शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसी परियोजना प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड

बुधबार, १८ फागुन २०७८, १५ : ५१
बुधबार, १८ फागुन २०७८

नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको परियोजना प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि एमसीसी  मुख्यालयले पनि स्वीकार गरिसकेकाले अव कार्यान्वयन पाटो चुस्त बनाउनुपर्नेमा चेम्बरले जोड दिएको हो । 

प्रसारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्रदान गर्ने हुँदा एमसीसी आएसँगै उर्जा क्षेत्रमा लगानी बढ्ने आशा चेम्बरको छ । यस्तै, सडक पूर्वाधारको स्तरोन्नतिले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बरले आग्रह गरेको हो ।

५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने परियोजनाको सफल कार्यान्वयनबाट आगामी पाँच वर्षमा नमुना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाई छ । एमसीसी परियोजना अन्तर्गत निर्माण हुने ४०० केभी क्षमताको शंखरापुर लप्सेफेदी–रातामाटे, रातामाटे–हेटौंडा, दमौली–बुटवल प्रसारण लाइन र सवस्टेशन निर्माणबाट मुलुकको आन्तरिक विद्युत प्रणाली र अन्तरदेशीय विद्युत व्यापारका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष राजेन्द्र मल्लले बताए ।

यो आर्थिक परियोजना मुलुकको विकास तथा रोजगारी सिर्जनाका लागि महत्वपुर्ण आधार हुने अध्यक्ष मल्लको भनाई छ । ‘एमसीसी परियोजना बन्ने आधार खडा भएको छ । यसले निजी क्षेत्रमा पनि उत्साह जगाएको छ’, । उनले भने,  यो विशुद्ध आर्थिक परियोजनाको पाँच वर्षभित्रमा सफल कार्यन्वयन गरि आर्थिक समृद्धि तथा नमुना योजनाका रुपमा विकास गरिनुपर्छ ।’

सम्झौता अनुमोदनले नेपालको विकास प्रतिको प्रतिवद्धताको सन्देश सम्प्रेषण हुने तथा लगानीको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा चेम्बरले गरेको छ । कोभिड–१९ महामारीका कारण सुस्त रहेको अर्थतन्त्रलाई एमसिसी कम्प्याक्ट अनुमोदनद्वारा राहत प्रदान हुने समेत चेम्बरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप