शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपामा असन्तुष्टि चुलिँदै

आइतबार, २५ मङ्सिर २०७९, १७ : ०३
आइतबार, २५ मङ्सिर २०७९

समानुपातिकतर्फका सांसद चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ । निर्वाचन आयोगमा शनिबार बुझाइएको समानुपातिक तर्फको सांसदको सूचीमा पार्टी सभापति रवि लामिछाने र प्रवक्ता मुकुल ढकालले मनोमानी गरेको भन्दै पार्टीमा विवाद बढेको हो । 

पार्टीको खस आर्य कोटामा प्रवक्ता ढकालले आफ्नी गुरुआमा डा. चन्दा कार्कीको नाम सिफारिस गरेको र आफ्नी कर्मचारी निशा डाँगीलाई सिफारिस गरेको आरोप छ । सो पार्टीका केन्द्रीय सदस्य रहेका गणेश कार्कीले सामाजिक सञ्जालमार्फत पार्टीमा विधि प्रक्रिया उल्लङ्घन भएको दाबी गरेका छन् ।  

रातोपाटीसँग कुरा गर्दै कार्कीले पार्टीभित्र प्रजातान्त्रिक, लोकतान्त्रिक अभ्यास हुने अवस्था नदेखेको बताए । पार्टीभित्र विरोधको स्वर उठेपनि त्यसलाई पार्टी सभापति लामिछाने र प्रवक्ता ढकालले नजरअन्दाज गरेको र आफूले उठाएको कुरालाई पार्टीले सम्बोधन नगरेको उनले बताए । 

केन्द्रीय सदस्य कार्कीले भने, ‘एकजना व्यक्तिबाट निर्णयको जुन लिष्ट आयो त्यसैलाई अन्तिम मान्ने काम भयो । हामीले १२ वटा क्लस्टर बनाएका थियौँ । निर्वाचन आयोगले भनेको ६ वटा क्लस्टरका लागि उप–समूह बनाएर हामीले निर्वाचन गरेका थियौँ । समानुपातिक छान्दा खुलाबाट छान्ने र महिलाको ३३ प्रतिशत पुगेन भने महिला क्लस्टरबाट तानेर भए पनि पुर्‍याउने कुरा भएको थियो ।’ 

​उनले अगाडि भने–‘तर अहिले यसअघि हामीले तय गरेको १२ वटा क्लस्टरलाई मान्यता नदिई ६ वटा क्लस्टरलाई मात्र उल्लेख गरियो । अरू कसैको कुरा नसुनी एकलौटी ढंगले निर्णय गरेर सूची आयोगमा बुझाउने काम भयो ।’

उनले पार्टी प्रवक्ता मुकुल ढकालले आफ्नी गुरुआमालाई गुरुदक्षिणा दिएको कुरा हिजो बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पनि उठेको उनले बताए । यस्तै समानुपातिक सूचीमा समावेश निशा डाँगी प्रवक्ता ढकालको कर्मचारी भएको र सोही आधारमा समानुपातिक सूचीमा समावेश गरिएको उनले बताए । 

रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘उहाँहरूको सम्बन्ध हेर्ने हो भने चन्द्रा कार्की उहाँको गुरुआमा हो । कार्कीको घरमै गएर उहाँले समानुपातिकको फाराम भरेर आउनुभएको हो । चन्दा कार्कीले एकपटक पनि पार्टी कार्यालयमा पाइला राख्नुभएको छ भन्नेमा मलाई शंका छ । निशा डाँगी मुकुल ढकालकी कर्मचारी हुन् । ढकाल सरको अफिसमा उहाँले काम गर्नुहुन्थ्यो । निर्वाचनको बेला सहयोग गर्न कर्मचारीहरू चाहिने भएकोले डाँगीलाई कर्मचारीका रूपमा पार्टी कार्यालयमा ल्याउनुभएको थियो ।’

उनले पार्टीमा सुरुमा आशा जगाउने र निस्वार्थ रूपमा पार्टीमा लाग्नेलाई पाखा लगाउने काम भएको उल्लेख गरे । विधिका कुरा गर्नेहरू, परिवर्तनका कुरा गर्नेहरूले नै व्यवहारमा आफ्ना नजिकका मान्छेहरूलाई अवसर दिने पुरानो परम्परागत राजनीतिक विकृतिलाई अपनाएको टिप्पणी गरे । 

उनले भने–‘पदमा शक्तिमा पुग्नुभन्दा अगाडि आफूलाई चाहिएको बेलामा सबै ठिक हुन्छ शक्तिमा पुगेपछि आफ्नै निकटकालाई अवसरमा दिने पुरानै चलनको निरन्तरता भयो ।’ 

कार्कीले पार्टीभित्रको विवादलाई फेसबुकमार्फत सार्वजनिक गर्नुको कारण समेत खुलाए । उनले भने–‘मैले फेसबुकमार्फत यो कुरा सार्वजनिक गर्नुको खास अर्थ छ । केही दिन अघि निशा डाँगीले विधि प्रक्रिया मिचिन लाग्यो भनेर फेसबुकमा लेख्नुभएको थियो । मुकुलजीले त्यसमा मेरो समर्थन छ भनेर लेख्नुभयो । फेसबुकमा लेखेको कारण कसैलाई कारबाही गर्ने कि भन्ने कुरा पनि उठेको थियो । तर निशा नानीको खबरदारी हो ठिकै कुरा आयो भनियो । यदि त्यसो हो भने कसैलाई काखा र कसैलाई पाखा गर्न हुँदैन, फेसबुकमा लेखेको कारण कसरी कारबाही हुन्छ त भनेर मैले त्यसकै निरन्तरताका रूपमा पार्टीमा देखिएको समस्या उल्लेख गरेको हुँ ।’ 

पार्टीभित्र रहेका अन्य व्यक्तिहरू पनि असन्तुष्ट रहे पनि आफूले खुलेर त्यसलाई बाहिर ल्याएको कार्कीले बताए । समानुपातिक सांसद छनौटमा एकलौटी निर्णय लिइएको उनले सुनाए । 

उनले भने, ‘बैठकमा समानुपातिक तर्फको सांसद छनोटमा विवाद भएर टुङ्गोमा नपुगेपछि अन्त्यमा सभापतिले आफ्नो अधिकार प्रयोग गरेर ल म निर्णय लिन्छु भनेर पढेर सुनाउनुभयो । सूची पारित भयो भनेर केही साथीहरूले ताली पिट्नुभयो, उहाँ पत्र लिएर निर्वाचन आयोग जानुभयो ।’

केन्द्रीय सदस्यले भनेको कुरा नसुन्ने हो भने पार्टी प्रवक्ता मुकुल ढकाल र सभापति रवि लामिछानेले जे भन्यो त्यही अनुसार पार्टी अगाडि बढ्ने देखेको कार्कीले बताए । उनले भने, ‘पार्टीमा अरू कसैले केही सोचे अनुसार अगाडि बढ्नेवाला छैन । प्रवक्ता र सभापतिले जे सोच्छन् त्यही अनुसार पार्टी अगाडि बढ्ने देखेको छु । पार्टीमा उहाँहरूले भनेको कुरामा विमति भए पनि आवाज उठेको नै देखिन मैले । बाहिर आवाज उठाए पनि प्रवक्ता र सभापतिको अगाडि आवाज उठाएको मैले देखेको छैन ।’

पार्टीमा लोकतान्त्रिक विधि प्रक्रियालाई अवलम्बन नगर्ने हो भने त्यसले पार्टीलाई नै असर गर्ने उनले बताए । पाटीभित्रको विवादबारे बुझ्नका लागि हामीले पटक पटक प्रवक्ता ढकालको नम्बरमा फोन गर्दा उनको पिए बताउने व्यक्तिले फोन उठाए । ती व्यक्तिले दिएको उनको निजी भनिएको नम्बरमा फोन गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन । 

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जना समानुपातिक तर्फका सांसदहरू निर्वाचन आयोगमा बुझाएको छ । जुन सूचीमा चिकित्सक पेसामा रहेका व्यक्तिदेखि ग्यालेक्सी टिभीमा काम गर्ने पूर्व कर्मचारी समेत अटाएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप