शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली युवाद्वारा साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण गर्ने उपकरण निर्माण

शनिबार, २१ माघ २०७९, ०६ : ३०
शनिबार, २१ माघ २०७९

काठमाडौँ । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले यस्तो उपकरण ल्याएको निर्माण टोलीले जनाएको छ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत दिनानाथ पाध्य, सुदीप ठाकुर, सजेन महर्जन र जेनिसा पन्तको चार सदस्यीय टोलीले यस्तो उपकरण बनाएको हो। “यो उपकरण निर्माण गर्नुको मुख्य उद्देश्य बोल्न नसक्ने मान्छे र अन्य मान्छेबीच सञ्चारमा हुने बाधालाई कम गर्नु हो। यसले साङ्केतिक भाषालाई शब्द र आवाज दुवैमा रूपान्तरण गर्ने भएकाले दृष्टिविहीनलाई समेत उपयोगी हुने देखिएको छ,” पाध्यले भने। उपकरणले साङ्केतिक भाषालाई शब्द र आवाजमा रूपान्तरण गर्ने भएकाले बोल्न नसक्ने, दृष्टिविहीन र अन्य व्यक्तिबीचको सञ्चारलाई सहज बनाउने उनले दाबी गरे ।

यो उपकरण हातमा पन्जा लगाएजसरी लगाउनुपर्ने बताउँदै उनले भने, “यो लगाएर साङ्केतिक भाषामा कुराकानी गर्दा सबैले बुझिने गरी आवाज र शब्दमा रूपान्तरण हुन्छ। यस उपकरणमा साङ्केतिक भाषा ‘ट्रान्सलेसन सफ्टवेयर’ रहेको छ, जसको मद्दतले यस्तो कुरा सम्भव भएको हो।” उनका अनुसार यो उपकरण हाल नमुना अवस्थामा रहेको र नेपालकै मानक साङ्केतिक भाषा प्रयोग गरिएको छ।

“हामीले अहिले १०-१५ वटा शब्द राखेका छौँ। पछि पूर्ण रूपको उपकरण बनाउँदा हामीले कुनै मानक साङ्केतिक भाषालाई लिएर धेरैभन्दा धेरै शब्द राखेर उपकरणलाई प्रशिक्षण दिन्छौँ। यो उपकरण तीन-चार चरणभन्दा बढी पटकको परीक्षणमा पास भइसकेको छ। आगामी दिनमा यो उपकरण बोल्न नसक्ने व्यक्तिका लागि उपयोगी बन्ने कुरामा हामी विश्वस्त छौँ,” उनले भने । यस्तो उपकरण अन्य देशमा पनि उपयोगमा रहेको तर निकै महँगो रहेको उनले बताए। यस्ता उपकरणको मूल्य विश्व बजारमा ५०-६० हजार रुपियाँभन्दा बढी पर्ने गरेको तर आफूहरूले तीनरसाढे तीन हजार रुपियाँमा तयार पारेको उनले जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप