मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
आगलागी

लुम्बिनी प्रदेशमा ३२७ आगलागीका घटना : कुन जिल्लामा कति ?

शुक्रबार, १४ वैशाख २०८१, १५ : १८
शुक्रबार, १४ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष ३२७ आगलागीका घटनामा २१ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

साउनदेखि वैशाख १२ अर्थात् बुधबारसम्म लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा भएको आगलागीमा ३०६ घर र २३२ गोठ जलेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागीमा १६२ घरका ७६७ जना मानिस विस्थापित भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका सूचना अधिकारी एवं एसएसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । आगलागीबाट ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । यस्तै ३३७ चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुन जिल्लामा कति ?

चालु आर्थिक वर्षको हालसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा आगलागीमा घटना भएका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै आगलागीका घटना रोल्पा जिल्लामा भएको छ भने सबैभन्दा कम पूर्वी रुकुम जिल्लामा भएको छ ।

रोल्पामा ६८ वटा आगलागीका घटना भएका छन् भने पूर्वी रुकुम जिल्लामा ३ वटा आगलागीका घटना भएको प्रहरी तथ्याङ्क छ ।

रोल्पामा जिल्लामा आगलागीबाट १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यस्तै ४१ घर र ४८ गोठ जल्दा १८५ जना विस्थापित भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु जिल्लामा २२ वटा आगलागीका घटनामा ७७ घर र २७ गोठ जलेका छन् भने ३९३ जना विस्थापित भएका छन् ।

गुल्मी जिल्लामा ४५ वटा आगलागीका घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गुल्मी जिल्लामा ४५ घर र ५६ गोठ जलेका छन् । दाङ जिल्लामा १९ वटा आगलागीका घटना हुँदा ७ घर र ११ वटा गोठ जलेका छन् । दाङमा आगलागीमा परी १ जनाको मृत्यु समेत भएको छ भने ५ परिवारका २७ जना विस्थापित रहेको प्रहरीको तथ्याङ्क छ ।

नवलपरासी जिल्लामा ९ बटा आगलागीका घटना हुँदा १८ घर र ४ गोठ जलेका छन् । जसमा एक जना पुरुष  घाइते भएका छन् ।

प्युठान जिल्लामा ३६ वटा आगलागीमा घटना हुँदा २२ घर र १८ गोठ जलेका छन् ।

बर्दिया जिल्लामा १३ वटा आगलागीका घटना भएका छन् ।  यहाँ आगलागीबाट एक महिला घाइते भएकी छन् भने ४ घर र १ गोठ जलेका छन् । बाँके जिल्लामा १३ आगलागीका घटना हुँदा २ घर र ५ गोठ जलेका छन् ।

यस्तै रुपन्देही जिल्लामा १७ वटा आगलागीका घटना हुँदा  ५० घर र ६ वटा गोठ जलेका छन् । यस्तै उक्त घटनामा परी १ जना घाइते भएका छन् ।

पहाडी जिल्ला पाल्पामा यो आर्थिक वर्षको हालसम्म २२ वटा आगलागीका घटना हुँदा १ जना मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । यस्तै ९ घर र १६ वटा गोठ जलेका छन् भने ९ घरपरिवारका ४२ जना विस्थापित भएका छन् ।

अर्घाखाँची जिल्लामा ६० वटा आगलागीका घटना हुँदा ३१ घर र ४० गोठ जलेका छन् । अर्घाखाँचीमा ३० घरका १२० जना आगलागीबाट विस्थापित भएका छन् ।

लुम्बिनी प्रदेशका गृहमन्त्री दिनेश पन्थीले प्रदेशका विभिन्न ठाउँमा भएका आगलागी पीडितहरूलाई उचित राहतको व्यवस्था हुने बताए । घरबारविहीन भएकालाई पुनर्स्थापनाका लागि तीनै तहका सरकारबिच समन्वयका आधारमा काम अघि बढ्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप