मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय
राजनीति

माधव नेपालको दस्ताबेज : माओवादीमा नीतिगत अस्थिरता, एमाले तहसनहस !

१४ राजनीतिक पार्टी को कस्ता ?
आइतबार, ३० वैशाख २०८१, १५ : १२
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । आगामी असार १६ देखि २० गते हुने राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको नेकपा एकीकृत समाजवादीले  महाधिवेशनमा पेस गर्ने दस्ताबेजहरूमाथि घनिभूत छलफल थालेको छ ।

शनिबार सुरु भएको स्थायी कमिटी कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेस गरेका छन् । त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्ताव महासचिवव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारूपबारे प्रस्ताव पेस गरेका छन् । ती प्रस्तावहरूमा शनिबार आइतबार छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेता खतिवडाका अनुसार स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा समेत सबै प्रस्तावहरूमाथि छलफल हुनेछ । छलफलका क्रममा सदस्यहरूले दिने सुझावलाई समेत समेटेर प्रतिवेदनहरूलाई पूर्णता दिँदै महाधिवेशनमा लगिने छ । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक वैशाख ३१ गते र केन्द्रीय कमिटी बैठक जेठ १ गतेबाट बस्नेछ ।

अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न राजनीतिक दल र शक्ति सन्तुलनको विश्लेषण गरिएको छ ।

जसमा नेपालले नेपाली कांग्रेसलाई नवउदारवादको पक्षपोषकका रूपमा चित्रित गर्दै केही हदसम्म दलाल पुँजीपति वर्गको समेत प्रतिनिधित्व गर्ने दलका रूपमा चित्रित गरेका छन् । संसद्को दोस्रो ठुलो दल एमालेलाई नेपालले ‘दक्षिणपन्थी अवसरवादी चरित्र’को कम्युनिस्ट पार्टी भनेका छन् ।

साथै एमाले वर्ग अडानमा स्पष्ट नभएको रु दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको नेपालको दस्ताबेजमा उल्लेख छ ।

‘नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको छ’, अध्यक्ष नेपालले भनेका छन् ।   

अध्यक्ष नेपालले आफ्नो दस्ताबेजमा माओवादी केन्द्रलाई  नीतिगत अस्थिरताको परिचय बनाएको पार्टी जस्तो भएको र नेकपा विभाजनपछि सैद्धान्तिक अन्यौलमा फसेको टिप्पणी गरेका छन् ।

संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टीका रूपमा व्याख्या गरेका नेपालले यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको बताएका छन् । साथै संविधान, गणतन्त्र र सङ्घीयताप्रति रास्वपाको दृष्टिकोण स्पष्ट नभएको तथा उक्त पार्टीले आफूलाई मध्य दक्षिणपन्थीको रूपमा प्रस्तुत गर्ने गरेको उल्लेख गरेका छन् । ‘त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले वामपन्थी होइन कि दक्षिणपन्थी अडान राख्दछ’, नेपालको दस्ताबेजमा भनिएको छ ।

नेपालले रास्वपाले सस्तो लोकप्रियतावादमार्फत सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गरेको बताएका छन् । त्यस्तै अध्यक्ष नेपालको दस्ताबेजमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई मधेस प्रदेशमा प्रभाव राख्ने पार्टीका रूपमा चित्रण गर्दै मधेसको उदार मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा व्याख्या गरेका छन् ।

नेपालले जसपा नेपाल विभाजित भएर बनेको अशोक राई नेतृत्वको जसपाबारे भने दस्ताबेजमा केही खुलाएका छैनन् । राई नेतृत्वको पार्टी केही दिन अघिमात्र निर्वाचन आयोगमा दर्ता भएको हो । 

१. नेपाली काँग्रेस :  अहिले प्रतिनिधि सभामा ८८ सिटसहित सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली काँग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले केही हदसम्म दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र प्राप्तिको सङ्घर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको छ ।

२. नेपाल कम्युनिस्ट पार्टी (एमाले) :  प्रतिनिधि सभामा ७८ सिट भएको दोस्रो ठुलो दल नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको छ । व्यक्तिवादलाई विचार तथा सङ्गठनको आधार बनाएको हुँदा यसको आन्तरिक सामूहिक जीवन तहसनहस भएको छ र त्यसको बाह्य अभिव्यक्तिका रूपमा मुलुकको लोकतान्त्रिक प्रक्रियाका विरुद्धसमेत खडा हुने गरेको छ । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।

३. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) :  प्रतिनिधि सभामा ३२ सिटसहित तेस्रो ठुलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्म आउँदा एउटा असाधारण तीव्र रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ । नीतिगत अस्थिरता यस पार्टीको परिचयजस्तो बनेको छ । नेकपाको विभाजनपछि फेरि माओवादी सैद्धान्तिक दिशा अँगालेको हुँदा स्वयं सैद्धान्तिक अन्यौलता फसेको छ । तर आजका राजनीतिक उपलब्धिको रक्षाका लागि तत्पर रहेको हुँदा यस पार्टीसँग हाम्रो पार्टीको मित्रतापूर्ण सम्बन्ध छ । यसका कैयन् कार्यशैलीगत कमजोरीको मित्रवत् आलोचना गर्दै तिनलाई हटाउन जोड दिनुपर्छ ।

४.राष्ट्रिय स्वतन्त्र पार्टी :  प्रतिनिधि सभामा २१ सिटका साथ चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधान, गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । यसले आफूलाई मध्य दक्षिणपन्थीको रूपमा प्रस्तुत गर्ने गरेको छ । त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले वामपन्थी होइन कि दक्षिणपन्थी अडान राख्दछ । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ । यस पार्टीले पनि त्यही भूमिका निर्वाह गर्दै आएको छ ।

५.राष्ट्रिय प्रजातन्त्र पार्टी :  प्रतिनिधि सभामा १४ सिटका साथ पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टीले समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवम् लम्पट चिन्तनको प्रतिनिधित्व गर्दछ । यो पार्टी संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ र राज्यलाई धर्मसँग जोडेर मुलुकलाई हिन्दू राष्ट्रमा परिणत गर्न चाहन्छ ।

६.जनता समाजवादी पार्टी :  प्रतिनिधि सभामा १२ सिटका साथ छैँटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक साजवादी सिद्धान्त आँगालेको पार्टी हो । मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यस पार्टीले मधेसको उदार मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ र कैयन् प्रगतिशील एजेन्डाप्रति सकारात्मक धारणा राख्दछ । यो पार्टी संविधान, गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

७. जनमत पार्टी :  प्रतिनिधि सभामा ५ सिटका साथ आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोच अँगालेर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको पार्टी हो तर अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

८. लोकतान्त्रिक समाजवादी पार्टी :  प्रतिनिधि सभामा ४ सिटका साथ नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी हो । मुख्य गरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टीले पनि मधेसको उदार मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ । यो पार्टी गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

९. नागरिक उन्मुक्ति पार्टी :  प्रतिनिधि सभामा ४ सिटका साथ दशौँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर सङ्गठित एवम् क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन । गणतन्त्र र सङ्घीयताप्रति भने प्रतिबद्ध नै रहेको छ ।

१०.नेपाल मजदुर किसान पार्टी :  प्रतिनिधि सभामा १ सिटका साथ एघारौँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवम् अत्यन्त सङ्कीर्ण चरित्रको कम्युनिस्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ तर नेतृत्वमा रहेको निम्न मध्यम वर्गीय जडता र सङ्कीर्णताले गर्दा निरन्तर खुम्चिँदै गएको छ । भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै छ ।

११.राष्ट्रिय जनमोर्चा :  प्रतिनिधि सभामा १ सिटका साथ बाह्रौँ स्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक सङ्गठन हो । वामपन्थी चरित्रको यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर सङ्घीयताको विरोधी पार्टी हो ।

१२.नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी :  यो नेकपा (माओवादी) बाट विभाजित भएर बनेको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव समूहबाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिलेर बनेको कम्युनिस्ट पार्टी हो । यो पार्टी जडसूत्रवादी चिन्तन र अव्यवहारिक कार्यनीतिको सिकार भएको छ । यसले देशभक्त गणतान्त्रिक मोर्चामार्फत खुला राजनीति गर्ने र चुनाव लड्ने गरेको छ तर जनताको मत प्राप्त गरेर विजयी हुन सकेको छैन । यो पार्टी गणतन्त्र, सङ्घीयता र समाजवादप्रति प्रतिबद्ध रहेको छ ।

१३.नेपाल कम्युनिस्ट पार्टी (विप्लव) :  यो नेकपा (माओवादी) बाट विभाजित भएर बनेको नेकपा (क्रान्तिकारी माओवादी) बाट पुनः विभाजित भएर बनेको कम्युनिस्ट पार्टी हो । वर्तमान संविधान अस्वीकार गरी विद्रोहको नीति लिएको र चुनाव बहिष्कार गरेको यो पार्टी अहिले संविधान मानेर शान्तिपूर्ण राजनीति गर्ने बाटोमा आएको छ र हाम्रो पार्टी समेत सामेल रहेको समाजवादी मोर्चामा पनि रहेको छ । यो पार्टी गणतन्त्र, सङ्घीयता र समाजवादप्रति प्रतिबद्ध रहेको छ ।

१४.नेपाल कम्युनिस्ट पार्टी (माले) :  यो २०५४ सालमा नेकपा (एमाले) बाट विभाजित भएर बनेको नेपाल  कम्युनिस्ट  पार्टी (माले) नेकपा (एमाले) मा पुनः एकीकृत हुँदा असहमत भएर रहेको सानो समूह हो । यस पार्टीको नेतृत्वमा दक्षिणपन्थी रुझान र व्यक्तिवादी कार्यशैली छ भनेर आलोचना हुने गरेको छ । यसले निर्वाचनमा भाग लिने गरेको छ तर अहिले संसदमा उपस्थित छैन ।

अध्यक्ष नेपालले हाल संसदमा प्रतिनिधित्व नगर्ने दुई दल सीपी मैनाली नेतृत्वको नेकपा माले र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव)को पार्टीबारे पनि दस्ताबेजमा उल्लेख गरेका छन् । अध्यक्ष नेपालले नेकपालाई गणतन्त्र, सङ्घीयता र समाजवादप्रति प्रतिबद्ध रहेको पार्टीका रूपमा उल्लेख गरेका छन् भने नेकपा मालेलाई दक्षिणपन्थी रुझान राख्ने पार्टीका रूपमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप