शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

समस्याग्रस्त अर्थतन्त्रमा देखियो सुधारको दुई सङ्केत

विदेशी मुद्राको सञ्चितिमा सुधार, बढ्यो रेमिट्यान्स आप्रवाह
सोमबार, २७ असार २०७९, १९ : ५६
सोमबार, २७ असार २०७९

लामो समयदेखि समस्याग्रस्त अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार अर्थतन्त्रमा सुधारका दुई वटा सङ्केत देखिएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले सुधारको सङ्केत देखाएको हो ।

यद्यपि, अर्थतन्त्रका अधिकांश सूचक भने अझै नकारात्मक स्थितिमा छन् । तर यस अवधिमा विदेशी मुद्राको सञ्चिति र रेमिट्यान्स (विप्रेषण)को आप्रवाहमा भने सुधारको सङ्केत देखिएको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । जेठ महिनामा मात्रै नेपालमा विदेशी मुद्राको सञ्चिति २९ अर्ब ९६ करोड रुपैयाँले बढेको छ । जसले, लामो समयदेखि ‘स्ट्रेस’मा अर्थतन्त्रलाई राहत दिलाएको छ ।

यसअघि, चालू वर्षको १० महिनाको अवधिमा नेपालमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो । १० महिनाको अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब २८ करोड थियो । जुन, जेठ महिनाको अन्त्यसम्ममा झण्डै ३० अर्ब रुपैयाँले सुधारिएको हो । ११ महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यद्यपि, चालू वर्षको ११ महिनाको समग्र अवधिमा भने १५.९ प्रतिशतले खुम्चिएको छ ।

विदेशी मुद्राको सञ्चिति सुधारिएसँगै नेपालको वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि सुधारिएको छ । जसले नेपाली अर्थतन्त्रलाई केही राहत दिलाएको छ । चालू वर्षको ११ महिना अर्थात जेठ महिनासम्ममा आइपुग्दा विदेशी मुद्राको सञ्चिति ७.५३ महिनाको वस्तु आयात धान्न सक्ने स्थितिमा पुगेको छ । जुन, वैशाख महिनासम्मको अवधिमा ७.३४ महिनाको मात्रै वस्तु आयात धान्न सक्ने स्थिति थियो ।

यसैगरी, अर्थतन्त्रमा देखिएको दोस्रो सुधारको सङ्केत रेमिट्यान्सको आप्रवाह हो । चालू वर्षको ११ महिनाको अवधिमा नेपालमा विदेशबाट ९ खर्ब ४ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको छ । जुन, ३.८ प्रतिशतको वृद्धि हो । नेपालको अर्थतन्त्र धानिरहेको रेमिट्यान्सको आप्रवाह लामो समयदेखि ऋणात्मक अवस्थामा गएको थियो । जुन, वैशाख महिनामा ०.३ प्रतिशतले सुधारिँदै लयमा फर्कने सङ्केत गरेको थियो ।

यद्यपि, अघिल्लो वर्षको ११ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १२ प्रतिशतभन्दा धेरैले बढेको थियो । त्यसको तुलनामा यो वर्षको ११ महिनामा बढेको रेमिट्यान्सको परिमाण न्यून भएपनि यो सुधारको सङ्केत हो । यसैगरी, यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह १.५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड डलर पुगेको छ ।

खासगरी, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै रेमिट्यान्स आप्रवाह पनि बढेको हो । यस अवधिमा नेपालबाट वैदेशिक रोजगारीका क्रममा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २०८ प्रतिशतले बढेको छ । जुन, गत वर्षको यही अवधिमा ५२ प्रतिशतले घटेको थियो । विश्व अर्थतन्त्र कोभिड महामारीको प्रभावबाट बाहिरिने क्रम बढेसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ह्वात्तै बढेको हो । चालू वर्षको ११ महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५९ हजार जना वैदेशिक रोजगारीमा गएका छन् । यस्तै, यस अवधिमा ३ लाख १३ हजार जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

ऋणात्मक रहेका सूचक

यी दुई वटा सूचकमा सुधारको सङ्केत देखिए पनि अर्थतन्त्रका अन्य सूचक भने अझै ऋणात्मक स्थितिमा छन् । यतिबेला नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर स्थितिमा पुगेको छ । २०७८ असार मसान्त यता मात्रै अमेरिकी डलर नेपाली मुद्राको तुलनामा ८.०७ रुपैयाँले महँगिएको छ । यसबाट नेपालको वैदेशिक भुक्तानीमा प्रत्यक्ष प्रभाव पर्छ ।

यसैगरी, चालू वर्षको ११ महिनाको अवधिमा मुद्रास्फीति बढेर ८.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशतमा सीमित थियो । यस आधारमा चालू वर्षमा महँगी गत वर्षको भन्दा दोब्बरले बढेको छ । यसैगरी, यस अवधिमा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मूल्य ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवाको मूल्य ९.४४ प्रतिशत बढेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको मूल्य २२.६० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११.२२ प्रतिशत, सुर्तीजन्य पदार्थको मूल्य ९.७० प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ९.६८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि ९.१३ प्रतिशत छ । साथै, यातायातको मूल्य वृद्धि २५ प्रतिशत, शिक्षा क्षेत्रको मूल्यवृद्धि ११ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

यस्तै, ११ महिनाको अवधिमा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले बढेर .१ खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ । यसैगरी, ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्सको आयात शीर्ष स्थानमा छ ।

चालु खाता करिब ६ खर्बले घाटामा

समीक्षा अवधिमा चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ११ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३२.९ प्रतिशतले कमी आई ९ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७.१ प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप