शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

कछुवा गतिमा तार भूमिगतको काम : तीन वर्षमा भौतिक प्रगति ५० प्रतिशत मात्र

सोमबार, १५ फागुन २०७९, १० : ३२
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने कामको तीन वर्षमा समग्र भौतिक प्रगति ५० प्रतिशत मात्र पुगेको छ । २०७९ साउन महिनासम्म काम सक्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले २०७६ माघबाट विद्युतीय तार भूमिगत गर्न सुरु गरेको थियो । 

तर तोकिएको समयभन्दा ६ महिना बढी समय बितिसक्दा पनि काम सन्तोषजनक हुन सकेको छैन । समयमै काम नसकिएपछि ठेक्का अवधि १५ महिना थप गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले कोरोना र स्थानीयको अवरोधका कारण तार भूमिगत गर्ने काममा ढिलाइ भएको बताउँदै आएको छ । 

विद्युतीय तार भूमिगत गर्दा खनिएको सडक १० दिनभित्र दुरुस्त बनाउनुपर्ने विभाग र प्राधिकरणबीच २०७६ मा सम्झौतामा भएको थियो । तर प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा खनेको सडक मर्मत हुनसकेको छैन । जसका कारण सवारीसाधन फस्ने गरेका छन् भने धुलोका कारण सर्वसाधारणले सास्ती पाएका छन् । प्राधिकरण र सडक विभागले एक अर्कालाई दोष दिँदै आएको छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले प्राविधिक समस्या भएकाले अधिकांश ठाउँमा सडक खनेरै काम भइरहेकाले स्थानीयले सास्ती खेप्नु परेको बताए । ‘बिजुलीको सबैलाई चाहिएको छ । तर कोही पनि आफ्नो घर अगाडि ट्रान्समिटर राख्न चाहँदैनन्,’ उनले भने, ‘अनि कसरी समयमा काम सम्पन्न हुन्छ ?’

तार भूमिगत गर्दा ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ (एचडीडी) प्रविधिबाट सडक प्वाल पार्ने प्राधिकरण र विभागबीच सम्झौता छ । यो प्रविधिअनुसार पूरै सडक खन्नु पर्दैन । सम्झौतामा २०० मिटरको दूरीमा प्वाल पारेर तार जमिनमुनि राखिने उल्लेख छ । तर, प्राधिकरणले एचडीडीको प्रयोग नगरेर सम्झौता उल्लङ्घन गरेको सडक विभागको भनाइ छ । 

प्राधिकरणका अनुसार हाल रत्नपार्क वितरण केन्द्रअन्तर्गत चाबहिल, चुच्चेपाटी, मित्रपार्क, लैनचौर, लाजिम्पाट, धोबीखोला कोरिडोर क्षेत्रमा भूमिगत गर्ने काम सकिएको छ । सामाखुसी, महांकाल, टेकु क्षेत्रमा पहिले नै १५ महिना समय थपिइसकेको छ । हालसम्म रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टेमा तार भूमिगत गरिसकिएको छ भने त्यस्तै त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानमा अहिले तार भूमिगतको काम ६५ प्रतिशत सकिएको छ । त्यसैगरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, धापासी, बसुन्धाराको ७० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणको भनाई छ । 

विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना हो । महाराजगन्ज वितरण केन्द्र मातहत ६ सय किमी तार अन्डरग्राउन्ड गर्न लागिएको छ । बूढानीलकण्ठ, चपली, गोल्फुटार, हात्तीगोडा, महाराजगन्जलगायतका विभिन्न स्थानमा भूमिगत कार्य भइरहेको काठमाडौँ उपत्यकामध्ये तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले बताए । काठमाडौँ उपत्यकामा काम सकिएलगतै विराटनगर, चितवन, पोखरामा पनि तार भूमिगत गर्ने प्राधिकरणले जनाएको छ । 

फुटपाथमा ट्रान्सफर्मर पासो 

यता काठमाडौँ उपत्यकाको सडकपेटीमा राखिएको विद्युतीय ट्रान्समिटरका कारणले गर्दा पैदलयात्रुले समस्या भोग्नु परेको छ । साँघुरो फुटपाथ हिँड्दाहिँड्दै हराउँछ । फुटपाथमा ट्रान्समिटरका राख्दा पैदलयात्रुलाई जोखिम मोलेर हिँड्न परेको अनामनगरमा भेटिएका सिर्जना थापाले बताइन् । ‘सडकमा हिँड्यो गाडीले हान्ने डर, फुटपातमा हिँड्यो ट्रान्समिटरको डर,’ उनले भनिन् ।

यसअघि प्राधिकरणको लापरबाहीका कारणले काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालअगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको थियो । धन्न त्यसबेला कुनै मानवीय क्षति भने भएन । 

प्राधिकरणले त्यसबाट पाठ सिकेर सडकपेटीभन्दा टाढा नै ट्रान्समिटर राख्नु पर्ने हो । तर, त्यस्तो खालका कुनै पनि काम हुन सकेको छैन । ट्रान्सफर्मर मान्छे हिँड्ने ठाउँभन्दा कम्तीमा एक मिटरभन्दा बढी दूरीमा हुनुपर्छ । 

यता प्रवक्ता भट्टराई भने फुटपाथलाई असर पार्ने ट्रान्समिटरहरु हटाइसकेको दाबी गर्छन् । सर्वसाधारणको भिडभाड हुने ठाउँमा मान्छेले छुन सक्ने गरी ट्रन्सफर्मर राख्दा जोखिमपूर्ण हुने देखिएर नै त्यसलाई हटाएको उनले बताए । ‘सडकपेटी साँघुरिएको ठाउँमा र धेरै जोखिम हुने ठाउँमा अहिले ट्रान्समिटर छैन,’ उनले भने, ‘केही ठाउँमा भने अध्ययन हुँदैछ । त्यसपछि कुन ठाउँमा हटाउनु पर्ने हो, हामी हटाउँछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप