बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

खानेपानीको जोहो गर्ने चटारोमा कोलातीका वासिन्दा

बुधबार, १४ वैशाख २०७९, १७ : २०
बुधबार, १४ वैशाख २०७९

यतिबेला सबैलाई चुनावी माहोलको प्रचारप्रसारको काममा खट्नलाई निकै चटारो छ तर, काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिका –६ कोलातीका बासिन्दालाई भने कसरी खानेपानीको जोहो गर्ने भन्ने चटारो छ । बिहान जो पहिला धारामा पुग्यो उसैले धेरै पानी ल्याउन पाउने भएकाले यहाँका बासिन्दा खानेपानीको जोहो गर्ने चटारोमा रहेका छन् ।

कोलातीका लालबहादुर नेपालीले घर बनाउन तीन महिना अगाडि ल्याएको पानी ट्याङ्कीमा अलिअलि गरेर ओसार्दै गरेको धेरै भयो । अझै पुग्दोगरी पानी जोहो गर्न पाएको छैनन् । घरबाट धारासम्म पुग्नका लागि मात्रै करिब आधा घण्टा लाग्छ । त्यहाँ पुगेर पालो कुरेर ओसारेको पानीको भरमा घर बनाउनुपर्ने भएकाले अझै धेरै समय लाग्ने उनले सुनाए । सात जनाको परिवार रहेको उनले पानी जोहो गर्ने र घर धन्दा गर्दैमा दिन बित्ने गरेको सुनाए । यहाँका बासिन्दाको लागि अरुको चिन्ता भन्दा पनि खानेपानीको जोहो गर्न बिहानदेखि धारामा धाउनुपर्ने चिन्ताले सधैँ सताइरहन्छ । 

बिहान उठ्ने वित्तिकै खानेपानी जोहो गर्नका लागि धारामा गाग्री बोकेर जानु यहाँका बासिन्दाको पहिलो दायित्व हो । सिङ्गो गाउँ नै पानीविहीन भएका कारण गाउँदेखि तलको खोल्सामा रहेको धारामा गएर पानी बोकेर ल्याई जीवन गुजारा गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता रहेको छ । वर्षौदेखि खानेपानीको चरम अभाव झेल्दै आएका यहाँका बासिन्दाले अहिले पनि त्यही समस्या झेलिरहेका छन् । वर्षौंदेखि दिनको दुई गाग्री खानेपानीको भरमा जीवन गुजार्नु परेको स्थानीय बासिन्दा बताउँछन् । “हामीले दिनको दुई गाग्री पानी बोकेर ल्याएर जीवन चलाउनुपरेको छ”, नेपालीले भने,“पूर्खादेखिको त्यही एउटा धारामा पानी थापेर ल्याउनु पर्छ, त्यो पनि पालो कुरेर । कोलातीमा विकास गर्छु, पानी ल्याउँछु भनेर नेताले भन्दै आएको धेरै वर्ष भयो तर अहिलेसम्म हामीले त्यही एउटा खानेपानीसम्म पाउन सकेका छैनौँ ।” 

उनले थपे, “गाउँको विकास बजेट कसरी बाँड्छ, कसलाई बोलाएर बाँड्छ केही थाहा हुँदैन ।” सोही ठाउँका चौतारी टोलका अर्का स्थानीय बासिन्दा कमला नेपालीले खानेपानीको आशा देखाएर पाँच वर्ष वितिसक्दा पनि घरघरमा धारा ल्याउँछु भन्ने कुरा कुरामा मात्रै सीमित भएको भन्दै अब कसैको विश्वास गर्न नसकिने बताइन् । एक पटकमा आधा घण्टादेखि दुई घण्टासम्म समय लगाएर पानी खाइरहेको समस्या सुनाउँदै उनले भएको एउटा धारामा कम्तीमा ४० घरधुरीले थापेर चलाउनुपरेको बताइन् । बिहान पहिला पुग्यो भने दुई गाग्रीसम्म थाप्न पाइने र ढिला भयो भने एक गाग्रीमा चित्त बुझाउनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन् ।

त्यही पुर्खादेखि पानी खाइरहेको धारामा पनि भुकम्पदेखि मूल दबिएर पहिलाको भन्दा सानो गरी पानी आएकोले झन् समस्या थपेको स्थानीय बासिन्दाको भनाइ छ । बस्तुभाउलाई ख्याउन, नुहाउन र लुगा धुनका लागि त झन अझै तलसम्म गएर गाग्रीमा ओसार्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । वर्षमा एक बाली मकै बाहेक केही पनि खेती नहुने कोलातीमा जीवन गुजार्न समेत गाह्रो हुने स्थानीय बासिन्दा बताउँछन् । गाउँका माथिल्लो भेगमा बस्नेको वर्षको एक बाली मकै हुन्छ, तल बेँशीमा बस्नेले घर नजिकेको करेसाबारीमा लसुन, प्याज केही आलु लगाउने गरेका छन् । त्यसबाहेक कोलाती गाउँ नै सुख्खा बस्ती हो । धेरैजसो दलित र आदिवासी जनजाति समुदाय र केही बाहुन क्षेत्रीकोसमेत बसोबास रहेको कोलातीका बासिन्दा सिँचाइ अभावकै कारण वर्षौदेखि समस्या झेल्दै आएका छन् ।

खानेपानी र सिँचाइको पर्याप्त सुविधा भयो भने दश नङ्ग्रा खियाएर आफ्नै जग्गा कोट्याएर यही सबै चिज फलाउन सक्ने स्थानीय बासिन्दा बताउँछन् । “न विदेश जानुपर्छ न कतै, पानीको अभावले मात्रै यहाँका बासिन्दाको जीवनमा केही परिवर्तन भएको छैन”, स्थानीय बासिन्दा बताउँछन् । सो वडाका वडाध्यक्ष भरतबहादुर शिवभक्तिले भने खानेपानी समस्या झेल्दै आएका वडा बासिन्दाको लागि खानेपानीको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । “खानेपानीको चरम समस्या रहेको बासिन्दाको लागि खहरे खोला वृहत लिफ्टिङ खानेपानी आयोजनाको काम तीव्र रुपमा भइरहेको छ”, उनले भने, “अहिले निर्वाचनको समय भएको कारण निर्माण व्यवसायीले समय दिन नभ्याएको कारण अलि ढिलाइ भइरहेको छ ।” उनका अनुसार सो आयोजनाबाट सो वडाका करिब चार सय घरधुरीलाई सेवा दिनेगरी काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप