मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएल

यस्तो छ आईपीएलको अङ्क गणित, दुई स्थानका लागि पाँच टोलीबिच घम्साघम्सी

बुधबार, ०२ जेठ २०८१, १२ : १६
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ सिजन उत्तरार्धतर्फ लम्किरहेको छ । प्रतियोगिताको लिग चरणमा हालसम्म ६४ खेल खेलिसकिएको छ । लिग चरणमा अब ६ खेलमात्र खेल्न बाँकी छ ।

आईपीएलको पछिल्लो खेल दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिएको थियो । उक्त खेलमा दिल्लीले लखनउलाई १९ रनले हराएको थियो । यो सिजनको आईपीएलमा दिल्लीको सबै खेल सकिएको छ भने लखनउले अझ एक खेल खेल्न बाँकी छ ।

हालसम्म १३ खेल खेलेको कोलकाता नाइट राइडर्स १९ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । कोलकाताले नौ जित र तीन हारको नतिजा निकालेको छ । कोलकाताको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । कोलकाताले अझ एक खेल खेल्न बाँकी छ ।

यसैगरी १२ खेल खेलेको राजस्थान रोयल्स १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । राजस्थानले आठ जित र चार हारको नतिजा निकालेको छ । राजस्थानले अझै दुई खेल खेल्न बाँकी छ । चेन्नई सुपर किङ्स १३ खेलबाट १४ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

chennai

चेन्नईले सात जित र ६ हारको नतिजा निकालेको छ । चेन्नईले अब एक खेल खेल्न बाँकी छ । १२ खेलबाट १४ अङ्क जोडेको सनराइजर्स हैदराबाद चौथो स्थानमा छ । हैदराबादले सात जित र पाँच हारको नतिजा निकालेको छ । हैदराबादले दुई खेल खेल्न बाँकी छ ।

यसैगरी १४ खेल खेलेको दिल्ली क्यापिटल्स सात जित र सात हारबाट १४ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा छ । दिल्लीले लिग चरणको सबै खेल खेलिसकेको छ । १३ खेल खेलेको रोयल च्यालेन्जर्स बैंगलुरु ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकाल्दै १२ अङ्कसहित छैटौँ स्थानमा आसिन छ । बैंगलुरुले एक खेल खेल्न बाँकी छ ।

यसैगरी हालसम्म १३ खेल खेलेको लखनउ सुपर जाइन्ट्स १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा आसिन छ । लखनउले ६ जित र सात हारको नतिजा निकालेको छ । लखनउले लिग चरणमा अब एक खेल खेल्न बाँकी छ ।

माथिका सातमध्ये पहिलो र दोस्रो स्थानमा रहेका टोली कोलकाता र राजस्थान प्ले–अफ चरणमा पुगिसकेका छन् । बाँकी चार टोलीको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ । तर, अङ्क तालिकाको अन्तिम तीन स्थानमा रहेका टोली भने उपाधि होडबाट बाहिरिइसकेका छन् ।

उपाधि होडबाट बाहिरिने टोली मुम्बई इन्डियन्स, पञ्जाब किङ्स र गुजरात टाइटन्स हुन् । १३ खेलबाट ११ अङ्क जोडेको गुजरात आठौँ स्थानमा छ । गुजरातले हालसम्म पाँच जित र सात हारको नतिजा निकालेको छ । गुजरातको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । गुजरातले एक खेल खेल्न बाँकी छ ।

यसैगरी १३ खेलबाट आठ अङ्क जोडेको मुम्बईले चार जित र नौ हारको नतिजा निकालेको छ । मुम्बईले पनि एक खेल खेल्न बाँकी छ । मुम्बई तालिकाको नवौँ स्थानमा छ । १२ खेलबाट आठ अङ्क बटुलेको पञ्जाबले चार जित र आठ हारको नतिजा निकालेको छ । पञ्जाबले दुई खेल खेल्न बाँकी छ ।

lukhnow

आफ्नो पछिल्लो खेलमा दिल्लीसँग पराजित भएपछि लखनउको प्ले–अफ चरणमा पुग्ने सम्भावना अत्यन्तै कम देखिन्छ । यद्यपि, प्राविधिक रूपमा लखनउ अझै उपाधि होडबाट बाहिरिएको छैन । अर्कोतिर, दिल्लीको पनि अगाडि बढ्न सम्भावना कम देखिन्छ ।

चेन्नई, हैदराबाद र दिल्लीको समान अङ्क भए पनि नेट रन रेटमा दिल्ली तल परेको छ । चेन्नईको नेट रन रेट ०.५२८, हैदराबादको नेट रन रेट ०.४०६ र दिल्लीको नेट रन रेट –०.३७७ रहेको छ । चेन्नई पनि प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न आगामी खेलमा बैंगलुरुलाई हराउनै पर्ने दबाबमा देखिन्छ ।

चेन्नईसँग पराजित भएमा बैंगलुरु १२ अङ्कमै रोकिने छ र उपाधि होडबाट पनि बाहिरिने छ । तर, बैंगलुरुले चेन्नईलाई हराएमा प्ले–अफ समीकरण थप रोचक बन्नेछ । चेन्नईले बैंगलुरुलाई हराएमा त्यसको फाइदा दिल्लीलाई पनि पुग्नेछ ।

delhi

त्यसपछि पनि दिल्लीले अगाडि बढ्न अन्य टोलीको भर पर्नु पर्नेछ । मुम्बईले लखनउलाई हराओस् भन्ने कामना पनि दिल्लीले गर्नु पर्नेछ । यति धेरै संयोग मिलेर पनि दिल्लीलाई पुग्ने छैन । यसका अतिरिक्त हैदराबादले बाँकी दुवै खेलमा कम्तीमा दुई सय रनको लक्ष्य पछ्याउँदै आफ्ना दुवै प्रतिद्वन्द्वीलाई निकै ठुलो अन्तरले हराउनु पर्ने हुन्छ ।

हैदराबादले दुवै टोलीलाई हराएको रनअन्तर जोड्दा कम्तीमा पनि एक सय ९४ हुनु पर्नेछ । यी सबै संयोग मिलेमा मात्र दिल्ली अङ्क तालिकाको चौथो स्थानमा उक्लँदै प्रतियोगिताको प्ले–अफ चरणमा प्रवेश गर्नेछ, जुन असम्भवजस्तै देखिन्छ ।

हाल अङ्क तालिकाको सातौँ स्थानसम्म रहेका टोलीमध्ये लखनउको नेट रन रेट सबैभन्दा खराब छ । लखनउको नेट रन रेट –०.७८७ रहेको छ । त्यसैले लखनउले अगाडि बढ्न सम्भावना कायम राख्न आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई एक सय ५० रनभन्दा बढीको अन्तरले हराउनु पर्ने हुन्छ । त्यसैले लखनउको यात्रा पनि निकै कठिन देखिन्छ ।

बुधबार राजस्थान र पञ्जाबबिच खेल हुँदैछ । उक्त खेलमा विजयी भए राजस्थानले तालिकाको दोस्रो स्थानमा रहेर लिग चरणको खेल टुङ्ग्याउने सम्भावना बलियो बन्नेछ । पञ्जाब भने यसअघि नै उपाधि होडबाट बाहिरिएको छ ।

राजस्थानका अतिरिक्त सनराइजर्स हैदराबादसँग मात्र अङ्क तालिकाको दोस्रो स्थानमा रहेर लिग चरणको खेल टुङ्ग्याउने सम्भावना बाँकी छ । आगामी दुवै खेलमा विजयी भएमा सनराइजर्स हैदराबादको अङ्क १८ पुग्नेछ ।

rcb

जारी सिजनको आईपीएलमा बैंगलुरुका विराट कोहली सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । उनले १३ खेलमा कुल ६ सय ६१ रन बनाइसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका चेन्नईका कप्तान ऋतुराज गायकवाडले कुल पाँच सय ८३ रन बनाएका छन् ।

यसैगरी जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका जसप्रित बुमराह सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले हालसम्म १३ खेल खेल्दै कुल २० विकेट लिइसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका पञ्जाबका हर्षल पटेलले पनि २० विकेट लिएका छन् । इकोनोमी रेट बढी भएका कारण हर्षल पटेल जसप्रित बुमराहभन्दा पछि परेका हुन् ।

यसैगरी जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादका अभिषेक शर्मा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी हुन् । उनले १२ खेलमा कुल ३५ छक्का प्रहार गरिसकेका छन् । यो सूचिमा विराट कोहली दोस्रो स्थानमा छन् । विराटले ३३ वटा छक्का प्रहार गरेका छन् ।

यसैगरी सनराइजर्स हैदराबादका ट्राभिस हेड जारी सिजनको आईपीएलमा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान हुन् । उनले हालसम्म ६१ वटा चौका प्रहार गरिसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका विराट कोहलीले हालसम्म ५६ चौका हिर्काएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप