आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

बन्दनाले बनाइन् इतिहास, झागर समुदायबाट बनिन् पहिलो मन्त्री

उत्पीडित जाति र समुदायको हित गणतन्त्र र सङ्घीयतामै सम्भव छ : झागर
शुक्रबार, ०४ जेठ २०८१, २० : २७
शुक्रबार, ०४ जेठ २०८१

विराटनगर । कोशी प्रदेशको मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झागर राज्यमन्त्रीको भूमिकामा छिन् । झागर समुदायबाटै पहिलो पटक उनी मन्त्री बनेकी हुन् ।

उनलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । कोशी प्रदेशमा बनेको १० सदस्यीय मन्त्रीमण्डलमा उनी पनि सामेल हुनुको मतलब अब उनले नीतिगत तहमा आफ्नो कुरा राख्नेछिन् । आफ्नो समुदायको हित अनुकूल निर्णय गराउन प्रयास गर्नेछिन् ।

शपथग्रहणलगत्तै उनलाई सुरक्षाकर्मीका उच्च पदस्थ कर्मचारीले सलाम हाने । उच्च पदस्थ कर्मचारीहरूले बधाई र शुभकामना दिए । शपथ सकिएलगत्तै उनको साथमा एक जना सुरक्षाकर्मी तैनाथ देखिए । चिल्लो गाडी उनका लागि तयार भयो । हिलो, मैलो र अपहेलित अल्पसङ्ख्यक तथा उत्पीडित समुदायबाट उनी मन्त्री बनिन् । उनका लागि यो नै सबैभन्दा गर्व र खुसीको कुरा थियो ।

शपथ सकिएपछि उनीसहित मन्त्रालयका नवनियुक्त मन्त्री नारायण बुर्जा मगरको टोली पर्यटन, वन तथा वातावरण मन्त्रालय पुग्यो । मन्त्रालयमा आयोजित सामान्य परिचयात्मक कार्यक्रममा विभागीय कर्मचारी तथा सामुदायिक वनका अभियन्ताको उपस्थिति थियो । त्यहाँ उनले कूटनीतिक शैलीमा मन्तव्य दिइन्, ‘मन्त्रालयको काम कारबाही कसरी सफल बनाउने भन्ने कुरा मन्त्रीको हातमा मात्रै हुँदैन । मन्त्रालयको सबै कर्मचारीसहित हामीले एक अर्कालाई सहयोग गरेर अगाडि बढ्यौँ भनेमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’

Capture

झापा, मोरङ र सुनसरीमा यो समुदायको बसोबास छ । ‘हाम्रो समुदायभित्र झागर, उराउ समुदाय छ । त्यसभित्र झागर खडिया समुदाय छ । म त्यो समुदायमा पर्छु । त्यो समुदाय अहिले झापा, मोरङ र सुनसरीमा ७ हजारजति छन्,’ उनले सुनाइन् ।

झागरका अनुसार उनी पहिलो पटक त्यो समुदायबाट मन्त्री बनेकी हुन् । ‘हामीले हिजोको जनयुद्धमा पनि यही कुरा उठाइरहेका थियौँ । उत्पीडित समुदायको मुक्तिको कुरा उठाइरहेका थियौँ, जुन समुदायबाट म पहिलो मन्त्री बनेको छु । म अत्यन्तै खुसी छु,’ उनले भनिन् ।

राज्यको नीतिगत तहमा बसेर काम गर्ने मौका पार्टीले दिएको भन्दै उनले आफ्नो समुदायको हितका लागि सकेजति काम गर्ने बताइन् । ‘हाम्रा हजुरबुबा, बुबाहरूसँग जानकारी लिँदै हाम्रो संस्कार, संस्कृति जोगाउन के गरेर जान सकिन्छ, म मन्त्रालय र प्रदेश सरकारबाट पहल गरेर अगाडि बढ्छु,’ उनले भनिन् ।

उनी २०६० सालमा माओवादीमा पूर्णकालीन कार्यकर्ता भएर भूमिगत भएकी थिइन् । ‘म लडाइँमा सहभागी भइन् । साङ्गठनिक जिम्मेवारीमा थिएँ,’ विगत कोट्याउँदा उनले भनिन् ।

उनले विगतको जस्तो परिवेश अहिले नभएको र यस्तो हुनुमा आफूहरूले चलाएको आन्दोलनकै देन भएको बताइन् । अल्पसङ्ख्यक, दलित र उत्पीडित समुदायको मुक्ति गणतन्त्रमा, लोकतन्त्र, सङ्घीयता र समावेशीतामै भएको उनी बताउँछिन् । ‘हिजो हामी जुन परिवेशमा बसेका थियौँ, अहिले त्यस्तो छैन । त्यस्तो हुनुमा हामीले चलाएको आन्दोलन नै मुख्य हो । माओवादीले मभन्दा पनि अझै अल्पसङ्ख्यक समुदायबाट पनि सांसद बनाएको छ,’ उनले भनिन्, ‘त्यसकारण मुक्ति यहीँ छ । मुक्ति गणतन्त्रमा छ । मुक्ति सङ्घीय व्यवस्थामा र समावेशीतामा छ । यो कुरा हामीजस्ता समुदायले बुझ्नु पर्छ ।’

को हुन् झागर ?

Bandana (2)

२०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक कोटाबाट झागरलाई माओवादीले सांसद बनाएको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने झागर सबैभन्दा कम उमेरकी सांसदसमेत हुन् । उनी अहिले ३७ वर्ष पुगिन् ।

सामान्य परिवारमा हुर्केकी बन्दनाको बाल्यकाल सामान्य बित्यो । उनी सानो छँदा समुदायले गर्दै आएको काम माछा, घुँगी र गँगटा खोज्ने तथा गुइँठा बनाउने घरायसी काम गर्थिन् । ७ वर्षको उमेरमा आमाको निधन भएपछि परिवार समस्यामा प¥यो । छोराछोरीले दुःख पाउलान् भनेर बाबु कुल्वा झागरले अर्को विवाह गरेनन् । तीन दाजु र एक दिदीसहित ६ जनाको परिवार बाबुले नै सम्हाल्नुपर्ने बाध्यता थियो ।

जनयुद्धको बेला उनको घर माओवादीको सेल्टर थियो । उनकै घरबाट झापामा माओवादी आन्दोलन तथा सङ्गठन निर्माणको योजना बन्थ्यो । एकान्तमा उनीहरूको घर भएकाले माओवादीका सहज थियो । धेरै बैठकहरू उनकै घरमा बस्थे ।

अखिल क्रान्तिकारीका झापा अध्यक्ष रहेका छिमेकी रमेश सुवेदीलाई तत्कालीन शाही नेपाली सेनाले हत्या गरेपछि बन्दनाको घर पनि निशानामा प¥यो । माओवादीलाई सहयोग गरेको आरोपमा सेनाले दुःख दिन थालेपछि २०६० सालबाट १७ वर्षको उमेरमा उनी पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा सामेल भइन् । बन्दना जनयुद्धमा अनिशा नामले चिनिन थालिन् ।

२०४३ साल असार १५ गते झापाको तोपगाछी–१ (हाल कमल गाउँपालिका)मा जन्मिएकी बन्दनाले प्रारम्भिक शिक्षा नगेन्द्र माध्यमिक विद्यालयबाट लिएकी हुन् । विद्यालयमै अनेरास्ववियु (क्रान्तिकारी)को इकाई कमिटीमा आबद्ध भएकी कक्षा ९ मा पढ्दापढ्दै पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा सामेल भइन् ।

उनी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष र केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको प्रदेश कमिटी सदस्य पनि छिन् ।

जनयुद्धको समसयमा महिला विभागमा बसेर सङ्गठन निर्माणको काममा लागेकी अनिशा माईपूर्वका सबै क्षेत्रमा भूमिगत समयमै काम गर्न पुगिन् । सङ्गठनको काममा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाम पनि पुगिन् । महिला सङ्गठनको विशेष अभियानका क्रममा इलाम गएका जितपुरमा बेला सरकारी सुरक्षा टोलीले आक्रमण गरेको घटना उनको मनमा अहिले पनि ताजा छ ।

‘हामी खाना खान बसेका थियौँ, सेनाले आक्रमण ग¥यो,’ उनले भनिन्, ‘धेरै साथीहरू घाइते हुनुभयो, केही पक्राउ पनि पर्नुभयो । तर हामी बाँच्यौँ ।’

भाग्ने क्रममा उनीसहित केही लडेर घाइते भएका थिए । उनी २०७० सालमा प्रतिनिधि सभा र २०७४ मा प्रदेश सभामा बन्दसुचीमा नाम परे पनि सांसद बन्न पाइनन् । झागर समुदायबाट सुनसरीका शिवनारायण उराव यसअघि संविधानसभा सदस्य भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप