बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

आइतबार, ०१ माघ २०७९, १९ : ३०
आइतबार, ०१ माघ २०७९

राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यती एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएकाहरूको परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोस्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने बारेमा छलफल गरेको छ 

आइतबार यति एयरलाइन्सको विमान दुर्घटना भएपश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा सहजीकरण तथा मृतकका परिवारजनलाई आगामी दिनमा सहजीकरण गर्ने सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सबै सरोकारवालाहरूले पीडित परिवारलाई सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको छ । 

बैठकपछि बोल्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले मृतकका परिवारलाई, विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन र दूतावासलाई र सञ्चारकर्मी साथै मृतकका परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोस्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने विषयमा गृहमन्त्री लामिछानेले निर्देशन दिनुभएको बताउनु भयो उनले भने, ‘राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज बसेको थियो । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना जुन भयो, ७२ जना सवार हुनुहुन्थ्यो जसमा ४ जना फेला पर्नुभएको छैन । यो एउटा घटना देखिन्छ, तर यसको ब्याकमा रेस्क्यु लगायत अन्य के दायित्व रहन्छ भनेर कार्य विभाजन गर्ने भनेर छलफल भएको थियो । हाम्रा अहिले भइरहेका व्यवस्थापनका पक्ष छन्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अहिले काम गरिरहेको छ । कामहरू सन्तोषजनक भएको पाएका छौँ । केही कमजोरी भएकी भन्ने कुरा पनि केलाइयो । यस बारेमा हामी भोलि पुनः बैठक बस्नेछौँ । ११ बजे बैठक बस्नेछ । पोखरामा भएका शवहरू धेरै पोखराका पनि हुनुहुँदो रहेछ, यहाँ ल्याइरहनु भन्दा त्यहीँ व्यवस्थापन गर्ने कुरा पनि भएको छ । शव जाँच गर्ने चिकित्सकको उपलब्धता के छ, स्वास्थ्य मन्त्रालयले अस्तपतालहरु राम्रो छन् भनेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र विभिन्न व्यक्तिहरूसँग कुरा गर्नको लागि एउटा टिम गरेको छ । संयोजकमा प्रेमनाथ ठाकुर हुनुहुन्छ ।’ 

बैठकमा गृह मन्त्रालयलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो । आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रीपरिषद्को बैठकले मृतकको शोकमा सोमवार शोक बिदा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप