दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
काठमाडौँ । भारत र पाकिस्तानबिचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण छिट्टै पुनः सुरु हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसको तयारी पनि अगाडि बढाइसकेको छ ।
छिट्टै नै नयाँ मिति र खेल तालिका सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ । केही टोलीले नियमित अभ्याससमेत सुरु गरिसकेका छन् । आईपीएल स्थगित भएलगत्तै विदेशी खेलाडीहरू भने आ–आफ्नो घर फर्किइसकेका छन् ।
तर, दिल्ली क्यापिटल्सका प्रभावशाली अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क भने अब आईपीएल खेल्न भारत नफर्कने भएका छन् । तीव्र गतिका बलर मिचेल स्टार्कका व्यवस्थापकले उनी आईपीएलको बाँकी खेलका लागि भारत नफर्कने जनाएका छन् ।
प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न संघर्षरत दिल्ली क्यापिटल्सका लागि यो दुःखद समाचार हो । दिल्लीले जारी आईपीएलमा अझ तीन खेल खेल्न बाँकी छ । दिल्लीले हालसम्म खेलेको ११ मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ ।
दिल्लीको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । दिल्ली १३ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । बाँकी खेलमा जित हात पारे दिल्ली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्नेछ । तर, प्रभावशाली बलर मिचेल स्टार्कको अनुपस्थिति दिल्लीका लागि दुर्भाग्य बन्न सक्छ ।
मिचेल स्टार्क आफ्नी पत्नी एलिसा हेलीसहित आइतबार सिड्नी पुगेका थिए । उनले सञ्चारमाध्यमसँग कुरा गर्न मानेनन् । स्टार्कका प्रबन्धकले भने अस्ट्रेलियाको नाइन न्युजसँग कुराकानी गर्दै उनी अब आईपीएलको बाँकी खेलका लागि भारत फर्कने सम्भावना अत्यन्तै कम रहेको बताए ।
मे ८ तारिखमा दिल्ली र पञ्जाब किङ्सबिच हुने भनिएको खेल बिचमै रद्द गरिएको थियो । त्यसको दोस्रो दिन नै आईपीएल स्थगित गरिएको थियो । त्यसपछि सबै विदेशी खेलाडी आ–आफ्नो घर फर्किएका थिए ।
तर, मे १० तारिखमा भारत र पाकिस्तानबिच अब एक–अर्काविरुद्ध सैन्य आक्रमण नगर्ने सहमति भएपछि आईपीएलको बाँकी खेल पुनः सुरु गर्ने तयारी अगाडि बढाइएको हो । समाचारमा जनाइए अनुसार, अब अधिकांश खेलाडी पुनः भारत फर्कन तयार देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण