शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : विद्वान् सर्वत्र पुज्यते

आइतबार, २५ मङ्सिर २०७९, १० : ३२
आइतबार, २५ मङ्सिर २०७९

अघि कुनै समयमा हाल पाकिस्तानको बलुचिस्तान प्रान्तमा पर्ने खनाबदोस नामक गाउँमा एकजना शेख चिल्ली नामका मानिस बस्थे । बाल्यकालमा उनी साह्रै मूर्ख स्वभावका थिए । नाम चिल्ली थियो व्यवहार सिल्ली । उट्पट्याङ काम र कुरा गर्न कसैले पनि भ्याउँदैन थे । अल्छी त्यस्तै, हौडी त्यस्तै । गरीवीका कारण घरको हालत खराब थियो । बाबु सानैमा बितेका थिए आमा विरामी । खानै पर्‍यो लगाउनै पर्‍यो । इज्जत बचाएर हिँड्नै पर्‍यो । विचरी सकीनसकी ज्याला मजदुरी गरी गर्जो टार्थिन् तर चिल्लीलाई वास्तै थिएन ।

निस्फिक्री घुम्थे। जे मनमा लाग्यो त्यही गर्थे । न पढाइमा ध्यान दिन्थे न काममा । आमाले भनसुन गरी सानोतिनो जागिर खोजिदिन्थिन् तर धेरै दिन टिक्दैनथे । केही दिनपछि नै साहुले निकाली दिन्थे । उनको व्यहारबाट गाउँले आजित थिए, आमा हैरान थिइन् । भाइबहिनीहरूको रमाइएका लागि यहाँ उनी सम्बन्धी एउटा कथा प्रस्तुत गरिएको छ ।

तिनताका शेखचिल्लीका भाइ (काकाका छोरा) केही पर अर्कै गाउँमा बस्थे । आउन जानकै लागि दिनभर लाग्थ्यो ।  एक दिन उनी विरामी परेको खबर सुने । चिल्लीलाई तत्कालै भाइ भेट्न जान मन लाग्यो तर कारणवश जान पाएनन् । त्यसपछि चिठीद्वारा हालखबर बुझ्ने विचार गरी चिठी लेखे तर समस्या के पर्‍यो भने चिठी पु-याउने कसले ?

त्यतबेला अहिलेको जस्तो यातायातको साधन थिएन । सरकारले हुलाकीको समेत व्यवस्था गर्न भ्याएको थिएन । फेसबुक त म्यासेन्जर त यसै पनि टाडा भइहाले । गाउँलेहरू टाडाका आफन्तसँग सम्पर्क गर्नुपर्दा चिठीपत्रको सहारा लिन्थे । यसका लागि केही पैसा दिएर गाउँकै नाउलाई जिम्मा दिने गरेका थिए । चिल्लीले पनि त्यसै गर्ने विचार गरी उनीकहाँ गएर भने–

‘दादा अमुक गाउँमा बस्ने अमुक नामका मेरो भाइ सिकिस्तै छ रे । चिठी लगिदिनुहुन्छ कि भनेर आएको, लाग्ने दस्तुर साथै छ ।’

संयोगवश त्यतिबेला नाउ पनि विरामी रहेछन् । उनले विनम्रता पूर्वक भने–

‘माफ गर भाइ अहिलेका लागि असमर्थ छु । आफैँ विरामी छु कसरी जाउँ । यसका लागि तिमीले अर्र्कै विकल्प सोच्नुपर्ने हुन्छ ।’

चिल्ली हैरान भए । के गर्ने, कसो गर्ने । चिठी त जसरी पनि पुर्‍याउनै पर्छ । नत्र भाइले बिरामी हुँदा पनि वास्ता गरेन भन्ला, रिसाउला । आफ्नो त सर्वस्व भनेकै उही हो । उसैको साहारामा बाँचेको छु । आमा बितिहालिन् गाउँलेले वास्ता गर्दैनन् । ऊ पनि रिसायो भने त चौपट हुन्छ तर गर्ने के । यता नाउ दाजु बिरामी छन् । उता आफैँ जाउँ फुर्सद छैन । निकैबेर सोचे तर कुनै उपाय देखेनन् र नाउँको सट्टा आफैँ जाने विचार गरी घरबाट निस्के । 

साँझपख भाइको घरमा पुगेर ढोका ढकढक्याए । अचानक दाजुलाई देखेर भाइले खुसी हुँदै भने–

‘ओ हो दाजु ! अचानक तपार्ईँ आफैँ ?’

भाइको कुरा सुनेर चिल्लीले हतार गर्दै भने–

‘के गर्ने भाइ ! कामै त्यस्तै पर्‍यो । तिमी विरामी छौ भन्ने सुनेँ । मनले धर दिएन र हालखबर सोध्नका लागि चिठी लेखेँ तर चिठी ल्याउने मानिस नभेटिएकाले आफैँ पुर्‍याउन आएको हुँ । जो भन्नुपर्ने त्यसैमा लेखिएको छ हेरेर उत्तर पठाउनु । अहिलेलाई हतार छ  हिँडे ।’

दाजुको कुरा सुनेर भाइले आश्चर्य मान्दै भने–

‘होइन दाजु ! के भन्दै हुनुहुन्छ यो ? त्यति टाडाबाट आउनुभएको छ । बस्नुस् न एक छिन् । कतै मैले गल्ती त गरेको छैन ? जानीबुझी गरे जस्तो लाग्दैन । अनजानमा भएको भए माफी दिनुहोला ।’

त्यसपछि उनले मुस्कुराउँदै भने–

‘होइन भाइ ! त्यस्तो केही छैन । रिसाउनलाई तिमीले के नै गरेका छौ र । भनिहालेँ नि अहिलेलाई अलि हतार छ, अर्कै दिन आएर बसौँला ।’

दाजुको कुराले उनी थप आश्चर्यमा परे । आखिर के भएको छ आज यिनलाई । आफैँ आएका छन् चिठी पुर्‍याउन भनेर । आफैँ आएपछि चिठी किन बोकेका होलान् । फेरि आफैँ आएपछि हाल खबर सोधेर गए पनि हुने । किन लेखेर पठाउनुपर्ने होला । यस्तैयस्तै सोच्दै भने–

‘ठीक छ दाजु ! तपार्ईँ आफैँ आउनृुभएको छ यस प्रति आभारी छु । जब आफैँ आइसक्नु भएको छ भने हालखबर पनि सोधेर गए हुन्न ? चिठी नै लेख्नुपर्छ र ?’

उनको कुरा सुनेर चिल्लीले रिसाउँदै भने–

‘भाइ ! तिमी त मूर्खै रहेछौ । सुनेनौ हतार छ भनेको ? फुर्सद भएको भए आफैँ आउँथेँ नि किन नाउको सट्टा चिठी लिएर आउनुपथ्र्यो ? अहिले म आएको होइन नाउको सट्टा आएको हुँ चिठी पुर्‍याउन बुझ्यौ ? जे भन्नुपर्ने त्यहीँ लेखेको छ मन लागे हेरेर उत्तर पठाउनु ।’

यति भनेर उनी फर्के, विचरा भाइ हेरेको हेरै भए ।

यस्ता मूर्ख स्वभावका चिल्ली पछि गएर विभिन्न ठक्कर र हण्डरबाट खारिएर ठूला दार्शनिक सन्त बनेर घुम्न थाले । घुम्दै जाँदा एक दिन दिल्ली दरवारमा आइपुगे, जहाँ मुगल वादशाह शाहजँहा विराजमान थिए । उनको विद्वता र विशेषताबाट प्रभावित भएर शाहजहाँले उनलाई दरवारमै विशेष स्थान दिएर राखे । उनका छोरा दारासिकोहले त गुरु नै मानेका थिए ।

भनिन्छ– ‘स्वदेश पुज्यते राजा विद्वान सर्वत्र पुज्यते ।’ अर्थात् राजामहाराजाहरूका पूजा त स्वदेशमा मात्र हुन्छ तर विद्वान्हरूको भने जहाँ पनि पूजा भइरहेको हुन्छ । उनलाई पनि यस्तै भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप