कथा : रातको उपहार
अजीव मानिस हुन् शार्दूलसिंह ।
देशको निम्ति उसको गर्जना शार्दूलमय छ । मातृभूमिको माटोको निम्ति उसको वफादारी तारिफयोग्य छ । राष्ट्रवादको गर्जना सिंहतुल्य भएकाले सायद उसलाई शार्दूलसिंह नाम दिइएको होला । उसलाई आफ्नो नाम अति मन पर्छ ।
हुन त उसको न्वारानको नाम यो होइन । न्वारानको नाम शालिकराम हो । हाइस्कुल पढ्दाका वखत नेपाली गुरुले शालिकको अर्थ लुगाकपडा बुन्ने मानिस हुन्छ भनी बताइदिए । त्यसपछि उसको मनमा शालिकराम नामप्रति नफरत हुन थाल्यो । कक्षा– नौको राजिष्ट्रेशन फाराम भर्ने बेलामा नाम परिवर्तन गरेर शालिकरामबाट शार्दूलसिंह बन्यो ऊ । शार्दूलको अर्थ पहिचान गरेरै उसले आफूलाई शार्दूलसिंह बनाएको थियो ।
उसको मनमा हमेशा “म नर–शार्र्दूल हुँ !! नर–शार्दूल !!!” भन्ने एक अह्मको सूक्ष्मभाव हमेशा गुञ्जिरहन्छ । तर, उसको जीवनमा काफी विरोधाभाष छन् ।
ती सूक्ष्म विरोधाभाषलाई उसकी पत्नीले मात्र थाहा पाएकी छिन् ।
भारतले वेला–वखत सीमा मिच्ता होस् या नाकावन्दी लगाउँदा होस्, उसले त्यसको डटेर विरोध गर्‍यो । कसैबाट राष्ट्रको नूर गिराउने काम हुने वित्तिकै उसको फेसबुक वालमा कडा भन्दा कडा भत्सर्नाका शब्दावली पढ्न पाइन्छ ।
उसको स्टाटस् पढ्दा यस्तो लाग्छ, मानौँ ऊ भन्दा अब्बल राष्ट्रवादी अर्काे कोही व्यक्ति छैन । र, देशभक्तिको नारा दिन मानौँ उसकै ठेक्का भित्र परेको विषय जस्तो लाग्छ ।
गीत पनि देशभक्तिकै गीत सुन्न उसलाई बढी चासो रहन्छ । तर, गायक चैँ उतैको मन पराउँछ ।
श्रीमती र उसको वीचमा गीत बजाउने मामिलामा विवाद पर्छ ।
एकदिन उसकी पत्नीले गोपाल योञ्जनको गीत बजाइन् ।
गीत घन्किन थाल्यो–
“देशले रगत मागे मलाई वली चढाउनू
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी,”
यो गीत बजी नसक्तै स्क्रीनमा यो गीत बन्द गरेर उसले चाँद कादरीको कब्बाली लायो–
“मेरी जान जाए वतनले लिए
चमन चाहता हुँ
तिरंगा उडाना कफन के लिए’
चाँद कादरीको आवाजले ऊभित्र एक उमङ्ग भर्दछ । ऊभित्र एक उत्तेजना भर्दछ । पत्नीलाई लोग्नेको विरोधाभासी बानी व्यहोरा त्यति मन पर्दैन ।
“तपाईं खुव राष्ट्रवादको डम्फू बजाउनु हुन्छ । तर, तपाईंलाई गोपाल योञ्जनको स्वर मनपर्दैन । चाँद कादरी चाहिन्छ । तपाईंलाई अरुणा लामा मन पर्दैन । लता मंगेशकर र आशा भोस्लेको आवाजले मोहनी लाउँछ । यो कस्तो खालको राष्ट्रवाद हो तपाईंको ।”
“तिमी कुरा बुझ्दिनौ कि लाटी ! स्रष्टा–सर्जकहरु कुनै देशको सीमाभित्र कैद हुँदैनन् क्या ! उनीहरुका दर्शक, स्रोता र पाठक संसारभरि छरिएका हुन्छन् । आइन्स्टाइनलाई मन पराउने जर्मन नै हुनुपर्छ ? शेक्सपियरलाई माया गर्न अंग्रेजै हुनुपर्छ र ?”
.....
भारतले पछिल्लो समय आफ्नो नक्सा जारी गर्दा नेपाली भूभागका महाकाली, लिपुलेक र लिम्पियाधुरा आफ्नो कित्तामा पारेर नक्सा झिक्यो । त्यस अघि विषादीयुक्त तरकारीका ट्रकहरु विना रोकटोक नेपाल छिराउन दवाव दियो । त्यस अघि झण्डै छ महिना नाकावन्दी लायो । नेपालीहरुले नेपालको संविधान जारी गरेको कुरामा रुष्ट भएर औषधि सम्मका अत्यावश्यक वस्तुहरुको आयातमाथि प्रतिवन्ध लायो । त्यस अघिको खुर्दलोटन बाँध होस् या लक्ष्मणपुर वाँध होस् या खाँडो नदीमा कसिएको वाँध होस्, सबै घटना प्रकरणमा निडरताका साथ शार्दूलसिंहले विरोध र विद्रोहका स्वरहरु मुखरित गर्‍यो ।
भारतले थिचोमिचो गर्दाका हरेक प्रकरणमा उसको आपत्ति र विरोध अभियान तारिफयोग्य छ । सडकमा भाषण गर्नेदेखि सामाजिक सञ्जालमा राष्ट्रवादी स्टाटस् पोष्ट गर्ने कुरामा ऊ अग्रणी छ ।
चिया पसलमा, हाटबजारमा ऊ राष्ट्रवादको विषयमा घण्टौँ वहस गर्न सक्छ । तर, पत्नीको मनमा उसको कथित राष्ट्रवादप्रति हमेशा सन्देह जाग्छ । बेला बेलामा प्रश्नचिन्ह पनि खडा गर्छिन् । ठड्याङ् ठुडुुङ पनि पर्छ ।
कुनै कुराको अर्थ झिक्न र तर्क दिन ऊ भन्दा सिपालु को होला र ? फेरि उसकी पत्नी कुन्ताको लिँडेढिपी गर्ने बानी पनि छैन ।
कतिपय अवस्थामा “आ ऽऽ यिनको बानी यस्तै हो” भनेर चुपचाप बसिदिन्छिन् ।
प्रातःकालीन समयमा उसकी पत्नी भक्तराज आचार्यका भक्तिगीत बजाउन खोज्छिन् । ऊ त्यसलाई बन्द गरेर अनुप जलोटा घन्काउँछ । यस विषयमा पनि एक दुईचोटि विवाद नभएको होइन ।
उसले त्यतिखेर पनि भनेकै हो– “राष्ट्रवादी हुनु र आफ्नो भित्री हवीको कुरा अलग अलग विषय हुन् प्रिय ! गायकहरु, लेखकहरु, कविहरु, वैज्ञानिकहरु एउटा देशको सीमामा कैद हुँदैनन् । उनीहरुलाई संसारका कुना कुनामा बस्ने जो कोहीले मन पराउन सक्छन् । राष्ट्रवादीले पनि मन पराउन सक्छन् । न राष्ट्रवादीले पनि मन पराउन सक्छन् ।”
शार्दूलसिंहले राजेश हमाल र सरोज खनालको सिनेमा हेरेको थाहा छैन कुन्तालाई । अभिताभ वच्चनलाई जति सुरुचिपूर्वक हेर्छ; नेपाली सिने–कलाकारको नाम लिने वित्तिकै नाक खुम्च्याउँछ । वच्चनपछि उसका प्रिय अभिनेता हुन्– नाना पाटेकर र राजेश खन्ना ।
एकदिन राजेश खन्नाको फिलिम हेरिराखेको वखतमा पत्नीले प्याच्च भनिन्– “तपाईंलाई राजेश हमाल भन्दा राजेश खन्ना प्यारो लाग्छ । कसो नेपाल भन्दा भारत प्यारो लागेन ?”
पत्नीको यस कुराले उसको भित्री दिलमा घोच्यो क्या र ! राता राता आँखा फुकालेर हान्ने राँगोले झैँ झम्ट्यो । पत्नी प्रतिवाद नगरी भान्सातिर पसिन् । ऊ रिमोट–सिमोट फालेर चिया दोकानतिर लाग्यो ।
बाहिरी रुपमा उसको छवि दिन परदिन यो प्रखर राष्ट्रवादी युवा नेताको रुपमा स्थापित हुँदै गएको छ । तर, उसको आन्तरिक रुचि बाहिरी जगत्लाई केही थाहा छैन । उसको वैयक्तिक वानी व्यहोरा घर बाहिरको मान्छेलाई थाहा छैन । उसको स्वभाव र मनोविज्ञान अरुलाई त्यति ज्ञात छैन । बाहिरी कलेवरमा राष्ट्रवादको रङ चर्कैसित पोतिएको छ । त्यस कुराले अरुका आँखा तिर्मिराउने गरी भ्रम पैदा भैरहेको छ । तर, कुन्तासित मात्र छ, ऊप्रतिको वास्तविक ज्ञान ।
....
शार्दूलसिंह अचानक विमारी पर्‍यो ।
उपचारको लागि कहाँ लैजाने परिवारजनमा छलफल चल्यो । पत्नीले भनिन्–“विराटनगर र काठमाडौंमध्ये एक ठाउँ लैजानुपर्छ ।”
परिवारका अन्य सदस्यहरु पनि कुन्ताको विचारमा सहमत थिए ।
मधौरु अवस्थाको शार्दूलसिंहले ओछ्यानबाटै प्रतिवाद जनायो– “होइन होइन । काठमाडौं पनि होइन, विराटनगर पनि होइन । मलाई सिधै पटना लग पटना । पहिले पनि पटनामै निको भएर आएको हुँ ।”
उसको कुराले परिवारजन अरगज्ज परे । काठमाडौं, विराटनगर भाषाको सहजता । अन्य इष्टमित्र सहयोगी–जन प्रशस्त भएको ठाउँ । साह्रोगाह्रो हुँदापनि आफन्तले मद्दत गर्ने ठाउँ । त्यसमाथि आफ्नो देश, यी अनेक सहजता र सजिलोले काठमाडौं या विराटनगर भनिरहेका छन् । ऊ भने मानिरहेको छैन ।
“मलाई नेपालका डाक्टरको विश्वासै छैन । यिनीहरुले रोगै पत्ता लगाउन सक्तैनन् ।” उसको लिँडेढिपीका अगाडि सबैले हार खानुपर्‍यो ।
उसको मनोविज्ञानमै पटनाको उपचारले ठीक हुन्छ भन्ने भएपछि अन्त लगेर काम छैन । जसरी हुन्छ पटना लगेर उपचार गर्ने निष्कर्ष निकालियो ।
नभन्दै पटना लगेर उपचार गरेको दश दिनमा ऊ सन्चो भएर घर आयो ।
....
नेपाल राष्ट्रको अहोरात्र सपना–जपना देख्छ । तर, नेपालको कुनैपनि कुराले उसलाई भरोसा दिन्न । रेडियो किन्न गयो भने इन्डियन नै किनेर ल्याउँछ । जुत्ता–चप्पल किन्दापनि मेड इन इन्डिया नै हेर्छ । छाता किन्न जाँदापनि इन्डियन छाता नै बलियो देख्छ । उसले नेपाली छाता अहिलेसम्म ओढेको छैन । विचित्रको विरोधाभाषी मान्छे हो ऊ । उसको वैयक्तिक पक्षको यी कुरा धेरैलाई थाहै छैन । थाहा हुने कुरा पनि होइन । मानिसको आन्तरिक रुचि, स्वभाव, चरित्र आफ्नै घरपरिवारका मान्छेलाई थोरबहुत थाहा हुन्छ, यस भन्दा बाहेकका मान्छेलाई त नगन्य कुरामात्र ज्ञात हुन्छ ।
बाहिरी दुनियाँले उसलाई एक अति भीमकाय राष्ट्रवादी नेताको रुपमा बुझेका छन् । माटोको अक्षुण्णताको लागि प्रखर–वाणी ओकल्ने वक्ताको रुपमा बुझेका छन् । देश उपर छिमेकीले गरेका हर थिचोमिचोका आवाज र स्वरहरुलाई भाइरल बनाउन उसको भगिरथ प्रयत्न रहन्छ ।
बेला न कुबेला राष्ट्रवादको शहनाई बजाइरहन खोज्नु उसलाई अति आनन्द लाग्ने कुरा हुन्छ । छोरोले एसएलसी पास गर्‍यो । क्याम्पस पढाउन मुजफ्फपुर पुर्यायो । खोई कता कताबाट तालघाट मिलायो कुन्नी । निःशुल्क छात्रवृत्ति कोटामा पढ्न पाउने बनायो ।
.....
अर्काे महिना सुसम्पन्न गर्ने गरी छोरीको विहेको टुङ्गोटाङ्गी भएको छ । एउटी छोरीको विवाह हो, बडा तामझामले नै छोरी अन्माउने विचार छ ।
विहेको तयारी किनमेलको चटारो सुरु भैसकेको छ ।
अघिदेखि नै पत्नीसित किनमेलको विषयमा गलफत्ति चलिरहेको छ ।
पत्नीले भनिन्–“किन टाढा गइराख्नु सबैचिज विराटनगरमा पाइहालिन्छ, सबै सर्दाम त्यहीँबाट लिनुपर्छ ।”
उसले प्रतिवाद जनायो–“कहाँको विराटनगर भनेकी ? जोगवनी जानुपर्छ नि ।”
“जोगवनीमा गइराख्ने झन्झट किन गर्नु वेकारमा ।”
“जोगवनीमा मालताल सबै सरसामान ओरिजिनल पाइन्छ, त्यो भएन सस्तो पनि त पाइन्छ । विराटनगरमा चाहिँ महङ्गो पनि हुन्छ, त्यसमा पनि डुब्ली–माल हुन्छ ।”
केहिवेर अडिएर फेरि दोहोर्यायो–
“मलाई नेपालका व्यापारीको विश्वासै छैन ।”
“तपाईलाई नेपालको के चिजको पो विश्वास छ र ?”
“तिमी चुप लाग । बढ्ता नबोल ।”
“तपाईंको राष्ट्रवाद मैले मानेँ, कुरामा राष्ट्रवाद काममा भने त्यसको ठिक उल्टो ।”
“म गर्छु आग्लाको कुरा तिमी गर्छेऊ गाग्राको कुरा । ओर्जिनल माल किन्ने र सस्तोमा किन्ने कुरामा पनि राष्ट्रवाद जोडिन्छ, वाहियात तर्क ।”
उसको लिँडेढिपी अगाडि कुन्ताले हार खानैपर्‍यो । छोरीको विहेमा सर्दाम किन्नपनि जोगवनी नै गए । उनी आजित छिन् । सबैले धुरन्धर राष्ट्रवादी नेताको रुपमा उसलाई चिन्छन् ।
उसको वाणीमा राष्ट्रवाद छ । शब्दमा राष्ट्रवाद छ । तर, व्यवहारमा त्यसको विपरीत गन्ध छ । बाहिरी चित्रमा राष्ट्रवाद छ । तर, भित्री चरित्र ठीक उल्टो छ ।
कतिपय उसका सन्दिग्ध क्रियाकलापहरु कुन्ताले पनि बुझ्न सक्तिनन् । अनेकन शंका र रहस्यले भरिएका व्यवहारहरुको विवेचना गर्न सकिराखेकी छैनन् ।
उसलाई घरीघरी आउने गोप्य फोनहरुमा के कुराकानी हुन्छ ? को को सित संवाद चल्छ ? कुनै भेउ पाउन सक्तिनन् । उसलाई बेला बेलामा भेट्न आउने मान्छेलाई उनी चिन्दिनन् । ती मान्छेको विषयमा सोधीखोजी गर्‍यो भने एक शब्द चुहाउन मान्दैनन् । कतिपय बेलामा मिटिङ छ भन्दै राति राति हिँड्छ, कहाँ जान्छ ? को सित मिटिङ बस्छ ? त्योपनि थाहा पाउँदिनन् ।
उसका दुईखाले जीवन व्यवहारदेखि उनी आजित छिन् । दोहोरो चरित्र कतिन्जेल टिक्छ ? अनेक चोटि प्रश्न सोध्न आँट गरेकी हुन् । यस्ता कुरा गरेपछि ऊ बाघ जस्तो झम्टिन्छ ।
उसको आवेगमा आइहाल्ने झ्वाँकी चरित्रको बारेमा पनि उनलाई पूराका पूरा थाहा छ । बढी तर्क वितर्क गर्‍यो भने आफ्नै नोक्सान हुन्छ भन्ने कुरा बुझेकी छिन् । यस्तो बेलामा आफैँ सरक्क दुई कदम पछि हट्छिन् । त्यसपछि विवाद सेलाउँछ ।
......
प्रकृतिमा शरद ऋतुले पदार्पण गरिसकेको छ । खोलानाला सङ्लिएर कञ्चन सफा बन्दैछन् । धानका फाँटको हरियाली हेर्न लायकको छ । खेतका डीलडीलमा सयपत्रीका कोपिला पुटुक्क बन्दैछन् । जूनको उज्यालोले सहर बजार गाउँघर सबै सबै ठाउँ रङ्गीन र पारदर्शी बनाएको छ ।
घर घरमा दसैँको रौनक सुरु भएको छ । बाहिर पढ्न, जागिर खान गएका युवायुवतीहरु धमाधम घर फर्किदैछन् । अरब, कोरिया र मलेसिया कमाउन गएका लाहुरेहरु पनि छिटफुट रुपमा फर्किदैछन् । शार्दूलसिंहको छोरोपनि भोलि दसैँ मान्न घर आउँदैछ ।
शार्दूलसिंह आफ्नै घरको बैठक कोठामा रिमोट घुमाइरहेको छ । उसलाई रातको एउटा हिन्दी फिल्म नहेरी निद्रा पर्दैन । फिल्मको ऊ शौखिन मान्छे हो । उहिलेदेखि नै ऊ फिल्म हेर्न जयनगर जोगवनी दरभङ्गासम्म पुगेका अनेकन् किस्साहरु छन् ।
हिन्दी फिल्मी च्यानेलमा रिमोट क्लिक गर्नु अघि जी न्यूजका केही खबरहरु सुन्यो । उसको घरमै दिनमान दैनिक पनि आइपुग्छ । नेपाली खबर पत्रिका भन्दा हिन्दी खबर पत्रिकाप्रति उसको बढी दिलचस्पी रहन्छ ।
जूनको मधुर उज्यालोमा कुन्ता घरको बाहिरी बरण्डामा काँक्रा चिरा पारिरहेकी छिन् । हरेक दसैँमा उनी बजारबाट पाकेको काँक्रा ल्याएर खल्पी हाल्छिन् । उनका दुवै छोराछोरी काँक्राको खल्पी अचार भनेपछि हुुरुक्क हुन्छन् ।
त्यसैले, सय काम छोडेर पनि दसैँको वेलामा खल्पी हाल्न भुल्दिनन् ।
सिसाका बयाममा अचार मोलेर हाल्दा हाल्दै रातको एघार बजिसकेको थियो । मूलढोका बन्द गरेर उनी सुत्ने तरखरमा लागिन् ।
शार्दूलसिंह मस्तसित फिल्म हेरिरहेको थियो । त्यसैबेला कसैले बाहिरबाट रिङ्गवेल बजायो । दुईचोटि बजाउँदासम्म त चुपै लागिन् । तारन्तार बजेपछि ढोका खोलिन् ।
बाहिर पार्सलवाला भाइ उभिएको थियो । हातमा रङ्ीगन कागजले र्यापिङ गरेको कार्टून–वक्स झुण्ड्याएको थियो ।
“यो शार्दूलसिंहको घर हो मेडम ?”
“हो ।”
“उहाँ हुनुहुन्छ ?”
“हुनुहुन्छ, भित्र हुनुहुन्छ ।”
“उहाँको यो पार्सल आइरछ । बुझाउन आएको हुँ । उहाँलाई बोलाइदिनुस् त ।”
“कहाँबाट ? के पार्सल हो यो?”
“त्यो त सबै कुरा हाम्लाई था हुने कुरा भएन, सायद काठमाडौंबाट आएको हुनुपर्छ ।”
“मैले बुझ्दा हुन्न ।”
“हुन्न, उहाँकै हस्ताक्षर हुनुपर्छ रसिदमा ।”
कुन्ता भित्र पसिन् । केही क्षणमा शार्दूलसिंह बाहिर निस्क्यो ।
“नमस्कार हजुर ”
“नमस्ते ! नमस्ते !!
“हजुरको पार्सल आएको छ । बुझी दिनुस् त ।”
उसले रसिदमा सही गरिदियो । पार्सल लिएर आउने केटो फर्केर गयो । पार्सलको कार्टुनमा एउटा खामबन्दी चिठीपनि थियो । चिठीमा उसलाई सम्वोधन गरेर दसैँको उपहारस्वरुप ह्विस्कीको कार्टुन पठाइएको व्यहोरा उल्लेख थियो । पठाउनेमा लैनचौरस्थित छिमेकी देशको दूतावासको नाम अङ्कित थियो ।
सुनसान रातको समयमा यस्तो उपहार पाउँदा ऊ खुशीले गदगद भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण