शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय

पोखराको प्याराग्लाइडिङ: अझै खुलेन ‘सोलो’ उडान

शनिबार, १२ कात्तिक २०७९, १३ : ३२
शनिबार, १२ कात्तिक २०७९

पोखराका आकाशमा असोज ३० गतेदेखि बन्द भएको प्याराग्लाइडिङ अन्तर्गत ‘सोलो’ उडान अझै खुलेको छैन ।  नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत असोज ३० गते सराङकोटमा त्रिभुवन आर्मी क्लबका निसिम थापाको प्रतियोगिताकै क्रममा मृत्यु भएपछि सोलो उडान १५ दिनदेखि ठप्प छ । 

दुर्घटनापछि सोही दिन नागरिक उड्डयन प्राधिकरणले सुरक्षा जोखिम भन्दै पोखराको आकाशमा अनिश्चितकालका लागि प्याराग्लाइडिङलाई बन्द गर्‍यो । यसको चौतर्फी विरोधपछि उच्चस्तरीय छानबिन समितिले एक साताअघि व्यावसायिक उडान गर्न अनुमति दिए पनि सोलो उडान भर्ने अनुमति दिएको छैन । यसको प्रत्यक्ष असर पोखराबाट सोलो उडान भर्न चाहने पर्यटकलाई परेको छ । 

करिब दुई दशक अघि सोलो उडानबाट नै सुरु भएको पोखराको प्याराग्लाइडिङ बन्द भएपछि पर्यटन व्यवसायीहरूले प्राधिकरणको अनभिज्ञताले पर्यटन क्षेत्रलाई १० वर्षपछि सार्ने काम भएको बताउँछन् । यसअघि पोखरा–१८ सराङकोट बाहेक नजिकैको तोरीपानीबाट उडान हुन्थ्यो । सो क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निश्चित उचाइ र दूरी (बक्स) तोकिदिएको छ । सोही बक्सभित्र रहेर उडान सञ्चालन गर्न पाइन्छ । तर, प्याराग्लाइडिङ गर्ने पाइलटहरूले सो क्षेत्रभन्दा बाहिरबाट प्याराग्लाइडिङ उडान गर्न थालेपछि सोलो उडान बन्द गर्नुपरेको प्राधिकरणका एक कर्मचारी बताउँछन् । उनले भन्छन्, ‘नियम विपरीत उडान हुन थाले । यसले जोखिम दिनप्रतिदिन थपियो । यसले भोलिका दिनमा फेरी अप्रिय घटना नहोला भन्न सकिँदैन । यस कारण अहिलेलाई सोलो उडानका लागि निश्चित मापदण्ड पूरा नभएसम्म बन्द हुन्छ ।’

सोलो उडानमा पाइलटहरुले बक्स छाडेर उडाउने केही पर्यटन व्यवसायीहरू स्वीकार्छन् । तर, नियमन गर्नुको सट्टा बन्द नै गर्नु जायज नभएको उनीहरूको तर्क छ । सोलो उडानमा पाइलटले प्याराग्लाइडिङलाई फनफन्ती उडाउने, तोकिएको आकाशको क्षेत्र नाघेर उडान भर्दा दुर्घटना हुने सम्भावना उच्च रहेको छ । 

टेन्डम र सोलो उडान एक ठाउँमा हुँदा भिडभाड पनि बढाउने  भएकाले प्राधिकरणले व्यवसायीलाई मर्का नपर्ने गरी सोलो उडान बन्द गरेको प्राधिकरणको भनाई छ । सोलो उडान गर्नेहरू टेकअफ र टेकअन एक ठाउँमा गर्दा जोखिम उत्तिकै थियो । यसमाथि तोरीपानीबाट टेकअफ गरेका पाइलट पनि सराङकोटकै आकाशमा आउने भएकाले ट्राफिक जाम हुने गरेको स्वयम् पाइलटहरू बताउँछन् ।

नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका सचिव हरि गिरीका अनुसार प्राधिकरणको निर्णयले पर्यटन र राजस्व दुवै क्षेत्रमा मर्का परेको बताए । ‘पर्यटक आउने भनेको मनोरञ्जन गर्न हो । बाघ कराएको बाख्रा हराएको एकै चोटि भयो । क्यानलाई राजस्व घाटा लाग्छ । होटल व्यवसायमा घाटा पुग्छ,’ उनले भने, ‘विशेष गरी विदेशीहरू सोलो उडानकै लागि नेपाल घुम्न आउँछन् । अब त्यो बन्द हुने  विन्दुमा पुग्यो ।’

उनले प्याराग्लाइडिङ स्कुलहरू पनि बन्द हुने अवस्थामा पुगेको बताए । ‘पाइलट बन्न चाहनेका लागि  स्कुलहरू बन्द हुने अवस्थामा पुगे । अब कि धरान जानुपर्‍यो कि बन्दीपुर जानुपर्‍यो हैन भने ती स्कुलहरू बन्द गरेर बस्नुपर्छ । विकल्प दिन नयाँ ठाउँमा गन्तव्य खोज्नुपर्‍यो ।’ उडानमा रेस्क्यु प्रयास अन्तर्राष्ट्रियस्तरमै नभएकाले यसलाई कार्यान्वयन गर्न कठिन रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए ।

‘दुर्घटनाको त्रास त थियो । विदेशी पाइलटहरू पोखराको आकाशमा उडान भर्न आउने थिए । त्यो असर होटल व्यवसायीलाई पर्ने देखिन्छ । यसले राजस्वदेखि विभिन्न क्षेत्रमा असर त पर्ने नै भयो,’ सोलो उडानको विकल्प दिनेबारे प्राधिकरणसँग छलफल भइरहेको उनले सुनाए । 

पोखराका पर्यटन व्यवसायी तथा अधिवक्ता गणेशबहादुर थापाले प्याराग्लाइडिङ बन्द हुँदा र खुल्दा अहिलेसम्म सर्त नखुलेकाले प्राधिकरणको गम्भीर त्रुटि भएको बताउँछन् । उनले कुन नियतले बन्द भयो र कुन नियतले फेरी व्यावसायिक उडान भयो भन्दै प्रतिप्रश्न गरे । उनले सोलो उडान र व्यावसायिक उडान एकै ठाउँमा हुँदा जोखिम बढेकाले सोलो उडानको विकल्प दिनुपर्ने बताए । ‘लाइसेन्स भएको ड्राइभर र सिकारु चालकले एकै ठाउँमा गाडी चलाउँदा दुर्घटना हुने जोखिम हुन्छ । यस कारण सोलो उडान अन्यत्रै सार्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप