मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कसरी बाहिरियो प्रहरीको ‘अति गोप्य’ कागजात ?

प्रधान कार्यालयले छानबिन थाल्यो
बिहीबार, ११ फागुन २०७९, १५ : ०५
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा हुने ‘अति गोप्य’ कागजात अहिले सामाजिक सञ्जालमा जताततै भेटिन्छ । डीआईजी अशोक सिंह सहितका अधिकृतहरूको जन्ममिति फरक परेको सूचना सञ्चार माध्यमले सोही डकुमेन्टबाट पाएका हुन् ।

प्रहरी प्रधान कार्यालयको सिटरोलमा १ वर्ष ६ महिना २४ दिन उमेर फरक परेको तथ्य बाहिरिएपछि डिआईजी सिंहले राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ‘घटुवा’ गर्ने सङ्केत दिएपछि डिआईजी सिंहले राजीनामा दिएको उच्च प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५५ वर्षे उमेर हदको कारण अशोक सिंह २०७९ जेठ २२ मा नै अवकाश भैसकेको हुनुपर्ने देखिएको छ । तर, सरकारले उनलाई २०७९ असारमा बढुवा गरेको देखिएको छ ।

332882440_896077421709164_7656634007200497306_n

२०४२ साल जेठ २२ मा जारी भएको सिंहको नागरिकतामा उमेर १८ वर्ष उल्लेख छ । तर, उनको शैक्षिक योग्यताको प्रमाणपत्रमा उनको जन्म २०२५ पुस १६ मा भएको देखिन्छ । जन्ममिति विवादपछि उनले दिएको राजीनामा स्वीकृत गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा लेखेर पठाएको छ ।

प्रहरीकै रेकर्डमा डिआईजी श्यामलाल ज्ञवाली र भीम प्रसाद ढकालको पनि जन्ममिति फरक परेको तथ्य बाहिरिएको छ । ज्ञवालीको जन्ममिति ५ महिना ५ दिन र ढकालको जन्ममिति १ वर्ष फरक देखिएको छ ।

प्रहरी नियमावलीको नियम–१२७ को खण्ड ३ को प्रतिबन्धात्मक वाक्यांश अनुसार जन्ममिति एक वर्षभन्दा धेरै फरक भएमा शैक्षिक योग्यतामा उल्लेख भएको जन्म मितिलाई मान्यता दिने व्यवस्था छ । डेढ वर्ष फरक परेका हुनाले सिंहको नागरिकतामा उल्लेखित जन्ममितिलाई मान्नुपर्ने अवस्था देखिएपछि सिंहले राजीनामाको बाटो लिए ।

प्रहरी अधिकृतहरूको कागजात कसरी आयो भन्नेबारे संगठनले चासो राख्नु सामान्य भएको प्रहरी प्रवक्ता (डिआईजी) पोषराज पोखरेलले बताए ।

प्रहरी सङ्गठनमाथि प्रश्न उठेको छ–‘अति गोप्य कागजात कसरी बाहिरियो ?’ कागजात बाहिरिएपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । आफ्नो कार्यालयमा भएको कागजात बाहिरिएको बारेमा प्रहरी प्रधान कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी)लाई पत्राचार गरेको छ । लैनचौर स्थित प्रहरी किताबखानामा बुधवार नै पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरी अधिकृतहरूको कागजात कसरी आयो भन्नेबारे संगठनले चासो राख्नु सामान्य भएको प्रहरी प्रवक्ता (डिआईजी) पोषराज पोखरेलले बताए । रातोपाटीसँग पोखरेलले भने–‘आन्तरिक छानबिन भइरहेको छ ।’

सामाजिक सञ्जालमा छरपस्ट कागजात अनुसार सो कागजात प्रहरीभित्रबाट नै बाहिरिएको देखिन्छ । कागजातको माथिल्लो लाइनमा लेखिएको छ–‘हाम्रो अभिलेखको पिएमआईएसमा भएको जन्ममिति ।’

पुलिस मेनेजमेन्ट इन्भेन्ट्री सिस्टम प्रहरीको डिजिटल सिस्टम हो । पिएमआईएसमा भएको जन्ममिति र सिटरोलमा उल्लेख भएको जन्ममिति अधिकृतहरूको जन्म मिति फरक पर्न गएको अवधिलाई गणना गरिएको कागजातमा भेटिएको छ ।

सिटरोल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा हुन्छ । सो शाखाका प्रमुख हुन्, प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डे । उनी आईजीपी सिंह निकट अधिकृतको रूपमा चिनिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप