बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी नेतालाई प्रश्न : रुख र कलममा भोट हाल्न कति सहज ?

बिहीबार, ०३ कात्तिक २०७९, ०९ : ५८
बिहीबार, ०३ कात्तिक २०७९

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव डिलाराम आचार्यले गठबन्धनमा आबद्ध दलहरूका बीचमा एक अर्कालाई मतदान गर्न समस्या नहुने बताएका छन् । सचिव आचार्यले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरूका बीचमा एक अर्कालाई मतदान गर्न समस्या नहुने बताएका हुन् । 

उनले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको टिप्पणी गरे । उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरू गुम्ने अवस्थामा पुगेपछि गठबन्धन गरिएको भन्दै गठबन्धनका दलहरूको चुनाव चिन्हमा भोट हाल्नका लागि आफूहरूले आह्वान गर्ने बताए । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले भने, ‘हामीले हँसिया हथौडामा भोट हालेका मान्छेलाई कलम, रुख अथवा अरू चिन्हमा भोट हाल्न अप्ठ्यारो त होला तर पनि यो त राजनीतिक लडाइँ हो । आखिर यस खालको मोर्चाबन्दी जुन बनेको छ, निश्चित राजनीतिक उद्देश्यको निम्ति बनेको छ । यस खालको मोर्चाबन्दी बन्नुको पछाडि प्राप्त उपलब्धिहरू गुम्ने अवस्थामा पुगिसकेपछि हामीले काँग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेका हौँ । त्यही गठबन्धनको निरन्तरतामा प्रतिगामी शक्तिहरूको विरुद्धमा जुन गठबन्धन बनेको छ, यसको पक्षमा हामीले रुख, कलम, गिलास अथवा अरू कुनै चिन्हमा जहाँ हाम्रो गठबन्धन हुन्छ त्यसमा भोट हाल्नको निम्ति हामीले हाम्रा कार्यकर्ताहरूलाई आह्वान गर्छौँ । जनताको तहमा गएर हामी यसरी भोट किन हाल्ने ?’

उनले आफ्नै पार्टीका उम्मेदवार खोज्ने कार्यकर्ता र मतदाताहरूलाई गठबन्धनको उम्मेदवार नै आफूहरूको उम्मेदवार हो भनेर बुझाउने बताए । उनले भने, ‘गठबन्धन भइसकेपछि हाम्रो उम्मेदवार कुनै ठाउँमा रुख चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । कलम चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । र हाम्रो आफ्नो हँसिया हथौडाको चिन्ह लिएको उम्मेदवार पनि अरू दलको पनि उम्मेदवार हो भनेर जुन गठबन्धनको स्प्रिट छ, त्यो स्प्रिट अनुसार हामीले हाम्रा कार्यकर्ताहरूमार्फत समग्र मतदाताहरूलाई स्पष्ट पार्ने कोसिस गर्छौँ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतिगमनकाविरुद्ध अग्रगामीहरूको विचार, उद्देश्य र नीतिसहितको गठबन्धन भएकाले एक अर्कालाई भोट हाल्ने बताए । जहाँ जुन पार्टीको उम्मेदवार भए पनि निर्धक्कसँग भोट हाल्न पार्टीले आह्वान गर्ने उनको भनाई छ । उनले जुन पार्टीको भए पनि गठबन्धनको उम्मेदवार आफूहरूको उम्मेदवार हुने स्पष्ट पारे । समानुपातिकमा भने आ–आफ्नो पार्टीलाई मत मागिने उनले बताए । उनले भने, ‘कलम र रुखमा भोट भोट हाल्ने भन्ने कुरो मुद्दाको आधारमा हो । प्रतिगमनको विरुद्ध अग्रगामीहरूको यो गठबन्धन हो । गठबन्धन एउटा विचारसहितको, उद्देश्य, नीति कार्यक्रम सहितको भएको हुनाले गठबन्धनमा आबद्ध जति दलहरू छन् । जो–जो, जहाँ उम्मेदवार परेका छन्, त्यहाँ हामी निर्धक्कसँग भोट हाल्नुहोस् भनेर हामीले आह्वान गर्छौँ जनतालाई । जनताले मान्छन् । किनभने हामी घर–घरमा जान्छौँ । कन्भिन्स गर्छौँ । कार्यकर्तालाई कन्भिन्स गर्छौँ । यो प्रतिगमन विरोधी गठबन्धन हो ।’

माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य रामप्रसाद न्यौपाने अर्को दलको चुनाव चिन्हमा मतदान गर्नु बाध्यता भएको बताए । उनले भने – ‘पार्टीको सिद्धान्त आ–आफ्नो ठाउँमा छ । राष्ट्रिय रक्षा, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाको निम्ति गठबन्धन गरेको कारणले गर्दा खेरी गठबन्धनका साझा उम्मेदवारहरू उठाइएको छ । ती गठबन्धनका साझा उम्मेदवारहरू अहिलेको आवश्यकता अनुसार एक अर्कालाई मतदान गर्नुपर्ने छ । यो अहिलेको आवश्यकता हो । खुसी नहुँदा नहुँदै पनि, चाहना नहुँदा नहुँदै पनि वर्तमान परिस्थिति र समयलाई ध्यानमा राखेर यो अवस्थामा जान बाध्यता हो । गठबन्धनको आवश्यकता र बाध्यता हो भनेर हामीले बुझेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप