आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय दलको बैठक

सत्ता गठबन्धन छाड्न माधवलाई आफ्नै सांसदहरूको दबाब

सोमबार, २४ वैशाख २०८१, २० : ३२
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का बहुमत सांसदहरूले सत्ता गठबन्धनबाट बाहिर निस्कन पार्टी अध्यक्ष माधवकुमार नेपालाई दबाब दिएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सो पार्टीको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले सत्ता गठबन्धनबाट बाहिरिनु नै पार्टी हितको पक्षमा हुने धारणा राख्दै पार्टी अध्यक्ष नेपाललाई यस्तो दबाब दिएका हुन् । 

बैठकमा बोल्ने केही सांसदले भने यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । 

झण्डै चार घण्टा लामो बैठकमा पार्टीका सबै सांसदलाई धारणा राख्न समय दिइएको थियो । एकीकृत समाजवादीका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १८ सांसद रहेका छन् ।

आफ्नो धारणा राख्ने क्रममा उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले अहिलेको सत्ता गठबन्धनमा एक मिनेट पनि बस्न नहुने धारणा राखेका थिए । 

‘दलको बैठकमा बोल्ने सांसदहरूमध्ये गठबन्धन छाड्नुपर्छ भन्ने सङ्ख्या बहुमत थियो’, पाण्डेले रातोपाटीसँग भने, ‘केहीलेमात्र गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।’

मेटमणी चौधरी, प्रेम आले लगायतका सांसदहरूले पनि पाण्डेको भनाइमा समर्थन जनाएका थिए । 

सांसद आलेले सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्थाप्रति संकेत गर्दै लतारिएर गठबन्धनमा बस्न नहुने धारणा राखेका थिए । 

सबै सांसदहरूको धारणा सुनेपछि अध्यक्ष नेपालले पनि सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नभएको निष्कर्ष सुनाएका थिए । 

‘सत्ता गठबन्धनभित्र विश्वासिलो व्यवहार भएको छैन । त्यो कुरा व्यवहारबाटै देखिएको छ’, अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै एक सांसदले भने, ‘सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर बसिरहेका छन् । उनीहरू धकेलिरहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्ष दिने भने त्यो पनि दिएनन् । गठबन्धनमा एमालेले आफ्नो फाइदाबाहेक केही हेरेको छैन ।’

एकीकृत समाजवादीको बैठकमा जसपा विभाजनबारे समेत चर्चा भएको थियो । ‘जसले जसपा फुटाउने भूमिका खेले केही समयपछि उनीहरूको पार्टी पनि फुट्छ । जसपा विभाजनको बाछिटा अरू पार्टीमा परे बेग्लै कुरा हाम्रो पार्टीमा पर्दैन’,उपाध्यक्ष पाण्डेले भने, ‘कुनैपनि पार्टी विभाजन हुनु राम्रो होइन ।’ केही सांसदले पत्तो नै नपाई जसपा विभाजन भएको र आफ्नो पार्टी समेत विभाजन र समीकरण बदल्ने हल्ला चलेको भन्दै पार्टी एकढिक्का भएको सन्देश दिनुपर्ने बताएका थिए । 

जवाफमा अध्यक्ष नेपालले अर्को समीकरण बनाउन खोजेको र कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबिच वैकल्पिक समीकरण बनाउन कुनै छलफल नभएको प्रस्टीकरण दिएका थिए । 

‘शेरबहादुर देउवा, उपेन्द्र यादव र मबिच कुनै वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन । बाहिर चर्चामा आए जसरी अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला पनि निराधार र गलत हो’, नेपालको भनाइ थियो ।

उनले सत्तारुढ केही अविश्वास र समस्या भएपनि छलफल गरेर समाधान गर्नसकिने बताएका थिए ।

संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी गरेको विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन् । ‘यसबिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसद्को आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप