शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

सहकारी समस्या समाधानमा सरकारी पहलदेखि बजेट अधिवेशन आह्वानसम्म

बिहीबार, २० वैशाख २०८१, २२ : ३५
बिहीबार, २० वैशाख २०८१

आज मिति २०८१ साल वैशाख महिनाको २० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. बजेट अधिवेशन आह्वान

संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ ।  बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

२. सहकारी समस्या समाधानका लागि समिति
सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । 
बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो ।

३. इन्टरनेटमा समस्या
सरकारी वेवास्ताका कारण बिहीबार अपराह्नदेखि देशभर इन्टरनेट सेवा प्रभावित भएको छ ।  नेपाल टेलिकम र केही साना इन्टरनेट सेवा प्रदायकबाहेकका अन्य सबै इन्टरनेट सेवा प्रदायकको सेवा प्रभावित भएको हो । 
यो समस्या आउने निश्चित हुँदाहुँदै पनि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले समयमा प्रभावकारी पहलकदमी नलिँदा अहिलेको अवस्था आएको सरोकारवालाहरूको भनाइ छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर, सो रकम भुक्तानीका लागि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा नै रोक्दा यो समस्या आएको हो ।

४. कांग्रेसको तयारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वैशाख अन्तिम साता बस्ने तयारी छ । 
बैठकमा गत फागुन (७—१०)मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन, उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुने छ ।

५. भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।

६. सुदूरपश्चिममा खटपट
सुदूरपश्चिम प्रदेशका सत्ता साझेदार दलहरूबिच ‘खटपट’ सुरु भएको छ ।  नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ती पार्टीको सहयोगमा मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारीले सत्ता साझेदार दलमा छलफल नै नगरी विश्वासको मत लिने तयारी गरेपछि असन्तुष्टि बढ्दै खटपट सुरु भएको हो ।  

७. विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते नै विश्वासको मत लिने भएका छन् । सरकारका प्रवक्ता तथा अर्थमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने तयारी गरिरहेको बताए ।

८. कामबिहीबा कर्मचारी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २६ कर्मचारी ५ वर्षदेखि जिम्मेवारीविहीन बनेका छन् । 
कर्मचारी समायोजन ऐन २०७५ को व्यवस्था अनुसार ज्येष्ठताका आधारमा काठमाडौँ उपत्यका आसपास पायक पर्ने गरी स्थानीय तहमा समायोजन भएका २६ कर्मचारी स्थानीय तहले नलिएपछि र मन्त्रालयले पनि अर्को जिम्मेवारी नदिएका कारण बेकामे बनेको मन्त्रालय स्रोतले जानकारी दियो ।

९. नेपाल पराजित
वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो टी–२० क्रिकेटमा पनि नेपाली टोली पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार खेलिएको चौथो खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई २८ रनले हरायो ।

१०. यो पनि...
सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् ।  बिहीवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ । मन्त्रालयले बिहीबार उनीहरुलाई सरुवा गर्ने  निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले जापानका विदेशमन्त्री कामीकावा योको नेपाल भ्रमणको तयारी पूरा गरेको छ । विदेशमन्त्री कामीकावा वैशाख २३ गते नेपाल आउन लागेकी हुन् ।

बाँदर आतंक खप्न नसकेर जनताले बर्षौँदेखिको आफ्नो थाकथलो नै छाड्न थाले पछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती भने अहिले बाँदर धपाउने अभियानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप