आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुन्छन्: मुख्यमन्त्री कार्की

सोमबार, २४ वैशाख २०८१, १८ : १०
सोमबार, २४ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाडौंमा हाछ्युँ आउँदा प्रदेशका नेताहरू अस्पताल भर्ना हुने गरेको व्यङ्ग्य गरेका छन् । विराटनगरमा सोमबार आयोजित पत्रकारिता दिवस तथा पत्रकार सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुने दाबी गरे । 

‘यस्तो तरिका अपनाउने हो भने डाइनोसर जस्तो नाश भइन्छ,’ उनले भने, ‘सङ्घीयतालाई बलियो बनाउने हो भने आदेश र परमादेशलाई भन्दै आफ्नो विवेकका आधारमा अगाडि बढ्नुपर्छ ।’ 

उनले सहमतिको सरकार गठन गर्न पनि आफू तयार रहेको बताए । ‘मुख्यमन्त्री अहिले पनि तयार छ । आउनुहोस् म खुल्ला छु । प्रदेशको समृद्धि, विकास र जनताको चाहनामा परिवर्तन गर्ने कुरामा एकरूपता दिएर अगाडि बढौँ,’ उनले भने । उनले श्रमजीवी पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकार लाग्ने बताए । उनले कोशी प्रदेश आमसञ्चार विधेयक पारित गर्न सरकार तयार रहेको उनले बताए ।

सो अवसरमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले लोकतन्त्र र गणतन्त्र ल्याउन पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । 

कार्यक्रमको अवसरमा अग्रज पत्रकारहरू मोरङका अनन्तराज न्यौपाने, उदयपुरका महेश्वर चाम्लिङ राई, धनकुटाका रमेशचन्द्र अधिकारी, झापाका भीम नेम्वाङ र सुनसरीका पिबी दियालीलाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरिएको थियो । 

प्रत्येक वर्ष पत्रकारिता दिवसको अवसर पारेर प्रदेश सरकारले उक्त पुरस्कार अग्रज पत्रकारहरूलाई समर्पण गर्दै आएको छ । कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी पौडेल, पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यबहाक अध्यक्ष लवदेव ढुंगानालगायत कर्मचारी तथा सञ्चारकर्मीहरू सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप