शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाठ्यपुस्तक विना सामुदायिक विद्यालयमा परीक्षा

शनिबार, ०७ साउन २०७९, १२ : ३१
शनिबार, ०७ साउन २०७९

सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् ।

जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहले बताए । उनका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइरहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।    

विद्यार्थीहरु पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरूले बताए । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका नव जनजागरण नमूना मावि बागमती नगरपालिका–८ का प्रधानाध्यापक ध्रुव पोख्रेलले जानकारी दिए । उनका अनुसार कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन् ।

त्यस्तै निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक नआइपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयमा अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको विद्यालयहरूले बताएका छन् ।    जिल्लामा ५५६ सामुदायिक विद्यालयमा ८६ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको उक्त इकाइले  जनाएको छ । प्राथमिक तहका करिब सबै पाठ्यपुस्तक आए पनि आधारभूत तह र माध्यमिक तहको विभिन्न विषयका पाठ्यपुस्तकहरू नआएको उक्त इकाइका  निमित्त प्रमुख कुशवाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप