ad
x
साहित्य

पुराण एक गन्तव्य अनेक

person explore access_timeमाघ ८, २०७८ chat_bubble_outline0

देवी मन्दिरमा सार्वजनिक रूपले श्रीमद् भागवत पुराण लाउने व्यवस्था मिलाइएको छ । व्यवस्था मण्डलीमा मेरो नाउँ पनि समाविष्ट गरिएकाले मलाई पुराण सुन्न इच्छाभन्दा बढी दायित्वबोधले पिरलेको हुँदा देवी मन्दिरतिर लाग्छु । 


बाटामा मभन्दा केही अघि एक जोडी युवायुवती गइरहेका हुन्छन् । युवतीको हातमा फूल प्रसादको थाली देख्ता मलाई अनुमान लाउन गाह्रो पर्दैन । यिनीहरू पनि  पुराण सुन्न गइरहेका छन् । म उनीहरूको छेउमै पुग्छु । दुवै आफ्ना कुरामा मग्न छन् । 



“विमला ! तिमीसित त भेटै हुँदैन । अचेल निस्कनै छाड्यौ । कति दिन म चर्चपार्कबाट निराश भएर फर्केको छु ।” युवक गुनासो पोख्छ । 



“आमाले निस्कनै दिनुहुन्न । आज कति गरेर पुराण सुन्न जाने निहुँमा बल्ल निस्कन पाएँ ।”– युवती स्मष्टीकरण दिन्छे । 



लौ यो पुराण पनि हाम्रो लागि वरदान नै भने । हिजोदेखि थालेको, अझ पाँच दिन चल्छ । पाँच दिनसम्म त हाम्रो भेट हुने रहेछ त्यसो भए ।”



“कुन्नि भोलिदेखि त आउन पाउँछु कि पाउँदिन । आमालाई विसन्चो छ । आउन दिनुहुन्छ कि हुन्न ।”



“पण्डितजीले राम्रो कथा भन्नुहुन्छ भनेर पनि केहीबेरको निम्ति आउन । तिमीलाई देख्न मात्र पाए पनि कति सन्तोक लाग्छ मलाई ।”



दुवै बाटोछेउमा पर्ने बरगाछीका स्याँलमा उभिन्छन् । म अघि बढ्छु । 



केहीअघि दुईजना ठिटाहरू पनि हो त देवी मन्दिरतिरै बिस्तारै लम्कँदैछन् । 

“चन्दा त निकै उठ्यो भन्ने हल्ला छ; हिजो त प्रसाद पनि उखुका कुड्का, केराका चाना, स्याउका टुक्रा मात्रै थियो यार ! पुराणमा पनि के जानु त्यस्तै हो भने ?” –एउटा भन्छ । 

“होइन आज त सुजी र पुरी पकाउने कुरा छ ।”

“हो ? त्यसो भए त आज बस्नुपर्छ प्रसाद बाँड्नेबेलासम्म ।”

“आरतीपछि प्रसाद बाँड्ने बेलासम्म त बेलुकै हुन्छ । त्यत्रोबेरसम्म के बसिरहनु त्यहाँ ? बरु जाऊँ फ्लिम हेर्न । मेटिनी सो हेरेर फर्कंदा ठिक्क हुन्छ ।” 

चोकबाट उनीहरू चलचित्र भवनको बाटो लाग्छन् । म चोक पार गरेर मन्दिरको बाटो लाग्छु । दुईजना बूढा बिस्तारै अघि बढ्दैछन् । 

“होइन कता हिँड्नु भो दुई बूढा मिलेर ? पुराण सुन्न हिँड्नु भाको त होला ?”– म कुरो झिक्छु । 

“ए ! बाबु हामी पिन्सनवाला बूढाको क्या काम छ त नि । जेनतेन समय काट्नु त हो । पुराणमा बसेपछि कथा पनि सुनिने, दिन पनि काटिने ।”– एकजना बूढा भन्छन् । 

“ठीकै भन्नुभो; पुराण सुन्दा ज्ञान पनि भो, पुण्य पनि पाइयो, समय पनि बित्यो । एक पन्थ तीन काज पो हुन्छ, होइन त ?”– म भन्छु ।

“यो पुराण पनि ठूलो रुख जस्तो हुँदो रहेछ क्या बाबु । डाल खानेलाई डालै छ, पात खानेलाई पातै छ, फल खान सक्नेले फलै पाउँछन् । कोही कोही मात्र भित्रको गुदी फेला पार्छन् । हामी जस्ता अज्ञानीले त उही पात मात्र खाने हो ।”– अर्का बूढा भन्छन् । 

“के भन्नुभएको त्यो ? कसरी पात खानुभो तपाईंले ?”– म जिज्ञासा पोख्छु । 

“होइन, पण्डितजीले मीठोगरी बाचेको कथा र तुक्का सुनेर मख्ख पर्नु उही पातै खानु त हो । पुराणको असल गूढ तथ्य जो हो, त्यो भो फलभित्रको बीज । त्यो न यी सुन्दरकाण्डे पण्डितले बुझाउन सक्छन्, न हामी बुझ्न सक्छौँ । हामी त उही कथै सुनेर समय काट्ने हो ।”

देवी मन्दिरको पाटकमै पुग्दा दुई जना विवाहिता तरुणी बुहारीहरूका करा पनि कानमा पर्छन् । एउटीले भन्छे– “घरका बाह्र बहत्तर झम्मारबाट बल्ल आज फुर्सत पाइयो । पुराण सुन्न जान्छु भन्दा सासूबज्यैले कही भनिन् । नभए दिनभरिकाममा जोतिाएर पनि बूढीको टोकसो नसुनी धर पाइने होइन ।”

“हो त नि, कति घरको झम्मार मात्र बेहोर्नु ! कहिलेकाही यसो आराम पनि त लिनुपर्छ ।”– अकी सही थप्छे । 

भित्र पस्दा पण्डित, दानमहात्म्य काण्डमा पुगेर दानको महिमा बखान्दै रहेछन्  । कुन दानले कति पुण्य मिल्छ ? पाठको दान तल्लो कतिसम्म हुनुपर्छ, त्यसको सूची नै प्रस्तुत गर्दैछन् । 

म वरपर व्यवस्थापक मण्डलीका सदस्य कोको आएछन् भनेर हेर्छु । दुईजना बाहेक अरु क सैलाई देख्दिन । यी दुईजना चाहिँ जुनसुकै उत्सव पूजादिमा देखापर्छन् । धेरैले भन्छन्– “यो त यिनको पेशै हो । यस्तै सामूहिक कार्य, यत्र–पुराणादि भएरहे भने यिनको दुनो मात्र हाइन, मानो पनि सोझिन्छ । चन्दा सङ्कलनमा पनि धेरैजसो यिनै सक्रिय रहन्छन् । 

मलाई उचाट लागेर आउँछ । “अन्य सदस्यलाई कुनै दायित्वबोधले पिरोल्दैन भने मलाई मात्र केको टाउको दुखाइ । मानो सोझ्याएर काम गर्ने दुईजनालाई नै सबैले छोडिराखेकै छन् । अब भैमा गएर एकछिन् आरामा गरेकै भलो छ ।”– मनमनै विचार्छु । 

पुराण सभाबाट बिस्तारै बाहिरिन्छु । पण्डितजीको वाचन चलिरहेछ । उच्च स्वरको ध्वान्द्रोबाट ओर बाटासम्म सुनिँदैछ– “भागवत पुराण पाठको दान सवा लाख पनि हुनसक्छ, तल्लो पनि सवा हजार त हुनु आवश्यक छ... ।

कुनै त सत्य होला  । मैले चिनेका एकजान भक्त छन् । उनको पूजापाठ नित्य चल्ने गर्छ । उनलाई मन्दिरका पुजारी भनौँ, गिर्जा घरका पदारी भनौँ, बौद्ध गुम्बाका भिक्षु भनौँ अथवा मस्जिदका मौलबी । यी सबै विश्वासमा मुछिएका र सबै पन्थका पूजक एकजना विचित्र प्रवृत्तिका मानिस छन् उनी । उनको वासस्थानमा अलग्गै एउटा पूजाकोठा छ, जुन कोठाको पूर्व कुनामा लक्ष्मी–नारायणदेखि लिएर शिव–पार्वती र अन्य अनेक देवदेवीका फोटाहरू छन, शालिग्राम छ, शङ्ख, घण्टी, दियो, धुपौरो, पञ्चपात्र, आरतीको थाली आदि सबै पूजाका सामग्री छन् । उत्तरतिर भगवान् बुद्धको तस्बिर सुनौलो फ्रेममा बाँधेर पीठमा राखिएको छ । 

त्यसको अर्कोपट्टि क्रुसमा झुन्ड्याइएको इसामसिहको फोटा छ र छेउमा मैनबत्तीहरू जलेका देखिन्छन् । पश्चिमतिर कुरानको ग्रन्थ र माथि द्वतीयाको जूनसित ठूलो मक्का मदिनाका भिनारहरू भएको फोटो छ । 

ती भक्त बिहान पूर्वतिर फर्केर हिन्दू देवदेवीका तस्बिरहरूमा पूजा गर्छन्, शालिग्रामलाई जल चढाउँछन् । शङ्ख, घण्टी बजाउँछन् र आरती गर्छन् । दिउँसो उनको पूजाकोठामा गिर्जाघरको परिवेश पाइन्छ । उनी मैनबत्ती बालेर इसुको प्रार्थना गर्छन् । बेलुकी घाम डुब्ने बेलामा पश्चिमतिर फर्केर नमाज पढ्दै गरेको देख्न पाइन्छ । राति उनी भगवान बुद्धको फोटोमा पूजा गर्छन् र बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणं गच्छामी पुकार्छन् । 

धर्मप्रति उनको यो अनौठो विश्वास देखेर मलाई आनन्द पनि लाग्छ औ अचम्म पनि । जहिले पनि म उनको वासभवनमा पुग्छु, उनको पूजाकोठा हेरेर भन्नेगर्छु–

तपाईंको यो सबै धर्मप्रति विश्वास र श्रद्धा साँच्चै सबैको निम्ति अनुकरणीय छ । यसरी तपाईंले सबै धर्मलाई मानिदिएर उदारताको परिचय दिनुभएको छ र सच्चा मानवताको बाटो देखाउनु भएको छ । संसारमा जति पनि लडाइँ र झगडा हुन्छन्, त्यसको अधिकांश धर्म नै हो । सबैले आफ्नो धर्मको बढाइ गर्छन् र अर्काको धर्मलाई निन्दा गर्छन् ।” मेरो धर्म ठूलो र साँचो हो भन्ने होडबाजीले नै ठूलाठूला युद्ध भएका छन् र मानवताको संसार भएको छ । तपाईंले सबैको माझ समन्वयको बाटो खालिदिनु भएको छ । यसरी सबैले तपाईंलाई पछ्याएर सबै धर्मको सम्मान गरिदिने हो भने विवादको जडै मेटिन्छ ।”

मैले यी कुरा गर्दा सधैँ ती भक्त मुसुक्क हाँस्छन्, केही भन्दैनन् । मलाई उनको हाँसो पनि रहस्य जस्तै लाग्छ । 

एक दिन म उनको सामु धर्मसम्बन्धी तिनै साविक प्रशंसा दोहो¥याइरहेको हुन्छु । त्यस दिनभने उनमा त्यो मृदु मुस्कान देखा पदैन । 

उनी भन्छन्– “हेर्नुहोस्, तपाईंले गरेको यस प्रशंसाले म भित्रभित्रै आनन्दले गजक्क पर्छु, तर मेरो मनले यो पनि भन्न छोड्दैन कि तेरो यो गजक्क पराइमा केही अर्थ छैन ।”

“किन त्यसो भन्नुहुन्छ ।”

“किनभने तपाईंले भनेझैँ मेरो यो सबै धर्मलाई मान्ने काम सबै धर्ममाथि आस्था र विश्वास पलाएर वा मानवताको तकाजाले अथवा समन्वयको भावनाले गरेको होइन, बरु कुनै धर्ममा आस्था पलाउन नसक्ता आफ्नै स्वार्थले गरेको हो ।”

“कस्तो स्वार्थ ?”

“मैले धेरै विचारेँ अध्ययन मनन गरेँ तर म यो निष्कर्षमा पुग्न सकिनँ कुन चाहिँ धर्म सत्य हो र कुन ईश्वरको नाउँ वास्तव हो ? धर्म र मान्यताका अनगिन्ती विश्वासभित्र मेरो आफ्नो विश्वास नै अलमलियो । त्यसैले विचारेँ– सबै मान्दै जाऊँ, सबै भज्दै जाउँ । कुनै न कुनै त सत्य होला । जुनसुकै सत्य भए पनि, केही पुण्यको भागी त म भइ नै हाल्छु । यदि सबै सत्य रहेछ भने त झन् म शत–प्रतिशत पुण्य कमाउँछु । मैले ठीक गरेको छैन त ?”

म निरुत्तर रहन्छु ।  

(‘लीलबहादुर क्षत्रीका कथाहरू’ कथा सङ्ग्रहबाट ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X