आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जगदम्बा स्टिललाई तत्काल प्रदूषण नियन्त्रण गर्न संसदीय समितिको निर्देशन (तस्बिरहरूसहित)

‘पैसा कमाउनका लागि कसैको जीवन लिने अधिकार तपाईंहरूलाई छैन’
आइतबार, २३ वैशाख २०८१, २१ : ४१
आइतबार, २३ वैशाख २०८१

बारा । बारा–पर्सा औद्योगिक करिडोरको सबैभन्दा ठुलो फलामजन्य उद्योग जगदम्बा स्टिललाई तत्काल प्रदूषण नियन्त्रण गर्न संसदीय उपसमितिले निर्देशन दिएको छ । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उद्योगहरूको अध्ययन, अनुगमन उपसमिति संयोजक रेखा यादवले जगदम्बा स्टिललाई तत्काल प्रदूषण नियन्त्रण प्रक्रियामा जान निर्देशन दिएकी हुन् । उनी नेतृत्वको संसदीय टोलीले आइतबार उक्त उद्योगको अनुगमन गरेको थियो ।

jagadamba-samsadiya-team (3)

‘पैसा कमाउनका लागि कसैको जीवन लिने अधिकार तपाईंहरूलाई छैन, तपाईंहरूले कसैको जीवन खोस्न पाउनुहुन्न,’ उपसमिति संयोजंक यादवले जगदम्बा उद्योगका प्रतिनिधिप्रति आक्रोशित हुँदै भनिन्, ‘अहिले भर्खरै स्थलगत अनुगमनका क्रममा आफ्नै आँखाले प्रत्यक्ष देखेको प्रदूषणको कुरालाई हामीले बोल्नैपर्छ, तपाईंहरूले होइन भनेर हामीले पत्याउँदैनौँ, हाम्रो रिपोर्टमा यो कुरा जान्छ ।’

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उद्योगहरूको अध्ययन, अनुगमन उपसमितिले जगदम्बाले अतिक्रमण गरेको पर्सा राष्ट्रिय निकुञ्जको जग्गा र ५० औँ वर्ष पुरानो भाङ्ग्रे खोलाको समेत स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमन पश्चात उपसमिति संयोजक यादवले जगदम्बा स्टिलबाट निस्किएको प्रदूषण र लेदो पानी तत्काल नियन्त्रण गर्न निर्देशन दिएकी हुन् । उनले उद्योगभित्र स्थलगत अनुगमनको क्रममा मजदुरहरूले हेलमेट, जुत्ता लगायतका सुरक्षा सामग्री प्रयोग नगरेको पाइएको बताइन् । ‘उद्योगभित्र भट्टीमा काम गर्ने मजदुरहरूले हेलमेट, जुत्ता, पञ्जा लगायत सुरक्षा साधनहरू लगाएका थिएनन्, उद्योगमा मजदुरहरूलाई सुरक्षा सामग्री लगाउन उद्योगले बाध्य पार्नुपर्छ,’ यादवले भनिन् ।

jagadamba-samsadiya-team (4)

उद्योग छेउको मध्यवर्ती क्षेत्रका सबै रुखहरू सुकेको, उजाड भएको अवस्था आफूहरूले प्रत्यक्ष देखेको भन्दै उनले प्रदूषण नियन्त्रण गरेको छु भनेर उद्योगका तर्फबाट भनिएको कुरालाई पत्याउन नसकिने बताइन् ।

अनुगमनको क्रममा उद्योगहरूले आफ्नो बदमासीलाई जबरजस्ती सकरात्मक देखाएर प्रस्तुत गर्न नहुने उपसमितिको ठहर छ । सङ्घीय सांसदसमेत रहेकी यादवले भनिन्, ‘जुन ठाउँमा उद्योग बस्छ, त्यस ठाउँमा उद्योगले रोजीरोटी दिन्छ भन्ने उद्देश्यले नै उद्योग बसाउन दिइन्छ तर, त्यसका लागि पनि स्थानीयवासीहरूको स्वास्थ्यको लागि कसले सोचिदिने ? त्यो उद्योगीहरूको दायित्व होइन ?’

करिडोरको जगदम्बा स्टिलमा छिटफुट बाहेक अधिकांश कर्मचारी, मजदुर, प्राविधिक भारतीय छन् । यादवले नेपालीहरूलाई तालिम दिएर भए पनि ती काममा लगाउन सकिने तर उद्योगले त्यसतर्फ ध्यान नदिएको गुनासोसमेत गरिन् ।

jgadamba-samsadiya-team (1)

उद्योगभित्र मजदुरहरूको सुरक्षालाई ध्यान दिन उपसमिति सदस्य गणेश पराजुलीले ध्यानाकर्षण गराए । जगदम्बा स्टिल अनुगमन पश्चात सरोकारवाला निकायहरूबिच भएको छलफलमा स्थानीय पालिकाका वातावरण प्राविधिक कर्मचारीहरूलाई उद्योगले भित्र प्रवेश गर्न नदिएको विषयमा समेत समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘सरकारी कर्मचारीले उद्योगमा अनुगमन गर्न नपाउने, केही भयो भने सिधा माथि कल जान्छ, माथि कल गरेर तलको मजदुरको ज्यान लिन पाइन्छ ?’ सदस्य पराजुलीले भने, ‘स्थानीय तहले उद्योगभित्र अनुगमन गर्न पाउनुपर्छ ।’

jgadamba-samsadiya-team (2)

अनुगमन समितिका अर्का सदस्य लक्ष्मी महतो कोइरीले उद्योग सञ्चालकले वरपरको वातावरण र त्यहाँको नागरिकलाई हेर्नुपर्ने बताए । ‘यो हाम्रो मानवीय नियम पनि हो, यति यहाँहरूले पालना गरिदिनुस्,’ उनले भने । आइतबार जगदम्बा स्टिलको स्थलगत अनुगमन गर्न आएको संसदीय अनुगमन टोलीले अशोक स्टिल, हामा आईरन र २ वर्षदेखि बन्द रहेको साःख स्टिलको समेत अनुगमन गरेको छ ।

अनुगमनको क्रममा जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेलले उद्योगभित्र पार्किङ, शौचालयको व्यवस्थापन र मजदुरहरूलाई सुरक्षा सामग्री प्रयोग र उद्योगभित्र हुने मानवीय क्षतिको घटनामा उद्योगीहरूले चरम लापरबाही गरेको गुनासो सुनाए ।

उनले उद्योगहरूले २/२ वर्षमा अनिवार्य गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन करिडोरका कुनै उद्योगले पेस नगरेको बताए ।

jgadamba-samsadiya-team (3)jgadamba-samsadiya-team (4)jgadamba-samsadiya-team (5)jgadamba-samsadiya-team (6)jgadamba-samsadiya-team (7)jgadamba-samsadiya-team (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप