आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र

सोमबार, २४ वैशाख २०८१, २३ : ३७
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आफ्नो आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन् । 

आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाए पनि सार्वजनिक नभएपछि आज पत्राचार गरेको रास्वपाका एक मन्त्रीले रातोपाटीलाई बताए ।

देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने भन्दै मन्त्रीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनीको तर्क छ ।

एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट मन्त्री भएकाहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न नमान्दा आफूहरूको पनि सम्पत्ति विवरण सार्वजनिक नभएपछि पत्राचार गर्नुपरेको ती मन्त्रीको भनाइ छ । 

कानुनतः प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले  नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्छ ।

यस्तो विवरण दुई महिनाभित्र राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्छ । तर, सार्वजनिक गर्न कानुनी रूपमा बाध्यकारी व्यवस्था भने छैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप