आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय सरकारसँग कानुन सिक्दै बुटवलका विद्यार्थी

मङ्गलबार, २७ मङ्सिर २०७९, १८ : ३०
मङ्गलबार, २७ मङ्सिर २०७९

स्थानीय तहका सरकारसँग विद्यार्थीहरूले कानुनका कुरा सिक्न थालेका छन् । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा दिँदै आएको कालिका मानविज्ञान माविमा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले स्थानीय सरकारसँग कानुनका कुरा सिक्न थालेका हुन् ।

स्थानीय सरकारका काम कारबाहीको बारेमा स्थलगत जानकारी दिन र स्थानीय योजना निर्माण तथा कानुन निर्माण प्रक्रियालाई व्यवहारिक रूपमा बुझ्नको लागि १५ दिने कार्यक्रम अन्तर्गत वडा कार्यालयहरूमा विद्यार्थी पुगेका छन् । लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वडा कार्यालयहरूमा रहेर विद्यार्थीहरूले व्यावहारिक कानुनी अभ्यास गर्ने कार्यक्रम रहेको विद्यालयका कानुन समूहका इन्चार्ज शिक्षक युवराज कँडेलले बताए । 

उनका अनुसार कानुन समूहमा अध्ययनरत कक्षा १२ का १०६ जना विद्यार्थीहरूले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके तथा गण्डकी प्रदेशका बागलुङ र नवलपुर जिल्लाका पालिकाका वडा कार्यालयमा रहेर अभ्यास गर्ने र ३ दिन स्थानीय न्यायिक समितिसँग बसेर सिक्नेछन् । यो कार्यक्रम मंगलबारदेखि सुरु भएको हो ।

पालिकाका वडा कार्यालयहरूमा विद्यार्थीहरूले वडाले प्रदान गर्ने सेवा र त्यसको प्रक्रिया, योजना निर्माण र माग प्रक्रिया, समुदाय र पालिका सम्बन्ध, अनुदान माग र वितरण प्रक्रिया, मेलमिलाप प्रक्रियाका साथै वडाको अवस्था र सबल पक्षको बारेमा अध्ययन गर्नेछन् ।  यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कानुन, विधिको शासन तथा समुदाय बुझ्न र सिकाइलाई दिगो बनाउन सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप