आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षक दरबन्दीको माग गर्दै प्रदर्शनसहित ज्ञापनपत्र बुझाइयो

सोमबार, २४ वैशाख २०८१, २० : ५६
सोमबार, २४ वैशाख २०८१

रौतहट। प्रभु साह नेतृत्वको आमजनता पार्टी र पार्टी निकट आम विद्यार्थी मोर्चाको अगुवाइमा शिक्षक दरबन्दीको माग गर्दै सोमवार मधेस प्रदेशको विभिन्न जिल्लामा प्रदर्शन सहित  ज्ञापन पत्र बुझाएको छ।

आमजनता पार्टी मधेस प्रदेश कमिटी र आमा विद्यार्थी मोर्चाको संयुक्त आयोजनामा असमान शिक्षक दरबन्दी अविलम्ब पूरा गर्नुपर्ने माग गर्दै रौतहट, सर्लाही, महोत्तरी र सप्तरी ,जिल्ला सदरमुकाममा प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र बुझाएको हो।

आम  जनता पार्टीका केन्द्रीय उपाध्यक्ष उपेन्द्र साहको नेतृत्वमा रौतहटको सदरमुकाम गौरमा  नेता कार्यकर्ता विद्यार्थी सहितको टोलीले विशाल प्रदर्शन पछि  प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दीको आपूर्ति गर्न आम जनता पार्टीले जिल्ला प्रशासन कार्यालय मार्फत सङ्घ र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको आन्दोलनमा सहभागी आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहले बताए। शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्ने लगायतका माग सहित बुझाइएको छ।

१ लाख ८५ हजार विद्यार्थी सङ्ख्या रहेको रौतहटमा जम्मा शिक्षक सङ्ख्या २ हजार मात्र छ । जबकि ५० विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ३७०० हुनुपर्ने हो । रौतहटमा शिक्षक दरबन्दी १७०० अपुग रहेको देखिएको छ ।

प्रदर्शन कार्यक्रममा पूर्व सांसद समिना हुसेन, आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष  बिबेक साह,लगायत आजपाका नेताकार्यकर्ता, अभिभावक, तथा विद्यार्थीहरूको विशेष सहभागितामा आम विद्यार्थी मोर्चाले रौतहटका सिडिओ हिरालाल रेग्मी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको थियो।

त्यस्तै आजपा उपाध्यक्ष रीता देवी साह, आईटी आर्मीको केन्द्रीय अध्यक्ष चन्द्र भूषण साह लगायत नेताहरूको विशेष उपस्थितिमा सर्लाहीको मलङ्गवामा जुलुस सहित प्रदर्शन पछि सिडिओ मार्फत  प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको ।

सर्लाहीमा २ लाख ५६ हजार विद्यार्थी रहेको जहाँ शिक्षकको मौजुदा सङ्ख्या २४१० मात्र छ । जबकि ५० विद्यार्थीको अनुपातमा आवश्यक शिक्षक सङ्ख्या ५१२७ हुनुपर्ने हो तर शिक्षक दरबन्दी २७१७ अपुग रहेको छ । 

शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी सङ्ख्याको अनुपातमा तहगत र विषयगत आपूर्ति गर्न आम जनता पार्टीले महोत्तरी जिल्ला प्रशासन कार्यालय जलेश्वर मार्फत सङ्घ र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 

ज्ञापन पत्र कार्यक्रममा आम  जनता पार्टीका केन्द्रीय महासचिव त्रिभुवन साह, आम जनता पार्टीका केन्द्रीय सचिव एवं प्रदेश अध्यक्ष उमेश कुशवाहा, केन्द्रीय सदस्य राधेश्याम साह, विजय साह, अरविन्द साह, सञ्जय साह, प्रदेश कमिटी सदस्य धनपत साह, रमेश भण्डारी लगायतको सहभागिता रहेको थियो । अध्यक्ष प्रभु साहले केही पहिले संसदमा समेत यो विषय उठाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप