आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कस्तो छ नेपाली साहित्यमा जनयुद्धको प्रभाव ?

​जनयुद्धताका सबैभन्दा धेरै लेखिएको विधा कविता
सोमबार, ०२ फागुन २०७८, १४ : ३३
सोमबार, ०२ फागुन २०७८

राजतन्त्रलाई समाप्त गरी गणतन्त्र स्थापना गर्ने उद्देश्यले नेकपा माओवादीले २०५२ फागुन १ गते देशव्यापी रुपमा भूमिगत आन्दोलनको सुरुवात गरेको थियो । सोही परिवेश र प्रत्यक्ष अप्रत्यक्ष युद्धबाट प्रभावित भई विभिन्न साहित्य सिर्जना प्रकाशित भए । विभिन्न स्रष्टाहरूले त्यस परिवेशलाई आधार बनाएर कथा, उपन्यास, कविता, निबन्ध, संस्मरण प्रकाशित गरे । चाहे त्यो जनयुद्धका पक्षमा भएर लेखिएको होस् या विरुद्धमा ।

यसै सन्दर्भमा फागुन १ गते नेपाल जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिले पेरिस डाँडामा ‘नेपाली साहित्यमा जनयुद्धको प्रभाव’ विषयक विचार गोष्ठीको आयोजना गरेको थियो । सोही विषयमा कार्यपत्र प्रस्तुत गरेका डा. मधुसुदन गिरीले १० वर्षे जनयुद्धले धेरै सर्जक जन्माएको, हरेक कुनाकन्दरामा सामन्तवादी सत्ता विरुद्धका आवाज साहित्यमार्फत् व्यक्त भएको विचार राखे । जनयुद्धको प्रभावले नै यो समयमा क्रान्तिकारी आवाज धेरै बुलन्द भएको र आर्थिक, सामाजिक तथा भौगोलिक रूपले पिछडिएका वर्गका विचार विभिन्न माध्यमबाट प्रकट भएको उनले जिकिर गरे । 

डा गिरीका अनुसार जनयुद्धका क्रममा चरम यातना, आतङ्क र हत्यालाई परिवर्तन तथा जनता मुक्तिको सिलसिलामा भएका घटनाका रूपमा सकारात्मक रूपले हेर्ने र यसलाई नितान्त हत्या हिंसाका रूपमा लिने नकारात्मक दृष्टिकोण दुवै नेपाली कविता, कथा र अन्य लेखनमा देखा परे । त्यसलाई सफल परिणामसम्म पुर्याउन टाउकोमा कफन बाँधेर अघि बढेका क्रन्तिकारीहरूमा क्रान्तिका नायकप्रतिको अटल र अगाध विश्वास बोकेका सांस्कृतिक सहिद कृष्णसेन इच्छुकको कविताको एउटा अंश यस्तो छ :

तिमी बिउँँझाउँछौ र हामी बिउँझिन्छौँ

हाम्रो बिउँझिनु र बिउँझाउनको क्रम यसरी अगाडि बढ्दै जानेछ

तिमी तयारी गर्छौ र हामी तयार हुन्छौँ

हाम्रो सङ्घर्ष र मुक्तिका दिन यसरी अझ नजिक हुँदै जानेछ

कमरेड हामी विश्वस्त छौँ

हाम्रो क्रान्ति र विजयको दिन यसरी अझ सुनिश्चित बन्दै जनेछ ।

कवि कृष्णसेन इच्छुक नेपाली पत्रकारिता क्षेत्रका युवा पत्रकार थिए । जनयुद्धका समयमा नेकपा माओवादीको मुखपत्र जनादेशमा कार्यरत थिए । २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति’ शीर्षकको कविता प्रकाशन गरी सार्वजनिक साहित्यमा प्रवेश गरेका उनका इतिहासको यो घडीमा, बन्दी र चन्द्रागिरि, शोकाञ्जली लगायत आधा दर्जन कृति छन् । २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा जन्मिएका उनको २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा रहेका बेला हत्या भएको थियो ।

कविता विधा अगाडि

जनयुद्धका समयमा सबैभन्दा धेरै लेखिएका साहित्य विधामा कविता पर्छ । आन्दोलनमा होमिएकाहरूका मनमा आएका भावना, त्यसबाट त्रसितहरूका भावना कवितामार्फत् नै पोखिएका थिए । जनयुद्धका क्रममा कृष्ण सेन ‘इच्छुक’का इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरि; आरपी तिमिल्सिनाको आगो र सपनाहरू; पूर्ण विरामका गोविन्दले ठीक भन्यो, लड्न जन्मेकाहरूले; अनिल शर्माका मनका खाडलहरू, अग्निपक्षीका गीतहरू; पुण्य कार्कीका बाघले घाँस खायो; आस्थाको अग्निपथ; खगेन्द्र रानाको म र क्यान्टोनमेन्ट; अशोक सुवेदीका युद्धघोष, गाउँको रङ फेरिएको छ; सोम गुरुङको शिखरमा फुलेका फूलहरू; लोकेन्द्र विष्टका रगतको इतिहास, ओ ! मेरा सुन्दर लालीगुराँसहरू प्रकाशित छन् ।

त्यस्तै जनयुद्धका क्रममा निभा शाहका इन्कलाब जिन्दावाद, कालापानीकी द्रौपदी; लोकबहादुर थापामगरको बूढा इम; गणेश शाही ‘प्रतीक’को सङ्घर्षका डोबहरू; ऋषिराम लामिछानेको आँधी आउँदै छ; यज्ञराज प्रसाईंको रगतको इतिहास; जयन्ता घर्ती रमाको लडाइँका गीतहरू; वेणु आचार्यको एक चोक्टा इतिहास; शोभा थापाको कठिन यात्राका यात्री; झपेन्द्र वैद्यका चम्पा (महाकाव्य); पूर्ण इन्फादाको मौन कम्पनहरू लगायत कविता सङ्ग्रह प्रकाशित छन् ।

गङ्गा श्रेष्ठको ‘गोलघरको आवाज’ शीर्षककोे कविताले साहित्यमा युद्धको प्रभाव यसरी व्यक्त गरिएको छः

उनीहरूले मलाई कसाईखानामा कोचे

मैले कसाईखानाभित्र पनि जीवन खोजेँ

जीवनको गीत गाएँ

मृत्युको विरोधमा नारा लाएँ

र, आफूलाई जिउँदै भएको परिचय दिएँ

र ,आफ्नो मुठीको माखो भएको भएको घोषणा गरेँ ।

प्रस्तुत कविताले तत्कालीन युद्धमा सहभागी भएकाहरूलाई जेलमा कोचियो तर पनि आफ्नो सिद्धान्तप्रति अडिग रहेको कुरा प्रस्तुत गर्छ । यो समयमा धेरै कवि तथा सहित्यकारहरू शासकबाट प्रताडित भए, थुनिए र मारिए पनि ।

हत्या हिंसाले पानी बग्ने नदीमा रगत बग्न थालेको स्थितिको विम्व कवि गणेश भण्डारी यसरी कवितामा प्रस्तुत गर्छन् ः

सधैँ पानी बग्ने नदीहरूमा

आज रगत किन बगिरहेछ

गाई चराउने पाखाहरूमा मान्छे किन मरिरहेछ ।

यस्ता विम्बहरू त्यसबेला र यसबेला पनि जनयुद्धको प्रभावबाट विभिन्न विधामा साहित्य सिर्जना भएका छन् । कथा, कविता, निबन्ध संस्मरणलगायत विधामा कलम चलेका छन् । त्यसबेला रचिएका केही उपन्यासमा नारायण वाग्लेको पल्पसा क्याफे, राधा पौडेलको खलङ्गामा हमला, आहूतिको स्खलन, सूर्यनाथ सापकोटाको आगोभित्रका मान्छे,  ऋषिराज बरालको समर गाथा, कमल निओलको मुक्ति मार्ग, दलबहादुर साउदको जून फुलेको देशतिर आदि उदाहरण हुन् ।

यसैगरी जनयुद्धको प्राप्तिस्वरूप विभिन्न क्षेत्र, वर्ग, लिङ्ग, जातजाति, नश्ल, भाषाभाषी र जातीय पहिचानका मुद्दालाई विषयवस्तु बनाएर लेखिएका युग पाठकको उर्गेनको घोडा, राजन मुकारुङका हेत्छाकुप्पा र दमिनी भीर आदि युद्धका प्रभावबाट सिर्जिएका साहित्य हुन् ।

कथातर्फ जनयुद्धका विम्ब प्रस्तुत गर्ने कथाकारका कथाहरूमा ऋषिराज बरालको वनमान्छेको कथा, सैन्य उपहार, पैँयु फुल्न थालेपछि; घनश्याम ढकालको महाभारत, सहिदको सालिक, गङ्गा श्रेष्ठको महासमरका यात्रीहरू, रोहित दाहलको स्पातले बनेका मान्छेहरू; अन्जन विरहीको अन्जन विरहीका कथाहरू; अशोक सुवेदीका मैले रोजेका बाटा, नयाँ बस्ती; कलम निओलका नयाँ इतिहास र बहादुर गाउँ थवाङ; सरला रेग्मीको चुँडाल्दै बन्धनहरू आदि हुन् ।  त्यस्तै सीपी गजुरेलको प्रतिरोध, पुण्य कार्कीको मखमली, शशीकिरणको फूलमती घर फर्किनै पाइन, सौगात आचार्यका सङ्कल्प यात्रा; हीरामणि दुःखीको युद्धका कथाहरू; सरल सहयात्रीको क्रान्तिका कथाहरू; झक्कुप्रसाद पुनका अभ्यस्त सिपाही; पुण्य कार्कीको मध्य रात; इस्मालीको घाम घामजस्तो छैन; क्षितिज मगरको सुन छहरीको ऐनामा; नवीन विभासको आधा बाटो हिँडेपछि; सरला रेग्मीको चुँडाल्दै बन्धनहरू; दिल साहनीको खरानीको गाउँ तथा हरिहर खनालको युद्धको पीडा आदि कथाकृति प्रकाशित छन् ।

यसैगरी निवन्ध विधाअन्तर्गतका रचनाहरूमा गणेश भण्डारीको बन्दी आकाशविरुद्ध; उमा भुजेलको बन्द पर्खालदेखि खुला आकाशसम्म; खिला भण्डारीको कलमहरू जङ्गल पसेपछि; कृष्ण केसीको मानव वधशालाको यात्रा; लेखनाथ न्यौपानेको तिमी अमर भयौ, मेरो मन चुँडियो; नन्दकिशोर पुन पासाङको इतिहासका रक्तिम पाइला; उदयबहादुर चलाउनको लाल मार्चाका किल्लाहरूमा, श्यामकुमार बुढाका ती आँधीमय दिनहरू; सिन्धु शर्माको नसरिनलाई चिठी; राजु क्षेत्रीको गजुरीको व्यारेक ब्रेक; लक्ष्मीप्रसाद चौलागाईंको जनसेवाको जीवन लगायत धेरै छन् । डा गिरीका अनुसार निबन्ध विधा संस्मरणात्मक भएकाले यो केही सहज भएर हुन सक्छ धेरै निबन्ध सङ्ग्रह प्रकाशित छन् ।

जनयुद्धले नै संविधान सभामार्फत नयाँ संविधानको घोषणा भयो । जनताले चाहे अनुसारका हक अधिकार संविधानमा समेट्ने काम भयो । यसले आदिवासी, जनजाति, महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका अधिकारको व्यवस्था भयो । संविधानले व्यवस्था गरेअनुसार आफ्ना हकअधिकारका बारेमा ती वर्गले साहित्यमार्फत आफ्ना विचारहरू पोखेका छन् । यसले राज्यको संरचना जनताका अपेक्षाअनुसार गरेको छ ।

तर जनयुद्धबाट प्रभावित साहित्यको सही मूल्याङ्कन हुन नसकेको साहित्यकार टीकाराम उदासी बताउँछन् । उनी भन्छन् “युद्धलाई प्रशंसा नै गर्नुपर्छ वा युद्धलाई गाली नै गर्नुपर्छ भन्ने कदापि ठान्नु हुँदैन । डा. गोविन्दराज भट्टराईको उपन्यास ‘सुकरातका पाइला’ होस् वा नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’; दुवै युद्ध साहित्यकै नमुना हुन् ।” यी दुवै रचनाले नेपाली जनयुद्धलाई कलात्मक आवरणमा भ्रष्टीकरण गरेर प्रस्तुत गरेको उनको ठहर छ ।

“तर कृष्ण सेन इच्छुकको ‘बन्दी र चन्द्रागिरि’ काव्य जनयुद्धको दार्शनिक सारलाई काव्यात्मक रूपले प्रस्तुत गर्ने अभिलेख हो ।” उदासी भन्छन्, “यसरी युद्ध साहित्यमा विषय युद्ध वा त्यसको प्रभाव हुन्छ– युद्धको समर्थन वा विरोध यसको अनिवार्य आधार होइन ।” युद्धले नेपाली समाजको इतिहासमा पारेको प्रभाव र गरेको परिवर्तनसम्बन्धी पर्याप्त चर्चा परिचर्चा भएका छैनन् । यसका प्राप्ति र सीमाबारे प्रशस्त चिन्तन जरुरी छ, अझै पनि यसको वस्तुगत आधारबारे धेरै मानिस भ्रमित रहेका छन् । प्रशंसा मात्रै वा गाली मात्रै गर्नेहरूबाट इतिहासको सही मूल्याङ्कन नहुने उनको ठहर छ ।

तसर्थ नेपाली साहित्यकार तथा पाठकहरूले जनयुद्ध किन भयो, के के उद्देश्यले भएको थियो भन्ने केलाउन सक्नुपर्छ । अनि मात्र त्यसले प्राप्त गराएका उपलब्धिको सही मूल्याङ्कन हुन्छ । साहित्यमा भावना, लेखन शैली, प्रयोगात्मकता र नवीनता प्रमुख तत्त्वका रूपमा आउँछन् । तसर्थ युद्ध साहित्यका बारेमा गहन चिन्तन गरी सामान्यीकरण नभएसम्म कला साहित्यमा स्तरीयता आउँदैन । यसमा विविधतापूर्ण नेपाली समाजको जीवनशैली, चिन्तनको स्तर र बदलिँदो स्वरूपलाई पनि चिन्न आवश्यक हुन्छ । साहित्य सिर्जनाको अध्ययन, विश्लेषण र मूल्याङ्कनबाट नै नेपाली साहित्यमा जनयुद्धको प्रभाव कति छ भनेर खोज्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप