आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डी.ए.भी. देवनागरी दिवस सम्पन्न

बिहीबार, ११ फागुन २०७९, १५ : ००
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । डी.ए.भी. सुशील केडिया विश्व भारती विद्यालयले २४ औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस सम्पन्न गरेको छ । विभिन्न  भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौँ उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ  डी.ए.भी. विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रूपमा देवनागरी दिवस मनाइएको हो । 

उक्त अवसरमा सहभागी विद्यालयहरूले संस्कृत श्लोकवाचन, नेपाली–हिन्दी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । अन्तर विद्यालय प्रतिस्पर्धाहरूमा डी.ए.भी. अप्रतिस्पर्धी रहे पनि डी.ए.भी. आबद्ध विद्यार्थीहरूले संस्कृत, नेपाली र हिन्दी लगायत विभिन्न मातृभाषाका साहित्य, संस्कृति, कला र रीतिरिवाज झल्काउने नृत्य एवं कलाकौशलता प्रदर्शन गरेका थिए । 

IMG_0884 copy

डी.ए.भी. विद्यार्थीहरू प्रस्तुत भएका संस्कृत स्वागत गीत, नवरस झल्किने  थेमेटीक शिबताण्डब, थारु भाषा र संस्कृतिको मघौँटा नाच र मगर भाषा र संस्कृति बोकेको टप्पा नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष अनिल केडियाले डी.ए.भी. अङ्ग्रेजी माध्यम विद्यालय भए पनि स्थापनाकालदेखि देवनागरी भाषाहरू अध्ययन–अध्यापन भइरहेको जानकारी गराए ।   उपस्थित सम्पूर्ण सहभागीहरूलाई डी.ए.भी. विद्यालयले संस्कृत भाषाको विकासमा अनवरत रूपमा लागिपरेको बताए ।

IMG_0936 copy

सोही अवसरमा उनले जननी, मातृभाषा र शिक्षण प्रक्रियाको अन्तरसम्बन्धको चर्चा गर्दै मातृभाषा मानव इतिहासको धरोहर रहेको र पुस्तान्तरण प्रक्रिमा भाषाको सबलीकरण गर्ने सवालमा  शैक्षिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए । 
त्यसैगरि नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्रा.डा. यादव प्रकाश लामिछानेले विद्यार्थीहरुको प्रतिभाको उच्च प्रशंसा गर्दै विद्यालयको देवनागरी भाषाको एकीकृत मञ्चमा सहभागी हुन पाउँदा हर्षित भएको बताए । उनले भाषा र लिपिको विकास भए मात्र शिक्षण प्रक्रिया अगाडि बढ्न सक्ने बताए । 

नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा.कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी डा.मंचला झा  बिच शिक्षण प्रक्रियामा मातृभाषाको भूमिका विषयमा अन्तरक्रिया समेत भएको थियो । उनीहरुले ज्ञानको प्रस्फुटनमा चिन्तन र मनन देखि अभिव्यक्तिको तहमा अन्य भाषाको तुलनामा मातृभाषा प्रभावकारी रहेको र अध्ययन–अध्यापन प्रक्रिया सरल र छिटो छरितो ढङ्गले अगाडी बढ्ने तथ्य र तथ्याङ्कहरू प्रस्तुत गरे । सोही अवसरमा मृत र जीवन्त भाषाको बारेमा समेत अन्तरक्रिया भएको थियो । 

IMG_0979 copy

विकसित राष्ट्रहरूले विभिन्न मातृभाषा लगायत राष्ट्रिय भाषाको संरक्षण गर्न सफल भए पनि विकासोन्मुख र अल्पविकसित राष्ट्रहरूको मातृभाषाको सूचि प्रत्येक दशकमा घट्ने क्रममा रहेको तथ्याङ्कहरू प्रकाश पारिएको थियो । 
विज्ञान, प्रविधि, सञ्चार लगायत सर्वत्र अङ्ग्रेजी भाषाको प्रभाव रहँदा रहँदै पनि विश्वका विभिन्न शक्ति राष्ट्रहरू जस्तै कोरिया, जापान, जर्मन, फ्रान्स चिन रसियाले आफ्नै भाषा संस्कृतिको जगेर्ना गरेका  उदाहरणहरू अन्तरक्रिया कार्यक्रममा अभिव्यक्त भएका थिए । 
समापन समारोहमा देवनागरी दिवसको विभिन्न अन्तर विद्यालय प्रतिस्पर्धाका सर्वोत्कृष्ट, उत्कृष्ट र उत्तम विद्यार्थीहरुका साथै सम्पूर्ण प्रतिस्पर्धीहरूलाई पुरस्कार र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

IMG_1252 copy

कार्यक्रममा आमन्त्रित पाहुनाको स्वागत र सत्कारको लागि विद्यालयकी प्राचार्य डा.भुवनेश्वरी राव, उप–प्राचार्य रामचन्द्र खनाल लगायत सम्पूर्ण व्यवस्थापन समितिको उपस्थिति रहेको थियो । 
देवनागरी भाषा लगायत नेपाली मौलिक भाषा संस्कृति, भेसभुसा, रीतिरिवाज र परम्पराको जर्गेना गर्ने  अभियानको नेतृत्वकर्ता विद्यालयकी प्राचार्य एवं अङ्ग्रेजी भाषाकी विद्वान डा. भुवनेश्वरी रावको नेतृत्वप्रति सम्पूर्ण देवनागरी भाषाका विभागाध्यक्ष लगायत सम्पूर्ण विद्यालय परिवार कृतज्ञ र अनुग्रहित रहेको जनाएका छन् । 

प्राचार्य रावले विभिन्न अवसरहरूमा विद्यार्थीहरूको सिकाई प्रक्रिया र उनीहरूको क्षमता र सिर्जनशिलता प्रस्फुटन हुने सन्दर्भमा मातृभाषा थप प्रभावकारी हुनसक्ने राय व्यक्त गर्दै आएकी छन् ।  

IMG_1203 copyIMG_1264 copy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप