शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

'युरोको सन् २०२३ को अर्थव्यवस्था सोचेभन्दा राम्रो हुने’

बिहीबार, ०५ माघ २०७९, १८ : ००
बिहीबार, ०५ माघ २०७९

स्विट्जरल्यान्ड । युरोपेली केन्द्रीय बैंक (ईसीबी) का प्रमुख क्रिस्टीन लेगार्डले युरो क्षेत्रको अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताएकी छन् । 

डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भनिन्, “पछिल्ला केही हप्तामा आर्थिक सुधारको पाटो निकै सकारात्मक भएको छ ।”जर्मनीजस्ता केही ठूला अर्थतन्त्रले सङ्कुचनलाई पूर्णतया पन्छाउँदै २० राष्ट्रको समूहमा मन्दीको चर्चाबीच ‘सामान्य सङ्कुचन’ देखिएको उनले बताइन् । 

ईसीबीले सन् २०२३ मा युरो क्षेत्रमा ०.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ । “त्यसैले, यो एक शानदार वर्ष होइन, तर यो हामीले सोचेको भन्दा धेरै राम्रो छ,” लेगार्डले भनिन् । 

गत वर्ष युक्रेनमा भएको युद्धका कारण बढेको ऊर्जाको मूल्य घट्न थालेपछि सुधारको आशा देखिएको हो । हल्का जाडो मौसमले पनि ग्यासको अभावको डरलाई कम गर्न मद्दत गरेको छ ।

कम ऊर्जा लागतले युरो क्षेत्रको मुद्रास्फीति अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको भएपनि गिरावट ल्याउन योगदान पु¥याएको छ । उपभोक्ता मूल्य वृद्धि डिसेम्बरमा ९.२ प्रतिशतमा खुम्चिएको छ, जसले मुद्रास्फीतिले अन्ततः आफ्नो चरम सीमा पार गरेको आशालाई बढावा दिएको छ ।

यद्यपि लेगार्डले मुद्रास्फीति अझै पनि ‘धेरै उच्च’ रहेको बताइन् ।  ईसीबीले मुद्रास्फीतिलाई नियन्त्रण गर्न आक्रामक रूपमा ब्याज दरमा वृद्धि गरिसकेको छ र जुलाईदेखि यसको प्रमुख दरहरू २.५ प्रतिशत बिन्दुले बढाएको छ ।

लेगार्डले मुद्रास्फीतिलाई ईसीबीको दुई प्रतिशतको लक्ष्यमा फर्काउनका लागि थप ब्याज दर वृद्धि हुने दोहो¥याइन् ।  “हामी कोर्समा रहनेछौं," लेगार्डले भनिन् । (रासस/एएफपी)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप