आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अन्वेषण

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : ‘ड्रिलिङ’ सुरु

प्राविधिक समस्या नआए ५–७ महिनामै पेट्रोलियम पदार्थ भए–नभएको पत्ता लाग्ने
सोमबार, २४ वैशाख २०८१, १० : ३१
सोमबार, २४ वैशाख २०८१

सुर्खेत । दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु गरिएको छ । आइतबार सङ्घ सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य उद्घाटन गरेका हुन् ।

‘ड्रिलिङ’ कार्य सुरु भएसँगै अबको ५–७ महिनामा पेट्रोलियम पदार्थ भए नभएको पुष्टि हुनेछ । ड्रिलिङको पनि विभिन्न चरण हुन्छ । पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापित भन्छन्, ‘बिचमा कुनै टेक्निकल समस्या नआएको खण्डमा अबको पाँच महिनामा पेट्रोलियम पदार्थ छ वा छैन भन्ने कुराको पुष्टि हुनेछ ।’

यद्यपि बिचमा टेक्निकल समस्या आएको खण्डमा केही ढिलाइ हुने आशङ्का गरिएकाले यो कामको समयावधि एक वर्ष राखिएको छ । प्राविधिक परीक्षण अनुसार भैरवी गाउँपालिका–१, जलजले क्षेत्र एक नम्बरमा राखिएको ठाउँ हो । अहिले उक्त ठाउँमा ‘ड्रिलिङ’का लागि निकै ठुलो र महँगो चिनियाँ मेसिन लगेर काम थालिएको छ ।

‘ड्रिलिङ’को काम भनेको ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन, छ भने कति परिमाणमा छ भनेर देखाउने अन्तिम चरणको काम हो । ड्रिलिङ’ पहिलो चरणमा भएको ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’का आधारमा गरिन्छ । यो काम तीन चरणमध्येको सबैभन्दा कठिन र महत्त्वपूर्ण हो ।

dailekh oil drill

जलजले श्रीस्थान र नाभिस्थानको थोरै उत्तरमा पर्छ । शदिऔँदेखि ज्वाला बल्दै आएको श्रीस्थान, नाभिस्थान, पादुकाका क्षेत्रलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् भइरहेको हो । तीन वटा ठाउँमा गरिएको अध्ययनमध्ये जलजले बढी सम्भावना देखिएको ठाउँ हो । उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिनेछ । यो कामलाई अन्वेषणात्मक ‘ड्रिलिङ’ भनिन्छ । त्यसपछि मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ ।

पहिलो चरणको अन्वेषणात्मक कार्यले उक्त स्थानमा पेट्रोलियम पदार्थ हुने सम्भावना धेरै भए पनि आधिकारिक पुष्टि भएको छैन । त्यो ‘ड्रिलिङ’ को कार्य सम्पन्न पश्चातमात्रै पुष्टि हुने आयोजना प्रमुख नापित बताउँछन् । तथापि पहिलो चरणमा गरिएको अन्वेषणात्मक अध्ययनका क्रममा केही वैज्ञानिक प्रमाण र आधार फेला परेको दाबी गरिएको छ । उक्त क्षेत्रमा करिब १४ किलोमिटर दुरीमा ४५ जति ग्यास चुहावट देखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खानीहरूको उत्खनन् गरी मुलुकले अधिक लाभ लिन सक्ने बताएका छन् । तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने भएकाले खानीहरूको उत्खनन्‌ गरी मुलुकले अधिक लाभ लिन सक्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले भने, ‘पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरू पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरूको पूर्ण सम्भावनालाई खोल्न, नवीनता, विज्ञान र प्रविधिको प्रयोग गर्ने सङ्कल्पमा हामी अडिग छौँ ।’ साथै उनले भौगर्भिक विविधताले भरिपूर्ण नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्वखोज तथा अनुसन्धानले देखाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप