आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

श्रममन्त्रीलाई इपिएस पीडित युवाको खुला पत्र

शुक्रबार, ०४ चैत २०७८, १३ : २५
शुक्रबार, ०४ चैत २०७८

 

 

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठज्यू नमस्कार १

म कुनै पार्टी विशेषको सक्रिय कार्यकर्ता होइन । । न त तपाईंको जिल्लावासी हुँ । वैदेशिक रोजगारमा गएर जीविका चलाउने एक बेरोजगार युवा हुँ । सन् २०१८ मा कोरियन भाषा परीक्षा पास गरी कोरोना कालमा रोष्टर अवधि सकिएर रोजगार प्रक्रियाबाट बाहिरिएको गुल्मीको विकट क्षेत्रको युवा हुँ ।

तपाईं, पार्टी र कार्यकर्ताको साँगुरो घेराभन्दा माथि उठेर आम नागरिकको हितमा काम गर्ने एक आशलाग्दो नेताको रुपमा मैले मात्र हैन, दशौंं हजार इपिएस पीडितले हेरेका छन् । अझ भनौं देशले नै हेरेको छ । तपार्इं कोरियाको मात्रै नभएर अन्य देशहरुमा जाने नेपाली श्रमिकहरुको व्यवस्थापन गर्ने दायित्वमा हुनुहुन्छ । पछिल्लो समय यहाँले गरेको कामको चर्चा पनि भइरहेको छ । तर, म भाषा पास गरेर कोरिया जान नपाएको पीडित भएकाले कोरिया रोजगारीको समस्याकै पोको फुकाउँदै छु ।

मन्त्रीज्यूलाई भेटेरै समस्या राख्ने मन नभएको होइन । तर, काठमाडौं बाहिर भएकाले सम्भव भएन । फेरि म जस्तो पहुँच नभएको व्यक्तिले यहाँलाई कसरी भेट्ने मेसो पनि छैन । त्यसैले  यही सञ्चारमाध्यम मार्फत् म जस्ता हजारौं युवाको पीडा पोख्दै छु । आशा छ,  यो पत्ररुपी पीडा यहाँ समक्ष पुग्ने छ ।

अहिले देशको जनसंख्याको ठूलो हिस्सा त्यसमा पनि अधिकांश युवा शक्ति वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेको र स्वदेशदेखि विदेशसम्म पनि विभिन्न समस्या भोग्नु परेको छ । त्यसमाथि सन् २०१८ मा इपिएस परीक्षा उत्तीर्ण गरेका म जस्ता हजारौं युवालाई कोरोना महामारीले ठूलै संकट निम्त्यायो ।  वैदेशिक रोजगारीमा झन समस्या थपिदियो ।

श्रम मन्त्रीज्यू, भाषा परीक्षा पास गरेर जान नपाएका हजारौं पीडित साथीहरुले तपाईंलाई भेटेर समस्या राखेका छन् । मन्त्रीज्यूकै पहलमा दुई वर्षदेखि रोकिएको कोरिया रोजगारी सुचारु पनि भएको छ । आशाको दियो बलेको छ । यो कुरा साँचो हो । रोजगार अनुमति पत्र जारी भएर प्रक्रियामा छिरेका कामदारको हकमा विस्तारै कामदार जान थालेका छन् । यसबीच नेपाल सरकार र कोरियन सरकारले पहल गरेका छन् । ढिलै भएपनि एक दिन गन्तव्यमा पुग्लान्, पुग्नु पनि पर्छ । प्रक्रियामा रहेका सबैलाई शुभकामना ।

तर, भाषा पास गरेर रोष्टर अवधि सकिएको म जस्ता हजारौं इपिएस उतीर्ण भएकाहरुको बिचल्ली भएको छ । कोरोना कहरको बीचमा रोजगार प्रक्रिया सहज नभएकाले विशेष अवस्था भनेर  रोष्टर अवधि थप्ने कोरियन सरकारले निर्णय गर्यो । इपिएस मार्फत् कोरिया जाने अरु देशका २०१८ मा भाषा पास गर्नेहरुलाई रोष्टर अवधि थपियो । तर नेपालमा २०१९ मा पास भएकाहरुलाई मात्रै समयावधि थपियो । यसरी २०१८ मा पास गर्नेहरुलाई भने पीडामाथि पीडा थपेको छ, हाम्रो पक्षमा वोल्ने कोही भएन । इपिएस ग्वार्को शाखा र एचआरडिले हामीले पहल गरेर हँुदैन, यसको लागि सरकारले नै कुटनीतिक तवरवाट कोरिया सरकारको श्रम मन्त्रालयमा पहल गर्नुपर्ने बताएको छ ।

मन्त्रीज्यूले एक कार्यक्रममा म कोरिया गएरै भएपनि इपिएस पास हुनेहरुको समस्या कोरिया सरकारसँग राख्ने र समस्या समाधानको लागि पहल गर्ने भनेर भन्नु भएको थियो । मन्त्रीज्यू कोरिया जाने वा सरकारको तर्फवाट के पहल भएको छ ? एकैखाले समस्या भएकाहरुलाई कतिको रोष्टर अवधि थप्ने, कतिको नथप्ने । यो सरासर अन्याय भएन र ?

भाषा परीक्षा पास, मेडिकल पास, रोष्टर तयार गर्दासम्म हाम्रो करिव पाँचदेखि सात वर्ष खर्लप्पै गयो । हामी कोरियाको चक्करमा मानसिक रोगीजस्तै बन्नु परेको छ । कोरिया गएर पारिवारिक दायित्व पूरा गर्ने हाम्रो सपना त चकनाचुर भयो नै । इपिएस पास गरेकाले अन्य देशमा जाने माहोल पनि बनेन । प्रतिक्षा गर्दा गर्दै न देशमै केही गर्न सक्ने अवस्था छ, न त कोरिया जान नै पाउने भइयो । यो मेरो मात्रै नभई आम नेपाली युवाहरुको साझा समस्या हो ।

मन्त्रीज्यूले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको पक्षमा काम गर्नुभएको छ ।  हाम्रो पक्षमा पनि यहाँले आवाज उठाउन ढिला भइसक्यो । यदि यो समस्या समाधानमा यहाँले पहल गर्नुभएमा हजारौं इपिएस पीडित साथीहरुको उद्धार हुने छ ।

अन्त्यमा मन्त्रीज्यू समक्ष यसरी विदेश जानका लागि अनुनय गर्नु परेकोमा क्षमाप्रार्थी छु । नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान कति छ भन्ने तथ्य मैले यहाँलाई सम्झाई रहनु नपर्ला । फेरि पनि सन् २०१८ को इपिएस उत्तीर्ण गरेका हामी नेपालीहरुलाई कोरिया जाने वातावरण बनाउनुहुनेछ भन्ने आशासहित विदा माग्छु । नमस्कार ।

उही इपिएस पीडित बेरोजगार युवा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप