मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
रोजगारी

ज्यान धरापमा पारेर नेपालीहरू राइडरको रूपमा जान्छन् दुबई र कतार

बिहीबार, ११ फागुन २०७९, १० : १३
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । धनगढीका भक्त थापा गत भदौमा वैदेशिक रोजगारीका लागि दुबई पुगे । बाइक राइडरको रूपमा उनी दुबई गएका थिए । मासिक ९० हजार नेपाली रुपैयाँ तलब पाउने हिसाबले गएका उनी ५ महिनामै घर फर्किए ।

मासिक २५०० दिराम तलब पाइने सम्झौता थियो । त्यही आधारमा ९० हजार रुपैयाँ मासिक पाइन्छ भन्ने उनको सोच थियो । तर, काम गर्दै जाँदा महिनामा ५० हजार रुपैयाँ पनि तलब नआउने भयो । के कति कारणले तलब कम आयो भनेर बुझ्दा त उनकै गल्ती देखियो ।

काम गर्न नसक्ने भएपछि उनी ५ महिनामै घर फर्किए । बाइक राइडरको रूपमा काम गर्दा उनलाई लाग्यो– आफ्नो जीवन यहीँ सकियो । त्यहाँका सवारी साधनको स्पिड, ट्राफिक रुल, मालिकको बारम्बारको गाली उनले सहन सकेनन् । र, आत्तिँदै घरमा फोन गरेर आफ्नो उद्धार गर्न भने ।

त्यसपछि उनका बुबाले वैदेशिक रोजगार विभागमा छोराको उद्धार गरिपाऊँ भनेर निवेदन दिए । सोही निवेदनपछि विभागमार्फत उनी घर फर्किए । गत पुसमा घर फर्किएका उनलाई अहिले यमराजको हातबाट फुत्किएर आएजस्तो लाग्छ ।

राइडरमार्फत दुबई र कतार पुगेका धेरै मानिसहरू स्वदेश फर्कन भन्दै विभागमा निवेदन दिने गरेका छन् ।

‘दुबईमा बाइक राइडरको रूपमा जानु भनेको त जानीजानी यमराजकहाँ जानु जस्तै रहेछ । बल्लबल्ल बचेर आएँ,’ उनले भने ।

कतारमा बाइक राइडरको रूपमा गएका दाङका विक्रम थारु पनि ६ महिना काम गर्न नपाउँदै फर्किए । तोकिएअनुसारको काम र तलब नपाएको भन्दै परिवारमार्फत उनले पनि उद्धारका लागि निवेदन दिए । र, घर फर्किए ।

ridlxEH8-Talabat

राइडरमार्फत दुबई र कतार पुगेका धेरै मानिसहरू स्वदेश फर्कन भन्दै विभागमा निवेदन दिने गरेका छन् । उनीहरूले त्यहाँ भनेअनुसार काम नपाउने, तोकिए बमोजिम पारिश्रमिक नदिने, राइडिङ गर्न निकै गाह्रो हुने भन्दै उद्धारको माग गर्दै आएका हुन् ।

नेपाली कामदार बाइक राइडरको कामका लागि योग्य नहुँदा समस्या भइरहेको छ । त्यसरी राइडरको रूपमा जानेहरू आर्थिक क्षतिमात्र नभएर मानसिक समस्यामा समेत पर्ने गरेका छन् । त्यतिमात्र नभएर मोबाइल एप्लिकेसन राम्रोसँग चलाउन नजान्दा तोकिएको समयमा समान डेलिभरी गर्न नसक्ने हुन्छन् ।

राम्रोसँग बाइक र एप्लिकेशन चलाउन नसक्दा समस्या हुने र नेपाली श्रमिकले समस्या भोग्नु परेको थापाको भनाइ छ । ‘मोबाइल एप मार्फत सामान डेलिभरी गर्नुपर्छ । तोकिएको समयभित्र सामान डेलिभरी गर्न नसक्दा ग्राहकले क्यान्सिल गर्नुहुन्छ,’ थापाले भने ।

बाइक राइडर र ट्याक्सी चालकको रूपमा दुबई र कतार गएकाहरूले समस्यामा परेको भन्दै उद्धार गर्न आग्रह गर्दै आएका छन् । घर फर्काइदिन भन्दै विभागमा निवेदन दिनेको संख्या पनि त्यत्तिकै मात्रामा बढिरहेको छ ।

हुन त समयमै समान डेलिभरी गर्न सकियो भने राइडललाई टिप्स पनि दिन्छन् । तर, समयमै सामान डेलिभरी गर्न नसक्दा एकातिर अर्डर क्यान्सिल हुने र अर्कोतिर कम्पनीले तलबसमेत काट्ने गरेका छन् ।

तोकिएको लोकेसनभन्दा एक स्टेप पनि अघि गयो भने पुनः लोकेसनमा फर्किन ४÷५ किलोमिटर घुमेर जानुपर्छ । जसले गर्दा एकातिर सामान डेलिभरी गर्न ढिला हुनुका साथै ट्राफिक प्रहरीले जरिवानासमेत गर्ने गरेको छ ।

‘तोकिएको समयमा सामान नपाएपछि अर्डर गर्नेले सामान पनि लिँदैन । बाइकको पेट्रोल पनि खर्च हुन्छ । यस्तो अवस्थामा क्षति पुग्यो भने हाम्रै तलबबाट पैसा काटिदिन्छ,’ थापाले भने ।

1000

कुनै समयमा त ट्राफिक प्रहरीले पेनाल्टीसमेत काट्ने गरेको उनको भनाइ छ । ‘नेपालमा राम्रैसँग बाइक चलाउँथे म । तर, दुबई पुगेपछि रोडमा बाइक गुडाउँदा डर पो लाग्न थाल्यो । यसरी काम गर्दा त सकुशल नेपाल पुगिँदैन होला भनेर घर बोलाउनु भनेको थिएँ । धन्न केही नभएरै घर पुगियो,’ उनले भने । 

बाइक राइडर र ट्याक्सी चालकको रूपमा दुबई र कतार गएकाहरूले समस्यामा परेको भन्दै उद्धार गर्न आग्रह गर्दै आएका छन् । घर फर्काइदिन भन्दै विभागमा निवेदन दिनेको संख्या पनि त्यत्तिकै मात्रामा बढिरहेको छ । समस्यै समस्या देखिएपछि विभागले दुबई र कतारमा बाइक र ट्याक्सी चालकको रूपमा पठाउन रोक लगाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त अर्यालले फर्काइदिनुपर्‍यो भन्दै गुनासो अत्यधिक आएपछि अस्थायी रूपमा रोक लगाइएको बताए । ‘गएका जतिको समस्यै समस्या देखिएपछि अस्थायी रूपमा रोकिदिएका छौँ । नरोकौँ भन्दा तनावै हुने भएपछि अस्थायी रूपमा रोकेका हौं,’ उनले भने ।

नेपालबाट लाइसेन्स लिएर गएकाहरूलाई सम्बन्धित देशमा पुगेपछि अर्को लाइसेन्स लिन महाभारत हुन्छ । लाइसेन्स लिइसकेपछि पनि त्यहाँ बाइक र ट्याक्सी चलाउन सक्दैनन् ।

एकातिर ट्राफिक नियम जानेका हुँदैनन्, भने अर्कोतिर त्यहाँको स्पिड देखेर हतोत्साहित हुन्छन् । त्यसपछि उनीहरू आफूलाई घर फर्काइदे भन्छन् । त्यस्ता खालका उजुरी दिनहुँ आउन थालेपछि पूर्व स्वीकृतिको काम नै रोकिएको महानिर्देशक आचार्यले बताए ।

‘नेपालको र त्यहाँको स्पिड निकै फरक हुन्छ । सडकको रुल पनि बुझेका हुँदैनन्, हतोत्साहित भइहाल्दा रहेछन् । अनि घर फर्काइदे भन्दा रहेछन्,’ महानिर्देशक आचार्यले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप