शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

धान उत्पादन बढ्दा पनि घटेन चामलको मूल्य

आइतबार, २१ फागुन २०७९, १० : २५
आइतबार, २१ फागुन २०७९

काठमाडौं । पछिल्लो समय नेपालमा चामल र मैदाको मूल्य लगातार महँगिदै गएको छ । युक्रेन–रुस युद्ध र खडेरीका कारण देखाउँदै भारतले नेपालमा गहुँ र चामल निर्यातमा रोक लगाएको थियो । तर, नेपालमा नयाँ धान उत्पादन भइसक्दा र नेपालले भारतबाट कोटामा गहुँ आयात गर्दासमेत बजारमा मूल्य घटेको छैन ।

गत असोजमा प्रतिबोरा १७ सय ५० रहेको जिरा मसिना चामल अहिले २२ सय रुपैयाँ प्रतिबोरा पुगेको छ । त्यसैगरी ६० रुपैयाँ प्रतिकेजी रहेको मैदाको मूल्य अहिले एक सय रुपैयाँ पुगेको छ । पाँच महिनाको अन्तरालमा चामलको मूल्य प्रतिबोरा ५ सय ५० रुपैयाँ र मैदा प्रतिकेजी ४० रुपैयाँले बढेको छ ।  

बजारमा मैदा, आँटा र चामल अभाव भएकाले अझै मूल्य बढ्न सक्ने व्यवसायीहरु बताउँछन् । जोरपाटीका एक व्यापारीले भने, ‘मैले डिलरमा चामल मगाएको हप्ता दिन भइसक्यो, अझै आएको छैन । उतैबाट मूल्य बढेर आउँछ, हामीले बढाएको होइन ।’

बासमती र उसिनाबाहेक अन्य चामलमा भदौ २४ गतदेखि भारतले निर्यातमा २० प्रतिशत कर लगाएको थियो भने कनिका निर्यात रोकेको थियो । भारतको पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा खडेरीका कारण धानको उत्पादन घटेकाले चामल निर्यातलाई उसले निरुत्साहित गरेको हो ।

चालु आर्थिक वर्षमा १३ अर्ब चार करोड ६८ लाखको धान आयात भएको छ भने १० अर्ब ६६ करोड ७ सात लाख रुपैयाँको चामल आयात भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा नेपालमा यस वर्ष बर्खे धान र चैते धान गरी करिब ५५ लाख मेट्रिक टन धान उत्पादन भएको छ । यो भनेको गत वर्षको भन्दा ६.९४ प्रतिशतले बढी हो । तर, नेपालमा धान उत्पादन बढ्दा पनि बजारमा चामल अभाव भएको भन्दै व्यवसायीहरुले चामलमा केजीको २० देखि २५ रुपैयाँसम्म मूल्य बढाएका छन् ।

विगत ८ महिनादेखि चामलको मूल्य बढ्दै आएको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताए । भारतबाटै चामलको मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य बढेको उनको भनाइ छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार त्रिशुलीको पोखरेली चामल प्रतिकेजी ९०, स्टिम जिरा मसिनो चामल प्रतिकेजी ७०, लङग्रेन वासमती चामल प्रतिकेजी १३०, स्टिम सोना चामल प्रतिकेजी ६०, चामलको पिठो खस्रो ५०, चामलको पिठो मसिनो प्रतिकेजी ६० रुपैयाँ मूल्य छ । तर, बजारमा तोकेको मूल्यभन्दा बढीमा कारोबार हुने गरेको पाइन्छ ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवाका अनुसार नेपालमा ११ हजार ६७ हेक्टरमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन हुँदै आएको छ । नेपालमा वार्षिक २५ लाख मेट्रिक टन गहुँ खपत हुने गरेको छ ।

भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध पछि कोटामा ५० हजार मेट्रिक गहुँ आयात गरिसकेको र त्यसलाई प्रोसेसिङ गर्न समय लाग्ने नेपाल मैदा उत्पादक संघका महासचिव राधेश्याम अग्रवालले बताए । पहिला महँगो मूल्यमा गहँु, मैदा खरिद गरेकाले अहिले तत्काल मूल्य घट्न गाह्रो भएको उनको भनाइ छ ।

नेपालमा नयाँ गहुँ उत्पादन हुनुभन्दा अघि गहुँ आयात गर्न नसकेमा मैदा र आँटाको मूल्य झन् बढ्ने उनले बताए । अहिले बजारमा मैदा, आँटाको अभाव नरहेको उनको भनाइ छ ।

उनले भने, ‘यद्यपि थप कोटाको गहँु एक महिनाभित्र आयात भएन भने नेपाल फेरि पनि मैदा र आँटा अभाव हुन सक्छ । तर, वैशाखमा नेपालमा नयाँ गहुँ उत्पादन हुने भएकाले मैदा र आँटाको मूल्य विस्तारै घट्दै  जान्छ ।’

अन्तर्राष्ट्रिय मूल्य वृद्धि बाहेक मूल्यमा स्वेच्छाचारी भेटिएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । ‘नेपाल कृषिमा पूर्णरुपमा आत्मनिर्भर हुन सकेको छैन,’ उनले भने, ‘हामीले दैनिक रुपमा अनुगमन गर्दै आएका छौं, अहिलेसम्म त्यस्तो कैफियत भेटिएको छैन ।’

धरमराउँदै उद्योगी व्ययवसायी

भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालमा गहुँबाट उत्पादन हुने मैदा, आँटा, सुजीको अभाव भई त्यससँग सम्बन्धित उद्योगहरू धरमराएका छन् । नेपाल मैदा संघका अनुसार, नेपालका ३६ वटा मैदा उद्योगले वार्षिक ६ लाख ५० हजार मेट्रिक टन गहुँ प्रयोग गर्दै आएका छन् । जसमध्ये ७० प्रतिशत आन्तरिक उत्पादन र बाँकी ३० प्रतिशत भारत लगायत अन्य देशबाट आयात हुन्छ । 

नेपालमा तत्काल गहुँ आयात गर्न नसकेमा गहुँसँग सम्बन्धित उद्योग बन्द हुने अवस्थामा रहेको अग्रवालले बताए । संघले मन्त्रालयलाई थप दुई लाख ५० हजार मेट्रिक टन गहुँ आयातका लागि पत्र पठाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको उनले बताए ।

समयमै गहुँ आयात भएमा उद्योगीहरुलाई केही राहत हुने उनको भनाइ छ । उनले भने, ‘समयमै गहुँ आयात गर्न नसके नेपालका ३६ वटा मैदा उद्योग बन्द हुने सम्भावना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप