शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीसँगै बढ्न थाल्यो आगलागीका घटना

एक दशकमा १८ हजार ३३६ आगलागीका घटना
बुधबार, ०७ वैशाख २०७९, १२ : ०९
बुधबार, ०७ वैशाख २०७९

मंगलबार ललितपुरको बज्रबाराही जंगलमा आगलागी भयो । थापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो लागेपछि बस्तीमा फैलिन नदिन सो क्षेत्रमा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिए । त्यस्तै, सोमबार मात्रै कपिलवस्तुमा आगलागीबाट ६ घर गोठ जलेर नष्ट भएको छ । स्थानीय मोतीराम यादवको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको हो। सोही दिन विराटनगरमा होटल र पसलमा आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । 

यसरी गर्मी सिजनमा आगलागीको घटना नभएको दिन नै हुँदैन । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनलाई आधार मान्दा प्रत्येक दिन करिब १० आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख १ देखि ६ सम्म ५ दिनको अवधिमा मात्रै आगलागीको ९८ घटना भएका छन् ।

घटनामा मृत्यु हुने १ जना रहेको तथा १८ जना घाइते भएका छन् । आगलागीबाट १३६ घरपरिवार प्रभावित भएका छन् । अनुमानित ६ करोड २६ लाख, ६६ हजार ६ सय रुपैयाँ क्षति भएको पाइएको छ । त्यस्तै सोही समयमा जङ्गलमा आगलागीका १२ घटना भएका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल आगलागीको जोखिम सबैभन्दा बढी सुख्खा याममै हुने बताउँछन् । त्यसबाहेक सहरी क्षेत्रमा बाह्रै महिना आगलागीको जोखिम उत्तिकै हुने पोखरेलको भनाइ छ । प्राधिकरणका अनुसार २०७४ वैशाख १ गते २०७८ चैत मसान्तसम्म ५ वर्षको अवधिमा १२ हजार २४ आगलागीका घटना भएका छन् ।

उक्त घटनामा ४१३ ले ज्यान गुमाएका छन् । त्यस्तै, २०६८ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म एक दशकको अवधिमा १८ हजार ३३६ आगलागीका घटना भएका छन् । जसमा ८०२ जनाको मृत्यु भएको छ  भने २ हजार ४७० जना घाइते भएका छन् । 

आगो बिनाको जीवन कल्पना गर्न सकिन्न। दैनिक जीवनमा हामी आगोसँगको संसर्गमा हुन्छौ । घरको भान्सादेखि उद्योग कलकारखाना चलाउन आगो चाहिन्छ। तर मानवीय जीवनलाई सुगम बनाउने आगोलाई राम्रोसँग व्यवस्थापन गर्न जानिएन भने बहुउपयोगी आगो विध्वंशको कारण बन्छ। आगलागीबाट कसरी जोगिने त ?

आगलागीको जोखिमबाट जोगिने उपाय 
– खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो प्रयोग गरिसकेपछि रेगुलेटर बन्द गर्न नबिर्सिने ।
– ग्याँस चुल्हो बाल्नु अगाडि ग्याँस लिक भए नभएको यकिन गर्ने ।
– खाना पकाउने ग्याँस, बिजुली र सलाई जस्ता आगोजन्य वस्तुहरुको नजिक बालबालिकालाई खेल्न नदिने ।
– पूजा कोठामा बालिने धुप, भान्सामा कोइला तथा लामखुट्टे धपाउने धुपलगायत बालेर नछाड्ने ।
– आगोले छिट्टै टिप्ने पेट्रोलियम, मट्टितेल जस्ता प्रज्वलनशील पदार्थ आगो नजिकै नराख्ने ।
– धेरै पुरानो बिजुलीको तार र मल्टिप्लग सर्ट हुने सम्भावना बढी हुन्छ, त्यसैले नयाँ परिवर्तन गर्ने । 
– गाउँघर होस् या वन जङ्गल, चुरोट खाएपछि ठुटा जथाभावी नफ्याँक्ने। 
– दमकल सेवाको फोन नम्बर १०१ हरेक घरपरिवारमा सुरक्षित राख्ने । 
आगलागी भइहालेमा के गर्ने ?
– आगलागीको अवस्थासँग नआत्तिने, आत्मबल विपद्को बेला अत्यन्त आवश्यक हुन्छ ।
– विपत्तिको समयमा परिस्थितिलाई राम्ररी विश्लेषण गरेर छिटो निर्णय गर्ने ।
– कपडामा लागेको ज्वाला निभाउन दुवै हात तत्काल ज्वालाको मुखमा पर्न नदिई बरु भुईँमा लडीबुडी खेली ज्वाला निभाउन प्रयत्न गर्ने । 
– सुरक्षित स्थान तथा त्यसतर्फ जाने बाटो तय गर्ने । 
– आगलागीमा परेको व्यक्तिको टाँसिएको कपडा फुस्काउने प्रयत्न गर्नु भन्दा तत्काल अस्पताल लैजाने । 
– संभव भए घरमा अग्नि नियन्त्रण राख्ने, आगलागीबाट बच्न घर परिवार तथा छिमेकमा सल्लाह गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप