सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

एजेण्डा हारेको राजनीति

बिहीबार, ०१ वैशाख २०७९, १५ : ०३
बिहीबार, ०१ वैशाख २०७९

जन्म दिने आमाले जस्तो माया धाई आमाहरुले दिन सक्दैनन् । हेरालु अर्थात् धाई आमाहरुको माया  देखावटी र वनावटी हुन्छ । तर जन्म दिने आमाहरुको मायामा कुनै स्वार्थ, अभिनय हुँदैन । उनीहरुको मायामा निस्वार्थ जैविक प्रेम अन्तरनिहित हुन्छ । त्यसै गरी राजनैतिक एजेण्डाहरु जन्माउने दलको एजेण्डा प्रतिको माया निस्वार्थ र सैद्धान्तिक–राजनैतिक धरातलमा उभिएको हुन्छ । उता हेरालु वा कारिन्दा दलहरुको माया देखावटी, वनावटी र अभिनयद्वारा निर्देशित हुन्छ । अर्थात् हेरालु दलहरुको माया जनताले के पो भन्ने हुन् । चुनावमा भोट पो नदिने हुन् कि भन्ने डर त्रासका साथै रणनैतिक–राजनैतिक स्वार्थमा आधारित हुने गर्दछ, जुन देखावटी र वनावटी हुन्छ ।

वस्तुतः जसरी एउटा वच्चाको राम्रो लालनपालनको लागि जन्म दिने आमाको जैविक माया जरुरत पर्दछ । त्यसरी नै राजनैतिक एजेण्डाहरुको उचित व्यवस्थापन, विकास र कार्यान्वयनको लागि पनि जननी राजनैतिक दलको नेतृत्व अनिवार्य हुन्छ । उचित भरण–पोषण नपाउँदा बच्चा कुपोषित हुन्छ भने उचित व्यवस्थापन नहुँदा एजेण्डाहरु कमजोर हुने गर्दछन् । हाम्रो राष्ट्रिय राजनीतिले यही दुर्दशा भोगिरहेको देखिन्छ ।

करिव तीन वर्ष अघि जातीय संघ संस्थामा सक्रिय केही मित्रहरुसँग मेरो भेट भयो । उहाँहरु सगर्व भन्दै हुनुहुन्थ्यो कि प्रदेश १ को मुख्यमन्त्रीकोमा डेलिगेशन गयौं अनि पहिचानमा आधारित किरात प्रदेश नामकरणको लागि माग राख्यौं । उनीहरुले अझ थप्दै भने, हामी अब प्रधानमन्त्रीसँग पनि यही सवालमा भेट गर्दैछौं । मैले उहाँहरुलाई भनें, नामकरणको लागि त भेटघाट र डेलिगेशन भन्दा पनि संसदमा दुइ तिहाइ चाहिन्छ होइन र ? पक्कै पनि राजनीतिक दलहरु आप्mनो आधारभूत सिद्धान्त अनुरुप यसको पक्ष वा विपक्षमा मत जाहेर गर्दछन् । पहिचान विरोधी दलहरुले कसैको औपचारिक डेलिगेशनकै भरमा रातारात पहिचानवादी बन्ने संभावना रहन्न । बरु तपार्इंहरुले जिताएका दल र यसका सांसदहरु पहिचानको पक्ष कि विपक्षमा उभिएका छन् ? मूलभूत गाँठी कुरा यही हो ।

आज एकपछि अर्को जनताका एजेण्डाहरु अझ ओझेल पर्दैछ, जसले हाम्रो तीन वर्ष अघिको यथार्थ छलफलको सन्दर्भ झनै सत्य सावित हुँदै गइरहेको प्रष्ट हुन्छ । ती जातीय संस्थामा क्रियाशील मित्रहरुले आगामी चुनावमा के सोच्दै हुनुहुन्छ कुन्नि ? विगतको गल्ती सच्याउने वा उही गल्ती दोहोर्याउने अनि अझ व्यापक तामझाम र प्रचारसहित थुप्रै डेलीगेशनहरु तय गर्ने । आशा गरौं यसपटक गल्ती सच्याउनु हुनेछ । किनभने एजेण्डाको ढोंग मात्रै गरेर निश्कर्ष निस्किन्न । संघर्षको निर्मम प्रक्रियाबाट प्राप्त एजेण्डाहरु गुम्दै जाँदा त्यसको पुनरप्राप्ती पनि आन्दोलनकै प्रक्रियाबाट मात्र संभव हुन्छ । हुल वाँधेर मागपत्र पेश गर्दैमा, समय मिलाएर भेटवार्ता गर्दैमा यो किमार्थ संभव छैन ।

उपर्युक्त घटना सानो प्रतिनिधि सन्दर्भ मात्र हो । सिंगो राष्ट्रिय राजनीति औसत, अवसर र माहौलको पछिपछि घस्रिरहेको छ । सिद्धान्त, विचार, एजेण्डा र मुल्य मान्यताहरुबीच सही र गलत छुट्याउने लक्ष्मण रेखाहरु मेटिदैछ । सही र गलत, अग्रगामी र पश्चगामी, वैज्ञानिक र अवैज्ञानिक, वस्तुवादी र अवस्तुवादी, व्यवहारिक र अव्यवहारिक, अपराधी र सज्जन वा जनपक्षीय र जनविरोधी सवै एउटै फुर्लुङमा कोचिदैछ । यसले समग्र राष्ट्रिय राजनैतिक भाष्यलाई नै दुर्वोध, अपव्यख्या र भ्रष्टीकरण गरिरहेको छ । अर्थात औसत, अवसर र माहौलको कलात्मक राजनीति तामझामको साथ उदाउँदो छ । लप्पन–छप्पन, षड्यन्त्र र आपराधिक मनोवृत्ति फैलिदो छ । यथार्थ वहस र इमान–जमानहरु खुम्चिदो छ । सिद्धान्त, आदर्श, विश्वास, एजेण्डा, विधि, पद्दति र मुल्यमान्यताहरु अस्ताउँदो अवस्थामा छ । राजनीतिमा अन्तरनिहीत त्याग, तपस्या, वलिदान र सेवाभावहरु निहित स्वार्थगत चक्रव्यूहको चपेटामा परिरहेको छ । परिणामस्वरुप सही सिद्धान्त र एजेण्डाहरु दिनदिनै रक्षात्मक वन्दैछ भने गलत अवसरवादी चिन्तन प्रवृत्ति झाँगिदैछ । यसले हाम्रो अर्थ–राजनीतिक सामाजिक सत्ताको गलत गन्तव्य तर्फको यात्रालाई प्रष्ट संकेत गरिरहेको जगजाहेर छ ।

वस्तुतः अवसर र रुपवादी माहौलद्वारा निर्देशित अर्थराजनीतिक प्रणालीमा सही सिद्धान्त र एजेण्डाहरु खुम्चिन पुग्दछ । यस्तो परिवेशमा जनताका निश्चल विचार, विश्वास र निष्ठामाथि अवसरवादी स्वार्थगत सौन्दर्य हावी हुने गर्दछ । अर्थात् उनीहरुको टड्कारो आवश्यक्ता र संवेदनशीलताको सीमा–कमजोरी वा विवशताकै कक्ष वरपर भावनात्मक ‘व्ल्याकमेलिङ’ सुरु हुन्छ । तव स्वतन्त्र विचार, आस्था र विश्वासहरु सजिलै ‘हाइज्याक’ गरिन्छ । सडकमा आन्दोलित हुने अनि चिया वा रक्सी पसलहरुमा सिद्धान्त, एजेण्डा र इमान–जमानको कुरा गर्ने जनता कतिपय मुख्य राजनीतिक दलहरुको अवसरवादी सौन्दर्यको रङ्गीन रुपको दुष्प्रभावमा परेर राजनैतिक निर्णय गर्ने वेलामा गलत ठाउँमा उभिन पुग्दछ । यसरी क्षणभरमा गरिएका यस्ता गलत निर्णयहरुको कारण हाम्रो समाजले ग्रहण गर्नुपर्ने सही आकार र अंगाल्नु पर्ने सही दिशा लिन सकिरहेको छैन । तव आज हामी यसैको नासो स्वरुप अनिर्णयको वन्दी बनिरहेका छौं । यहाँसम्म कि, प्रदेश १ को नामकरणको प्राविधिक काम समेत गर्न सकेका छैनौं ।

समान्यतया सडक, चिया, चौतारीहरुमा अझै पनि गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी र धर्मनिरपेक्षताको चर्चा हुन्छ । मुक्ति, न्याय र समानताको वकालत गरिन्छ । पहिचानको खरो वहस हुन्छ । यही एजेण्डाहरुकै कारण आज हामी यहाँ छौं भन्न पनि वाँकी राख्दैनन् । अझ धेरैले यी तमाम एजेण्डाहरुको जननी माओवादी नै हुन् भनेर स्वीकार पनि गर्छन् । जे भने पनि परिवर्तनको संवाहक माओवादीनै हो पनि भन्छन् । लड्नेहरु पछि पारिए भने शान्ति प्रक्रिया पछि आउनेहरुले अवसर पाए भन्ने कटु सत्य कुरा पनि पोख्छन् । कम्युनिष्ट र गैरकम्युनिष्ट पार्टी र नेता–कार्यकर्ताहरुको चरित्रको कुरा गर्छन् । जीवनशैली र कार्यशैलीवारे टिप्पणी गर्छन्  । त्याग, तपस्या र सेवाको कुरा गर्छन् । पुँजीवाद र समाजवादको भेद छुट्याउँछन् । सही र गलत अनि अग्रगामी र पश्चगामी सवै निर्क्यौल गर्छन् । तर ठोस निश्कर्षमा पुग्दैनन् ।

यस्तै कसैले एमसीसी पक्षधरहरुलाई गाउँ प्रवेश निषेध सम्मको तरङ्गीत भावाभिव्यक्ति राख्छन् । वहुसंख्यक जनताको पक्षमा रहेको दलील पेश गर्छन् । चरम राष्ट्रवादी हुन्छन् । विभेद र उत्पीडनका कुरा गर्छन् । न्याय र समानताको वकालत गर्छन् । तर अवसर र रुपवादी राजनीतिक सौन्दर्यको कलात्मक फ्युजन भइरहेको वस्तुगत धरातलमा निर्णायक पहल लिनुपर्ने खास अवस्थामा भने उनीहरु एकाएक गलत बाटो रोज्न पुग्दछन् । यो नेपाली लोकतान्त्रिक अर्थराजनीतिक भाष्यको विडम्वनापूर्ण र विकृत सौन्दर्य संस्कृति वन्न पुगेको छ । यसले समाधन होइन, मुलुकलाई चरम अस्थिरता र अनिर्णयको गलत गन्तव्यतर्फ धकेलिरहेको छ ।

यसरी रुपवादी सौन्दर्य चिन्तनद्वारा निर्देशित राजनीतिमा औसत अभिनयको कला भए काफी हुन्छ । वास्तवमा सिद्धान्त र विचारले नेतृत्व गरेको समाजमा विभिन्न विचार, कार्यक्रम र उद्देश्यहरु भिन्न–भिन्न दृष्टिकोणमा अभिव्यक्त हुने गर्दछ । जनतालाई सही र गलत छुुट्याउन सहज हुन्छ । तर संसदीय ढोंग र ढर्राको अभिनय उस्तै कलात्मक हुन्छ । एजेण्डा वोक्ने दलहरु भन्दा नवोक्ने दलहरु अभिनयमा अझ चलाख हुन्छन् । यसले जनतामा महाद्विविधा पैदा गरिदिन्छ परिणामतः जनता अवसर र माहौलको पछि लाग्न वाध्य हुन्छन् । यस्तो वस्तुगत परिवेशमा सत्य र असत्य दुवैले एउटै अभिनय गरिरहेको हुन्छ । परिवर्तनकारी र परिवर्तन विरोधी, अग्रगामी र पश्चगामी अनि जनपक्षीय र जनविरोधी सवै एउटै जस्तो हुन्छ । सही र गलत उस्तै हुन्छ । राष्ट्रवादी र राष्ट्रविरोधी, गणतन्त्रवादी र राजावादी, संघीयतावादी र संघीयता विरोधी, पहिचानवादी र पहिचान विरोधी, समावेशी, समानुपातिक र धर्मनिरपेक्षता पक्षधर र विरोधीहरु सवै रुप, वर्ण र कला प्रस्तुतिमा उस्तै देखिन्छन् ।

यसरी मतदाताहरुले असली र छद्म रुपधारी राजनैतिक दल वा नेताहरुलाई पहिचान गर्न सक्दैनन् । यस्तो वेला उनीहरु अन्यौल र अस्पष्ट हुन्छन् । तव अवसर र रुपरङ्गरुपी माहौल वरपर झुम्मिन थाल्छन् । साम दाम, दण्ड भेदको औसत अस्त्रहरु मार्फत उनीहरुको कमलो भावनामा व्ल्याकमेलिङ गरिन्छ । जनता यसको नराम्रो शिकार हुन्छन् । तव छद्म एजेण्डाधारी राजनैतिक दलहरुले आफ्नो पक्षमा माहौल सिर्जना गर्दै चुनावी परिणाम आफ्नो पोल्टामा पार्दछन् । सही र वस्तुवादी हुँदाहुँदै पनि एजेण्डा हार्ने स्थिति वन्दछ । यसकारण जनतामा राजनैतिक सचेतना अभिवृद्धि गर्दै सिद्धान्त र एजेण्डा अनि अवसर र माहौलको राजनीति अन्तरगत सही र गलतकोे दरार वोध स्पष्ट नभएसम्म यस्तो सिलसिला घट्ने होइन, अझ तीव्र हुने देखिन्छ ।

यसकारण मुलतः एजेण्डा हार्दै गएको समाजमा गुणात्मक परिवर्तनको धेरै चाहना गर्नु वस्तुवादी हुँदैन । यस्तो वेला राजनीति औसत कर्मकाण्डी मात्र हुने गर्दछ । अर्थात् चुनावदेखि चुनाव र सरकारदेखि सरकारसम्मको यथास्थितिवादी गोलचक्करमा सीमित हुन पुग्दछ । यसले आगामी स्थानीय मात्रै होइन, प्रदेश र संघको निर्वाचनमा पनि एजेण्डा कमजोर हुने खतरा जीवीतै देखिन्छ । किनकि अवसर र रुपवादी राजनीतिमा जनमत असाध्यै संवेदनशील र अस्थिर हुने गर्दछ । सार्वभौमतः जति जति एजेण्डा ओझेल पर्दै जान्छ, त्यति नै वढी अग्रगामी राजनीतिक बहाव उल्टो दिशातर्फ बग्न थाल्दछ । वरु उल्टै एजेण्डालाई चौतर्फी घेरावन्दीमा पारेर अपहरण गरिन्छ । भनिन्छ, लोकतन्त्रमा जनमत भन्दा ठूलो अरु केही हुँदैन । तर अवसर र माहौलले दिशानिर्देश गरिरहेको राजनीतिमा जनमतको समेत अत्याधिक दुरुपयोग हुने गर्दछ, जसले लोकतान्त्रिक निर्वाचनको औचित्य माथि नै गम्भीर प्रश्न उठ्ने गर्दछ ।

त्यसैले नेपाली राष्ट्रिय राजनीतिमा हाम्रो कार्यभार भनेको एजेण्डाको राजनैतिक संस्कृति विकास गर्नु हो । सिद्धान्त र एजेण्डाको राजनैतिक महत्व उजागर गर्नु हो । मुलतः जसको विचार, उसैको नेतृत्व र जसको एजेण्डा उसैलाई सहयोग गर्यौं भने मात्र राष्ट्रिय राजनीतिमा अग्रगामी गति पैदा हुन्छ । एजेण्डा एकातिर लगानी र समर्थन अर्कोतिर गरियो भने हाम्रो आधारभूत एजेण्डाहरुको लागि मागपत्र वा ध्यानाकर्षण पत्रहरु वोकेर डेलिगेशन जानुको अरु विकल्प वाँकी रहन्न, जसको कुनै औचित्य हुँदैन । यसैको लागि जे जति कर्मकाण्ड गरिन्छ, त्यो सवै औपचारिकतामा सीमित हुन जान्छ । अझ प्रष्ट शब्दमा भन्ने हो भने गणतन्त्र विरोधी तप्कालाई समर्थन गरेर लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनै सक्दैन । संघीयता विरोधीलाई सहयोग गरेर पहिचान स्थापित हुँदैन । परिवर्तन विरोधी वा पश्चगामी तत्वहरुलाई भोट हालेर परिवर्तनकारी वा अग्रगामी राजनैतिक एजेण्डाहरु कार्यान्वयन हुन सक्दैन । एजेण्डाहरुको योजनावद्ध उद्देश्यअनुरुप कार्यान्वयन नभएसम्म सामाजिक जीवनमा प्राप्त उपलब्धिहरुको जीवन्त प्रत्याभूति हुँदैन ।

तसर्थ, कठिन संघर्षको ऐतिहासिक प्रक्रियाबाट स्थापित एजेण्डाहरुकै रापतापमा निर्माण भएको वस्तुगत राजनैतिक धरातल माथि उभिएर त्यसैलाई अपमान गर्नु न्युनतम राजनैतिक नैतिक मुल्यभित्र पर्दैन । सार्वभौमतः सिद्धान्त र एजेण्डा हारेको बेला औसत अवसरवादी सौन्दर्य चिन्तन हावी हुने गर्दछ । यसैले आगामी तिनै तहको निर्वाचनमा एजेण्डा हेरेर मतदान गर्न सचेत मतदाताहरुको राजनैतिक कार्यभार पक्कै पनि हो । एजेण्डालाई जितायौं भने राजनैतिक प्रक्रियाबाट नै उपलब्धिहरु संस्थागत हुनेछ । मुलुकले अग्रगामी निकास पाउनेछ । जनअपेक्षाहरु पुरा हुनेछ । हुल वाँधेर मागपत्रसहित अर्थ र औचित्यहीन डेलिगेशन र भेटघाटमा जानु पर्दैन । नारा, जुलुश र प्लेकार्ड भिर्नु पर्दैन । फेरि पनि अवसर र माहौलकै वरपर घुम्ने गल्ती दोहोर्याइयो भने राष्ट्रिय राजनीति यथास्थिति भन्दा पनि पछाडि धकेलिने निश्चित छ । एजेण्डा हार्नेछ । एजेण्डा हार्नु भनेको समाजको गतिलाई उल्टो घुमाउनु हो । अन्यौलता र अनिर्णयको अझ पेचिलो श्रृङ्खला सुरु गराउनु हो । बाह्य रणनैतिक हस्तक्षेपलाई मलजल पुर्याउनु हो, जुन देश र जनताको लागि घातक हुनेछ । सबैलाई चेतना भया !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप