मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचन : रोजगारीका लागि परदेशिएकाको पीडा बेग्लै

‘स्वदेशमै रोजगारी पाए हुन्थ्यो’
बिहीबार, २९ वैशाख २०७९, १२ : ३९
बिहीबार, २९ वैशाख २०७९

अछामको बन्नीगढी नगरपालिकाका भक्तबहादुर साउद चार महिना अघि भारतमा रोजगारीका लागि गएका थिए । केही अघि उनी गौरीफण्टा नाका हुँदै स्वदेश फर्किएका हुन् । उनी नाकाबाट फर्कदै गर्दा स्थानीय तहको निर्वाचनप्रति उत्साहित थिएनन् ।

आफू मतदान गर्नभन्दा पनि खेतीपाती गर्नका लागि घर फर्किएको उनको भनाइ थियो । झोला झिम्टी राख्दै उनले भने, ‘निर्वाचनमा के–कस्ता उम्मेदवार छन् थाहा छैन । मतदानमा भाग लिन्छु । छोराबुहारीले भनेकै आधारमा मतदान गर्छु । खेती लगाएर फेरि रोजगारीका लागि भारतमै जाने हो ।’

भारतको मध्यप्रदेशमा रोजगारी गर्दै आएका उनले स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवार आफूले खोजेको प्रतिक्रिया दिए । उनले भने, ‘स्वदेशमै रोजगारी सिर्जना गर्ने नेता आउन् भन्ने चाहन्छु तर सबै नेता त्यस्तै भए ।’

डडेल्धुराका तेज दमाई मतदानमा भाग लिन उत्साहित थिए । तीन वर्षसम्म भारतमा श्रम गरेका उनी मतदान गर्नकै लागि छोराछोरी, श्रीमतीसहित मुम्बईबाट फर्कदै थिए । उनले भने, ‘नेपालमै रोजगारी मिलेको भए धेरै राम्रो हुने थियो । मुम्बई जान र आउन झन्झट हट्थ्यो ।’

आफ्नै गाउँमा काम गर्न पाए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । परदेशमा झैं दुःख गरेर गाउँमै आम्दानी हुने अवस्था आए आफूहरुका लागि त्यही ठुलो उपलब्धि हुने उनले बताए ।

गाउँमा पुगेपछि मात्र कसलाई मत दिने भन्ने निर्णय लिने उनको भनाइ छ । उनले भने, ‘गरिव, असहाय व्यक्तिलाई सहयोग गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने योग्य उम्मेदवारलाई मात्र मतदान गर्ने छु ।’

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भारतबाट फर्कनेमात्र होइन, रोजगारीका लागि भारततर्फ जाने पनि उत्तिकै छन् । अछाम मंगलसेनका सुरेश परियार घरमा खानकै समस्या भएपछि पैसा कमाउन भारत जाँदै थिए । उनले भने, ‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जनप्रतिनिधि छान्ने मन थियो तर मजबुरीले दिएन ।’ उनले स्वदेशमा रोजगारी नभएपछि घरपरिवारको खर्च धान्न भारत जानुपरेको बाध्यता सुनाए ।

कैलाली, चौमालाका नेत्र परियारको व्यथा पनि उस्तै छ । ‘गाउँ पूरै चुनावमय भइरहेका बेला बाध्यताले परदेशिनुप¥यो । मतदान गर्ने मन त थियो तर, घरपरिवारको अवस्था नाजुक छ,’ उनले भने ।

स्थानीय तहको निर्वाचनअन्र्तगत मतदानको मिति नजिकिँदै गर्दा सीमा नाकामा आवतजावत गर्नेको संख्यामा पनि वृद्धि भएको छ । कैलाली र कञ्चनपुर जोड्ने त्रिनगर नाकाबाट दैनिक दुई सय जना स्वदेश फर्किरहेका छन् भने पाँच सयको हाराहारीमा रोजगारीका लागि भारत जाने गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज रातिदेखि नाका बन्द

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज मध्यरातदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै आज मध्यरातदेखि ७२ घण्टाका लागि नाका बन्द रहने जनाएका छन् ।

प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला लगायत भारतसँग सीमा जोडिएका जिल्लाका नाका आज रातिदेखि बन्द हुने छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछन् ।

‘भारतसँग सीमा जोडिएका यस जिल्लाका सबै सीमा नाकाहरु २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म अत्यावश्यक सेवाबाहेक आवतजावत गर्न नपाउने गरी सीमा नाका बन्द हुने’ कैलाली प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो समयमा बिरामी बोकेको एम्बुलेन्स, पेट्रोलियम बोकेको ट्यांकर, औषधि बोकेको सवारी साधन, मलामी, जन्ती बाहेक अन्य सबैका लागि नाका बन्द गरिने कैलाली प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप