शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ मन्त्री श्रेष्ठको राजनीति र साहित्य जीवनी

बुधबार, ११ माघ २०७९, १५ : ०४
बुधबार, ११ माघ २०७९

मकवानपुर । नेकपा माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ बागमती प्रदेशको मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सालिकराम जम्कट्टेलले बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रीमा नियुक्त भएलगतै उनले प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री श्रेष्ठ राजनीतिमा मात्रै नभई साहित्यमा पनि सक्रिय रहेका छन् ।

उनले थुप्रै कृतिहरु पनि प्रकाशन गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५, सिलामे गाउँमा माता मान कुमारी श्रेष्ठ र पिता जयबहादुर श्रेष्ठको पाँचौ सन्तानका रूपमा २०२६ फाल्गुन १० गते जन्मिएका श्रेष्ठ  माओवादी जनयुद्धमा प्रभात उपनामले परिचित थिए ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका श्रेष्ठ मुख्यतः राजनीतिकर्मी हुन् । तर उनले राजनीतिको अलावा कविता, गीत, कथा, उपन्यास, संस्मरण र समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।

उनको संगठित राजनीतिक जीवन सिन्धुली क्याम्पसमा आइए अध्ययनरत रहँदा तत्कालीन अनेरास्ववियु (छैटौं) बाट सुरु भएको थियो । 

राजनीतिक जीवन:

-२०४३ सालमा अनेरास्ववियू (छैठौं) को सदस्यता प्राप्त

-२०४५ सालमा नेकपा (मसाल) को सदस्यता प्राप्त

-२०४७ सालमा अनेरास्ववियू (छैठौं) को केन्द्रीय सदस्य

-२०४७ सालदेखि पूर्णकालीन सदस्य

-२०४७ सालमा नेकपा (मसाल) को जिल्ला सदस्य

-२०५२ सालमा अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय महासचिव

-२०५३ साल वैशाख २४ गते सिन्धुली जिल्लाको अमले गाविस सिम्ले खोलाबाट गिरफ्तार

-२०५७ साल श्रावणमा जेल मुक्त (जेल अवधि ५ वर्ष ३ महिना)

-२०६० सालमा नेकपा (माओवादी) को वैकल्पिक केन्द्रीय सदस्य

-२०६२ सालमा जनमुक्ति सेना, नेपालको विशाल–कुमार स्मृति व्रिगेडको राजनीतिक कमिसार

-२०६३ देखि अखिल नेपाल जनसाँस्कृतिक संघको केन्द्रीय सचिवालय सदस्य

-२०६४ देखि इच्छुक प्रतिष्ठानको केन्द्रीय सदस्य

-२०६३ माघ १ गतेदेखि २०६४ सम्म अन्तरिम व्यवस्थापिका संसद्को सदस्य

-२०६५ देखि एकीकृत नेकपा (माओवादी) को केन्द्रीय सदस्य

-२०६५ देखि कोचिला राज्य समिति सहइञ्चार्ज

-२०७१ देखि एकीकृत नेकपा (माओवादी) को पोलिटब्युरो सदस्य

-२०६८ भाद्रदेखि २०६९ फागुनसम्म नेपालका ३५ औं प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख स्वकीय सचिव

-२०७० को निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट निर्वाचन लडेको । करिब ११०० मतले पराजित ।

-२०७२ देखि २०७५ सम्म नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य हुँदै हेडक्वार्टर सदस्य

-२०७६ वैशाखदेखि समाजवादी पार्टीको केन्द्रीय महासचिव

-२०७७ वैशाखदेखि जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी सदस्य ।

-२०७९ मा नेपाल समाजवादी पार्टी गठनपश्चात् सो पार्टीको केन्द्रीय सहध्यक्ष ।

साहित्यिक जीवन:

प्रथम रचना : “संगत गुनाको फल” (कथा, २०४२)

प्रथम प्रकाशित रचना :  किन ? किन ?? किन ??? (कविता, २०४७)

प्रथम प्रकाशित कथा : सहिद (कथा, २०४७ लघु कथा)

प्रथम प्रकाशित पुस्तक :  तानाशाहलाई प्रश्न ? (संयुक्त कविता संग्रह, २०५३)

कृतिहरु 

१. तानाशाहालाई प्रश्न ? (संयुक्त कविता संग्रह, २०५३)

२. महासमरका यात्रीहरु (कथा संग्रह, २०५४, मंसिर)

३. म प्रतिध्रुवीय यात्री ( कविता संग्रह, २०५५, कार्तिक)

४. बन्दी आवाज (संयुक्त कविता संग्रह, २०५५)

५. जूनको देशबाट (कविता संग्रह, २०५७, फाल्गुण)

६. ज्वालामुखीमाथिको यात्रा (उपन्यास, २०६०)

७. एक्काइसौं शताब्दीको प्रमिथस (कविता संग्रह, २०६३ भदौ)

८. सहिद टीका श्रेष्ठको जीवनी (जीवनी, २०६३, भदौ)

९. संस्कृति, समीक्षा र सौन्दर्य (२०६६ कार्तिक)

१०. गढी दरबारदेखि सिंहदरबारसम्म (अनुभूति/संस्मरण संग्रह, २०६७ असार)

११. मध्यपहाड यात्रा (यात्रा डायरी, २०७६ फाल्गुण)

१२. आजको सरल राजनीति (राजनीतिक लेख, २०७८ डम्बर खतिवडासँग सहलेखन)

सम्पादन:

१. रातो क्षितिज (साहित्यिक त्रैमासिक पत्रिका) २०४७ (शम्भु ढकाल, केदार ढकालहरुसँग मिलेर सम्पादन)

२. उदबोधन (साहित्यिक त्रैमासिक पत्रिका) २०६०  संस्थापक सम्पादक

३. कलम (साहित्यिक मासिक पत्रिका) को सम्पादन मण्डलको सदस्य

मन्त्री श्रेष्ठ सहिद परिवारका सदस्य पनि हुन् । उनका भाइ टीकानारायण श्रेष्ठ तत्कालीन शाही सेनासँगको दोहोरो भिडन्तमा २०६१ साल असार १३ गते सर्लाहीको तोरीवारिमा सहादत प्राप्त गरेका थिए ।

त्यस्तै तत्कालीन पंचायती शासकले श्रेष्ठका ससुरा दुर्गा सुवेदीको २०३६ साल कार्तिकमा हत्या गरेको थियो । श्रेष्ठका पत्नी बन्दना सुवेदी र एक छोरा आयुष श्रेष्ठ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप