सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

संगठन निर्माणमा साना पार्टीको ध्यान, कांग्रेस–एमालेले गरेनन् निर्वाचनकै समीक्षा

सोमबार, २३ माघ २०७९, ०७ : ४४
सोमबार, २३ माघ २०७९

काठमाडौँ । मंसिर ४ को आम निर्वाचनपछि धेरैजसो राजनीतिक दलहरू चुनावी परिणामको समीक्षा गर्दै संगठन निर्माणमा केन्द्रित भएका छन् । चुनाव सम्पन्न भएको साढे २ महिनापछि राजनीतिक दलहरू आफ्ना कमीकमजोरी केलाउँदै संगठन निर्माणको उद्देश्यसहित जनतामा जान लागेका हुन् । तर कांग्रेस एमाले जस्ता ठुला दल भने चुनावपछि सत्ताको जोड घटाउमै धेरै केन्द्रित हुँदा चुनावी समीक्षा र सांगठानिक कामलाई ओझेलमा पारेका छन् ।

तीन महिने अभियानमा माओवादी

संसदको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले संगठन निर्माणका लागि २ महिने कार्ययोजना नै पारित गरेको छ । शनिबार सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले सबै केन्द्रीय समिति सदस्य र प्रदेश सदस्यहरू यही माघ २६ गतेबाट २ महिनासम्म जनताको घरदैलोमा पुग्न निर्देशन दिइसकेको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले माघ २६ गतेबाट सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू आआफ्नो जिल्ला पुगेर तलैदेखि संगठन निर्माणमा जुट्ने बताए । ‘२ महिनासम्म सबै नेता संगठन निर्माण, विस्तार र सुदृढीकरण अभियानमा लाग्नुहुन्छ । अव सरकारमा रहेकाबाहेक सबै साथीहरू संगठनलाई कसरी बलियो बनाउने भन्नेमा केन्द्रित हुनुहुन्छ’, माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराको भनाइ छ ।

तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसके पनि प्रतिनिधि सभामा १० सांसद रहेको नेकपा एकीकृत समाजवादीले पनि संगठन निर्माणलाई जोड दिने भएको छ । मालेबाट छुट्टिएको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्वको एकीकृत समाजवादीले संगठन निर्माणलाई महाअभियानकै रूपमा अघि बढाउने भएको छ ।

दुई दिन (शनिबार र आइतबार) चलेको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले संगठन निर्माणमा लाग्नुपर्ने धारणा राखेपछि यसलाई महाअभियानकै रूपमा अघि बढाउन पार्टी जुट्ने भएको हो ।

यसअघि बैठकले तत्काल अन्य पार्टीसँग एकताभन्दा पनि तल्लो तहसम्म संगठन निर्माण गरी पार्टीलाई बलियो बनाउने कार्ययोजना अघि सारेको छ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेमा समान धारणा बने पनि सरकारमा जाने÷नजानेबारे मत बाझिएको छ  । धेरै सदस्यले सरकारमा सहभागी हुनुपर्ने र केहीले सहभागी हुन नहुने धारणा राखेका थिए। पार्टी नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए ।

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले स्थायी कमिटीका धेरैजसो नेताको धारणा दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने रहेको बताए । ‘गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको छ। हामीले पार्टी पुनर्गठनको महाअभियान थाल्ने तयारी गरेका छौ । नेताहरूले आआफ्ना धारणा राख्नुभएको छ,’ तुलाधरको भनाइ छ ।

रास्वपाले थाल्यो अभियान

२० सांसद जितेर चौथो दलको हैसियत बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष कारणवश स्थगित भएको संगठन विस्तारको काम माघ २१ बाट सुरु गरेको जनाएको छ ।

यो पार्टीले कार्यतालिका नै सार्वजनिक गरेर माघ २१ देखि २८ सम्म प्रदेशस्तरीय संगठन विस्तार गर्ने जनाएको छ । जसअनुसार माघ २१ मा गण्डकीको पोखरा,२४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा कार्यक्रम गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार प्रदेश १ र बागमतीको कार्यतालिका चाँडै सार्वजनिक गरिने छ ।  गत असारमा गठन भएको यो पार्टीले संगठन अभावमा मङ्सिरको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार उठाएको थिएन ।

विशेष अभियानमा एकीकृत समाजवादी

यसैबीच एकीकृत समाजवादीले यसअघिको स्थायी समिति र पोलिटव्युरो बैठकबाटै संगठन विस्तारमा लाग्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन तथा पार्टी कमिटीहरू अद्यावधिक गरेर अघि बढ्ने सो पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँचौँ केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा  आगामी २०८० जेठ मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका राष्ट्रिय सम्मेलन÷अधिवेशन÷महाधिवेशन गरिसक्ने  तथा सम्पर्क मञ्च र प्रवासी नेपाली मञ्चहरूका अधिवेशनसमेत सोही समयमा गरिसक्नेगरी कार्यतालिका तय गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘पार्टी कमिटीहरुको पुर्णता र अधिवेशनहरु सकेर एक महिने सङ्गठन सुदृढीकरण विशेष अभियान सञ्चालन गर्ने र एक महिने उक्त अभियानमा कमिटी नबनेको पालिका र वडामा कमिटी गठन गर्ने, कमिटी बनेको भए त्यसको बैठक बसी अद्यावधिक गर्ने, जनसङ्गठनका कमिटी गठन गर्ने, पार्टी सदस्यता र सङ्गठित पार्टी सदस्यता अद्यावधिक तथा नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, प्रशिक्षण सञ्चालन गर्ने, आम भेला गरी पार्टीका धारणा राख्ने लगायतका कार्य गरिने छ’, अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । अभियान सञ्चालन गर्न एकीकृत समाजवादीले प्रत्येक पालिकामा एक सहजकर्ता खटाउनुका साथै प्रत्येक जिल्ला तथा प्रदेशमा अनुगमनकर्ता समेत खटाउने छ ।

अभियानअन्तरगत संगठनका साथै विचारलाई समेत जनतामाझ पुर्‍याउने समाजवादीको तयारी छ । ‘प्रशिक्षण नै पार्टी पङ्क्तिमा विचार प्रवाह गर्ने र पार्टीले अँगालेको विचार स्थापित गर्ने माध्यम भएकाले सघन रूपमा प्रशिक्षण चलाउन नियमित पार्टी स्कुल सञ्चालन गर्नुपर्दछ । त्यसका लागि पार्टी स्कुल विभागबाट प्रस्तावित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दछ’, नेपालको प्रतिवेदनमा उल्लेख छ ।

एमाले–कांग्रेस अलमलमा 

सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेले भने अहिलेसम्म केन्द्रीय कमिटी बैठक बोलाएर निर्वाचनको ठोस समीक्षा समेत गरेका छैनन् । नेपाली कांग्रेसले पटक पटक बैठक बोलाए पनि स्थगित गर्दै आएको छ । कांग्रेसले पुस २२, २८ र माघ १५ मा बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । कांग्रेसले निर्वाचन समीक्षा र सांगठानिक निर्णयका लागि भन्दै बैठक बोलाउने र स्थगित गर्ने गर्दै आएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कारणवश बैठकको मिति तोकेर पनि स्थगित गर्नुपरेको बताए । प्रवक्ता महतले अव राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछिमात्रै बैठक बस्न सक्ने बताए । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ ।

‘सम्भवतः अव राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि केन्द्रीय समिति बैठक बस्छ होला’, महतले भने, ‘त्यो बैठकमा चुनावको समीक्षा, संगठन विस्तारअन्तर्गत भ्रातृ संस्थाहरूको गठन र विस्तारका साथै समग्र संगठन सुदृढीकरणबारे निर्णय हुन्छ’,महतको भनाइ छ ।

कांग्रेसमात्रै होइन दोस्रो ठुलो दल नेकपा एमालेले पनि अहिलेसम्म चुनावी समीक्षा नै गरेको छैन । स्थायी समिति र पदाधिकारी बैठकमा सामान्य छलफल भएपनि एमालेले केन्द्रीय कमिटीमार्फत चुनावी समीक्षा गरिनसकेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बसेर चुनावी समीक्षाका साथै संगठन विस्तारबारे निर्णय हुने ज्ञवालीको भनाइ छ ।

‘निर्वाचनपछि सरकार निर्माणतिर लाग्नुपरेकाले समीक्षा बैठक बस्न ढिला भएको हो’, ज्ञवालीले भने, ‘प्रदेश र जिल्लाहरूले समीक्षा रिपोर्टहरू पठाइरहेका छन् ।’

उनले बैठकले पार्टी निर्माणबारे कसरी अघि जाने भन्ने निर्णय गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप