आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा क्षेत्रमा पैसा खन्याएको खन्याएकै छौँ, परिणाम भने कमजोर भयो : शिक्षाविद् डा. मनप्रसाद वाग्ले

सोमबार, ०४ पुस २०७९, २० : ०९
सोमबार, ०४ पुस २०७९

शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्लेले शिक्षा क्षेत्रमा लगानी गरेअनुसार उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । प्रत्येक वर्ष शिक्षा क्षेत्रको लगानी बढ्दै गएको तर, त्यही अनुसार प्रतिफल आउन नसकेको बताएका हुन् । 

नागरिक शिक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा. वाग्लेले राज्यलाई तिर्ने कर पनि बढिरहेको र सोही आधारमा लगानी समेत बढिरहेको बताए । ‘हामी ट्याक्स तिर्छौ । झन्डै २ खर्ब रुपैयाँ खर्च गर्छौ । तर, हामीले त्यत्रो लगानी गरेका छौँ, त्यो अनुसार प्रतिफल कहिबाट आएको छैन,’ उनले भने, ‘हामी पैसा खन्याएको खन्याएकै छौँ रिजल्टमा भने तलै छौँ । यसमा सबै गम्भीर भएर लाग्नुपर्ने छ । यसका लागि धेरै काम गर्नुपर्ने हुन्छ ।’ 

शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको उनको भनाई छ । प्रत्येक वर्ष १२ लाख मानिसहरू कक्षा १ मा भर्ना हुने तर, १ लाख जनाले मात्रै उच्च शिक्षा अध्ययन पर्ने अवस्था रहेको उनको भनाई छ । 

‘१२ लाख मानिसहरू कक्षा १ मा भर्ना हुन्छन् । १० कक्षामा पुग्दा ५ लाखले एसईई दिन्छन् । झन्डै ४ लाखले प्लस टु को परीक्षा दिन्छन् । अनि ३ लाख जति पास हुन्छन्,’ उनले भने, ‘१ लाख जना शिक्षा मन्त्रालयबाट एनओसी लिन्छन् र विदेश जान्छन् । बाँकी रह्यो २ लाख । ती मध्ये १ लाख उच्च शिक्षाका लागि भर्नै हुँदैनन् । बाँकी रहेका १ लाख २२ वटा विश्वविद्यालयमा भर्ना हुन्छन् ।’ 

प्राविधिक शिक्षातिरको अवस्था पनि नाजुक देखिरहेको उनको भनाई छ । प्राविधिक शिक्षामा समेत कमजोर देखिएको भन्दै कतै न कतै चुकिरहेको बताए । ‘प्राविधिक शिक्षातिर हेर्ने हो भने हाम्रो अकुपेन्सीको ४८ प्रतिशत मात्रै भर्ना भएका छन् । ५२ प्रतिशत भर्ना भएकै छैनन् । त्यसैले हामी कहीँ न कहीँ चुकेका छौँ ।’ उनले भने । 

कुनै सरकारी विद्यालयमा भर्ना हुँदा लाज मान्ने तर, आफ्ना छोराछोरी विदेश पढ्न जाँदा गर्व महसुस गर्ने गरेको उनको भनाई छ । 

‘बझाङ वा धादिङको कुनै विद्यालयमा भर्ना भएको विद्यार्थीको कुरा लुकाउँछौँ । अनि छोराछोरी कुनै अस्ट्रेलिया वा कुनै देशको विश्वविद्यालयमा पढ्न गयो भनेर एयरपोर्टमा फोटो खिचेर ठुल्ठूलो कुरा गर्ने जात हो नि हाम्रो । त्यसो ग¥यो भने कसरी हुन्छ नेपालको शिक्षामा सुधार ?’ उनले प्रश्न गरे ।    

सहरी क्षेत्रका निजी विद्यालयको गुणस्तर समेत निकै कमजोर रहेको उनको भनाई छ । ‘सहरी क्षेत्रमा हेर्‍यौँ भने पब्लिक एजुकेशनलाई ओभरस्याडो गर्ने ५ देखि ७ गुणा निजी विद्यालय छन् । तुलनात्मक रूपमा निजी विद्यालयबाट केही बढी विद्यार्थी उत्तीर्ण भए होलान् तर, के यो गुणस्तरीय शिक्षा हो भनेर सोध्यो भने ‘होइन’ भन्ने आउँछ ।’ उनले भने ।  

अहिले पब्लिक विद्यालयले समेत निजी विद्यालयकै सिको गरेर अङ्ग्रेजी माध्यमबाट पढाउने गरेको भन्दै यसले झन् समस्या निम्त्याएको बताए । ‘निजीकै पद्धति पब्लिक एजुकेसनमा छिराएर कक्षा १ देखि अङ्ग्रेजी अनिवार्य गर्ने त्यही पाठ्यपुस्तक लिने, थप शुल्क लिने, अनि विद्यार्थी दुई भागमा बाँडेर वर्ग विभाजन गरिदिने काम हामी पब्लिक एजुकेशनवालाले पनि गरिरहेका छौँ ।’ उनले भने ।  

गलत नेताहरूले शिक्षा क्षेत्रलाई हाँकिरहेकाले शिक्षामा सुधार आउन नसकेको उनको भनाई छ । ‘चुनावको बेला नेताहरूले मलाई जितायो भने खाडी मुलुक पठाइदिन्छु भनेर भाषण गरेको देखियो । अब तिनले सार्वजनिक शिक्षाको विकास गर्छन् त ? त्यस कारण खाडी मुलुक पठाउने बुद्धि भएका नेताहरूले हाँकेको हाम्रो सार्वजनिक विद्यालय सुधार गर्न नसकिएको हो ।’ उनले भने । 

अहिले निजी विद्यालयमा पढ्ने विद्यार्थी अमेरिका, अस्ट्रेलिया लगायतका देशमा जाने गरेको उनको भनाई छ । सरकारी विद्यालयमा पढेका विद्यार्थीहरू भने खाडी मुलुक जाने भन्ने हिसाबले पढ्ने गरेको भन्दै यसले कहिल्यै पनि नेपालको शिक्षा क्षेत्रमा सुधार गर्न नसकिने बताए । 

नेपालीहरू दास बन्नको लागि अर्को देशमा जाने गरेको भन्दै उनले भने, ‘९ महिना आमाले पेटमा राखेर जन्माएर हुर्काएर पढाएर जब सक्षम हुन्छन्, अनि अर्काको दास बन्नलाई बाहिर जान्छन् । त्यस कारण यो पद्धतिलाई चिर्नको लागि पब्लिक एजुकेसन सुधार गर्नैपर्‍यो । त्यो नगरे हुँदैन ।’ 

नेपालीहरू गुणस्तरीय शिक्षा, रोजगार, सामाजिक सुरक्षाको लागि बाहिर जाने गरेको भन्दै त्यो सबै कुराहरू नेपालमै भएको खण्ड बाहिर जान रोक्न सकिने उनको भनाई छ । 

शिक्षित व्यक्तिहरू विदेशिने र भोट दिएको खण्डमा खाडी मुलुक पठाइदिन्छु भन्ने नेताले शिक्षाको विकास गर्न तम्सिने गरेको उनले बताए । 

शिक्षा क्षेत्र सुधारको लागि सरकारी विद्यालयको गुणस्तरमा सुधार ल्याउनुपर्ने उनको भनाई छ । 

‘७८ प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा मै पढिरहेका छन् । अनि हामी २०/२५ प्रतिशत निजी विद्यालयको कुरा गर्दै हिँडेका छौँ । अनि कताबाट हुन्छ शिक्षा क्षेत्रको सुधार ?’ उनले प्रश्न गरे । 

शिक्षक सेवा आयोगबाट कम शिक्षक उत्तीर्ण हुँदा अहिले अनेकन् गाली गलौच तथा आक्रोश पोख्न काम भइरहेको उनको भनाई छ । आयोगलाई बदनाम गराउने काम सरकारले नै गर्ने गरेको भन्दै पछिल्लो समय आयोगले दक्ष शिक्षक मात्रै उठाइरहेको बताए । 

‘२०५२ सालमा १४ हजारको विज्ञापन हुँदा २८ हजारको नाम निकाल्नुपर्नेमा ८५ हजारको नाम निकाल्यो । ७ वर्ष लगाएर नतिजा निकाल्यो त्यो पनि भद्रगोल तरिकाले निकालेको थियो । ८० अङ्क आउनेलाई शून्य काटेर ८ बनाइदिएको थियो, ८ आउनेलाई शून्य थपेर ८० बनाइदिएको थियो । त्यसको बारेमा रिपोर्ट तयार पारिएको थियो । तर, त्यो रिपोर्ट सरकारले लुकायो ।’ उनले भने ।  

अहिले आयोगले गुणस्तर कन्ट्रोल गर्ने काम गरिरहेको भन्दै केही वर्षभित्रमा सक्षम शिक्षकहरू पठनपाठनमा जाने बताए । 

‘अहिले आयोगले गुणस्तरमा अलि कन्ट्रोल गरिरहेको छ । अहिले आयोगले जुन शिक्षक योग्य छ उसैलाई मात्र पढाउन पठाइरहेको छ । यो कामलाई सबैले समर्थन गर्नुपर्छ । तर, झन् गाली गर्ने काम गर्दै आएका छौँ ।’ उनले भने ।

शिक्षा क्षेत्रको सुधारका लागि सरकार मात्र नभएर सरोकारवाला सबै निकायको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ । पढ्न विदेश जान रोक्नको लागि नेपालकै शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप