर मुनाफायुक्त सामाजिक संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप