आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देश विदेश पुग्दैछन् जुम्लाका उत्पादन

आइतबार, २५ मङ्सिर २०७९, ०८ : २९
आइतबार, २५ मङ्सिर २०७९

जुम्लामा उत्पादित खाद्यान्न देशविदेशमा पुग्ने गरेका छन् । जुम्ला घर अर्ग्यानिक​ एन्ड सुपर फुड्स मार्फत स्थानीय स्तरमा उत्पादन भएका समान देशविदेशमा पुर्याइएका हुन् । 

गत वर्ष जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्यान्न क्यानडा पुर्याइएको थियो । कम्पनीका सञ्चालक राज शाहीले चितवन स्थायी घर भएका पूर्ण कँडेलसँग सहकार्य गरी जुम्ली उत्पादन क्यानडाका विभिन्न सहरमा पठाएका थिए । कँडेल लायम कर्पोरेसन क्यानडाका प्रमुख हुन् । कम्पनीले यस वर्ष १ टन सिमीको दाल र १ टन मासको दाल जापानका बजारमा पनि पठाएको छ । 

शाहीले १० किलो स्याउको चाना पनि जापान गइसकेको जानकारी दिए । उपहार र कोसेलीका रूपमा पहिले पनि जुम्लाको उत्पादन जापान र क्यानडामा पुगिरहेको छ । गत वर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात भएको कँडेलको भनाइ छ । जुम्लाघर अर्गानिक्सले कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाइरहेको छ ।

तातोपानी–४ गिडीखोलाका ऋषिराम पाण्डे पनि गत भदौ १२ मा थाइल्यान्ड जाँदा झन्डै एक टन स्याउका चाना र खरायोको ऊनबाट बनेका एक सय टोपी लिएर गएका थिए । एसियन क्रेडिट युनियन फर्म–२०२२ मा भाग लिन जाँदा आफूले थाइल्यान्डको बैंककमा जुम्लाका उत्पादन कोसेलीका रूपमा लगेको उनको भनाइ छ । 

जुम्लाका हरेक उत्पादनको माग विदेशमा तीव्र भए पनि बर्सेनि उत्पादन घट्दै जानु र व्यावसायिक उत्पादन नहुनु विडम्बना भएको उनले बताए । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ । गत वर्ष पनि ४० क्विन्टल जुम्ली मार्सी चामल अमेरिका पठाइएको शाहीले जनाए । 

अस्ट्रेलिया, जर्मनी, बंगलादेश, बेलायतलगायत देशमा विभिन्न उत्पादन पठाइरहेको उनको भनाइ छ । मार्सी चामल, ओखर, सिमी, स्याउको चाना, चिनो र कागुनो ती देशहरूमा गइरहेको हो । खलंगास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाइरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बंगलादेश पठाएको थियो । बाहिरबाट आउने खाद्यान्नका कारण रैथाने बाली उत्पादनमा कमी आइरहेको स्थानीय किसान जीवनबहादुर बुढाले बताए। 

जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा मार्सी धान लगाइन्छ भने उत्पादन बर्सेनि ६ हजार १ सय २७ टन हुने गरेको छ । त्यस्तै यो वर्ष चिनो ६५, कागुनो १५, सिमी ४ सय ७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाको ३४ हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमा कृषि खेती हुन्छ ।

जुम्लाको उत्पादनले अर्गानिक प्रमाणीकरण नपाउँदा विदेशी बजारमा सहजै लैजान समस्या भएको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।अहिलेसम्म यहाँका उत्पादन क्यानडा, अस्ट्रेलिया र जापानमा ठूलो परिणाममा गइरहेका छन्।उनका अनुसार अरु देशमा पठाउन पनि संघीय सरकारले पहल गर्न आवश्यक छ । कार्यालयले काठमाडौंसम्म पठाउन मात्र सिफारिस दिन्छ । विदेश लैजानका लागि कृषि मन्त्रालय र क्वारेन्टाइनको सिफारिस चाहिने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप