मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने

शुक्रबार, २६ वैशाख २०८२, २२ : २५
शुक्रबार, २६ वैशाख २०८२

महेन्द्रनगर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी बजेटमा मधेस प्रदेशमा नयाँ रङ्गशाला निर्माण तथा पुराना संरचना मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको समन्वयमा आजदेखि जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मन्त्री चौधरीले मधेस प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारका निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट विनियोजन गर्ने बताएका हुन् ।

उनले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउन पहल गरिरहेको जानकारी गराए । खेलकुदको विकासमा स्थानीय तहको अहम् भूमिका रहने उल्लेख गर्दै  जनकपुरधाम उपमहानगरपालिकाले निरन्तर मेयर कपको आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले प्रशंसा गरे ।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि वैधानिक प्रक्रिया अगाडी बढाइसकेकाले चाँडै रंगशाला निर्माणको बाटो खुला हुने बताए ।

उनले मधेस प्रदेशकै आठ जिल्लामा रङ्गशाला निर्माण गर्ने पक्षमा प्रदेश सरकार रहेको बताए । पुराना अधुरा खेलकुदको आयोजना निर्माण सम्पन्न गर्नुपर्ने दायित्व प्रदेश सरकारकै भएको उनको धारणा छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालाको निर्माण प्रक्रिया अगाडि बढिसकेको र चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष पद्म खडकाले नेपाली खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहयोग र साथ आवश्यक भएको बताए ।

आजदेखि जेठ २ गतेसम्म सञ्चालन हुने तेस्रो जनकपुरधाम मेयर कप प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका अतिरिक्त भारतको बिहारका मुजफ्फरपुर, पुरनीया, उत्तर प्रदेशका लखनाऊ र दिल्लीका ४ टिम गरेर कूल १२ टिमको सहभागिता रहेको छ । 

टी–२० क्रिकेट प्रतियोगितामा विजेता टिमलाई रु दुई लाख नगद र ट्रफी, उपविजेतालाई रु एक लाख २५ हजार नगद र ट्रफी, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको रु पाँच हजारको गिफ्टका साथै रु तीन हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा वेष्ट व्याट्स म्यानलाई रु १० हजार, वेष्ट बलरलाई रु १० हजार, म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १५ हजार नगद र ट्रफीसहित पुरस्कृत गरिने जिल्ला क्रिकेट सङ्घका सचिव अशिष झाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप