शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा पूननिमार्णले गति लिदै, कहाँ कति बने घर ?

शुक्रबार, २१ पुस २०७४, २० : १७
शुक्रबार, २१ पुस २०७४

बेसीशहर – लमजुङ जिल्लामा भूकम्पिय आवास पूननिमार्ण सम्बन्धी कार्य सुरुवात भएकोे एक वर्षको अवधिमा जिल्लाको पूननिमार्णले गति लिदैँ छ । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत निजी आवास पुनर्निर्माण कार्यक्रमका लमजुङ जिल्ला सम्पर्क व्यक्ति शिव रेग्मीका अनुसार जिल्लामा १३ हजार ९ सय ५९ घरहरु पूर्ण क्षतिको लाभग्राही सूचीमा रहेका छन् । 


ती मध्य १३ हजार १ सय ८३ जनाले अनुदान सम्झौता गरिसकेका छन् भने १२ हजार ६ सय ९९ घरपरिवारले पहिलो किस्ता बराबरको ५० हजार रुपैयाँ बुझिसकेका छन । जिल्लामा करिब २ हजार घर निमार्णाधीन अवस्थामा रहेको र ६ हजार बढीले लाभग्राही सूचीमा नपरेको भन्दै गुनासो फारम भरेका छन् ।
बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, राईनास नगरपालिका र क्व्होलासोंथर, मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका पीडितहरुले आ–आफ्नो वडा कार्यालय मार्फत् सो सम्झौता गरेका हुन् । उनीहरुले घर निर्माणका लागि अनुदान स्वरुप कूल ३ लाख रुपैयाँ पाउने निश्चित भएकोमा प्रथम किस्ता वापतको ५० हजार रुपैयाँ पाएका छन् । 

सम्झौता गरेका मध्येमा पनि १२ हजार ४ सय ९९ परिवारलाई नेपाल सरकार र २ सय घरपरिवारलाई यहाँ कार्यरत् गैह्रसरकारी संस्था जनचेतना अभिवृद्धि तथा विकास अध्ययन समिति(कोपाडेस) ले अनुदान उपलब्ध गराउने भएको छ । कोप्याडस्, वृटिस गोरखा वेलफेयर, मानवीय सेवा तथा अन्तर साँस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस ह्युमनिटेरियन नेपाल) ले पीडित परिवारलाई घर निर्माणमा सहयोग गर्दै आएका छन् ।

 ती मध्ये कोपाड्सले दुधपोखरी गाउँपालिकाका कोल्की, विचौर र दुधपोखरीमा २ सय घर, वेलफेयरले दुधपोखरीकै सानोकाभ्रे गाउँमा ८४ घर, कोल्की गाउँमा ४५ घर निर्माण गरेको छ भने च्वाईस नेपालले राईनास नगरपालिकाको गरमबेसी साथै सुन्दरबजार नगरपालिकाको चन्द्रेश्वर र दुराडाँडामा गरी कूल ५३ घर निर्माण गरेको बताईएको छ ।


त्यस्तै, जिल्लाका विभिन्न गाउँका ५ सय ३९ पीडित प्रवलीकरणमा सूचीमा सूचिकृत भएका छन् । उनीहरुले कम क्षति भएका घर मर्मतका लागि १ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । सबैभन्दा कम लाभाग्राही साविक उत्तरकन्या गाविसमा एक घर र सबैभन्दा बढी साविक ईलमपोखरीमा ६ सय ३२, विचौरमा ५ सय ७५, दूधपोखरी र पाचोकमा क्रमशः ४ सय ९१ घर परिवार लाभग्राही रहेको तथ्यांकमा देखिएको छ । नगरपालिका स्तरबाट हेर्दा सबैभन्दा बढी राईनास नगरपालिकामा २ हजार ९ सय ८९ घर परिवार लाभग्राही रहेको देखिन्छ ।
प्रवलीकरण सूचीमा परेका लाभग्राहीहरुले घर मर्मतका क्रममा भत्किएर क्षति भएको अवस्थामा उनीहरुले पनि पूर्ण लाभग्राही सरह नै ३ लाख रुपैयाँ अनुदान पाउने प्रावधान रहेको बताईएको छ ।

सूचिकरणमा परेका र अनुदान सम्झौता भईसकेका लाभग्राहीका लागि जिल्लाका राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, ग्लोवल आईएमई बैंक, कैलाश विकास बैंक, कामना विकास बैंक, एभरेष्ट बैंक, गण्डकी विकास बैंक, ओम डेभलपमेन्ट बैंक, नबिल बैंक, रिलायन्सन फाईनान्स लिमिटेड, त्रिवेणी विकास बैंक, सनराईज बैंक, प्रभु बैंक, नेपाल एसविआई बैंकलगायतका बैंक तथ वित्तिय संस्थाका ३२ स्थानबाट पहिलो किस्ता उपलब्ध गराईएको बताईएको छ । बैक बाट अनुदान वितरणको क्रममा सहजता होस भनी छिमेकी जिल्ला गोरखाको भच्चेकमा रहेको वाणिज्य बैकको शाखाबाट रकम वितरण गरिएको छ ।जसले आफुहरुलाई निकै सहज भएको स्थानीयले बताएका छन ।


विनाशकारी भूकम्पको अढाइ वर्षपछि गत मसिंर महिनामा लमजुङमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला समन्वय समितिको कार्यालय खुलेको थियो । राष्ट्रिय पूनःनिर्माण प्राधिकरणमार्फत् लमजुङमा खटिएका प्राविधिकहरु पुस ३ गतेवाट जिल्लाका नगरपालिका र गाउँपालिकाका विभिन्न वडाहरुमा खटिएका छन् । स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलका अनुसार खटिएका प्राविधिकहरुले बनेका र बन्दै गरेका घरहरुको चेकजाच गरी दोस्रो र तेस्रो किस्ता सिफारिस गर्छन, र सोही आधारमा जिल्ला समन्वय समिति मार्फत लाभग्राहीको बैक खातामा रकम पठाईने छ । पूननिमार्णको लागी खटिएका प्रविधिकहरको सँख्या अपुग भएकाले सबै स्थानिय निकायका वडाहरुमा प्राविधिकहरु पुग्न नसकेको सिग्देलले बताए ।


पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेपछि लाभग्राहीले घर बनाउन थाल्ने, ढोका र झ्याल राखेपछि दोस्रो किस्ता वापतको १ लाख ५० हजार पाउने र अन्त्यमा छानो छाएपछि अन्तिम किस्ता वापत् १ लाख रुपैयाँ पाउने प्रावधान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप