बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको ‘असफलता’ मा पौडलले यसरी खोज्दैछन् ‘सफलता’

बुधबार, १६ फागुन २०७४, ०६ : १२
बुधबार, १६ फागुन २०७४

काठमाडौं– काँग्रेसले २१ गते आफ्नो संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेताका लागि सभापति शेरवहादुर देउवा अगाडि देखिएका छन् भने उनलाई रोक्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अगाडि सार्ने तयारी गरेको छ ।
चुनावी नतिजालाई लिएर काँग्रेसमा देखिएको आन्तरिक विवाद आसन्न संसदीय दलको नेता चयनमा देखिने भएको छ । चुनावी पराजयमा सभापति देउवाको कार्यक्षमता र कार्यशैली जिम्मेवार रहेको पौडेलपक्षको भनाई छ । उसले यसलाई मुख्य मुद्धा बनाएको छ ।
देउवालाई रोक्न पौडेलपक्षले देउवाको ‘असफलता’लाई मुख्य कारण बनाएको छ ।

पौडेलको देउवालाई पत्र
आइतवार वसेको केन्द्रीय समितिको बैठकमा पौडेलले लिखित रुपमा पाँच पेजको पत्र मार्फत देउवाप्रति असन्तुष्टि जनाएका थिए । पौडेलको पत्रमा देउवा अब कुनै पनि पदका लागि योग्य नहुँने आशय व्यक्त छ ।

चिठीको शुरुवातमै पौडेलले भनेका छन्, ‘देउवाजी, तपाईंको सिङ्गो नेपाली काँग्रेसको सभापति बन्ने इच्छा पुरा भएको छ । दलको नेता पनि चुनिनुभयो । प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ । अब तपाईंले चाहेको सबै पूरा भयो ।’

पौडेलले दलको नेता र प्रधानमन्त्री बनिसकेकोले ‘सानो समूहको संरक्षक बन्नपट्टी नलागेर सिङ्गो काँग्रेसको नेता बन्न’ देउवालाई सुझाएका छन् ।
महासमितिको वैठक हुँदै महाधिवेसनमा जानुपर्ने मत राख्न थालेका पौडेलले संसदीय दलको नेतामा देउवालाई पछि पार्न पुरै प्रयास गरेका छन् । देउवाका ‘असफलताको जग टेकेर’ पौडेल पक्ष देउवालाई रोक्न प्रयासमा छ । 
तर, पौडेले भने आफै चाहिँ यसपाली प्रतिनिधिसभा चुनावमा पराजय भएका नेता हुन् ।
सांसदहरुलाई आफ्नो पक्षमा पार्न पौडेलले सोमवार आफ्नै निवासमा चियापानको आयोजना पनि गरेका थिए । पौडेलले देउवालाई निम्तो गरेपनि उनी भने उपस्थित भएनन् । काँग्रेसका अन्य समूहका नेता सहभागी भएको चियापानमा देउवा पक्ष्ीाय नेता चाहिँ गएनन् ।

०५१ र ०६३ मा तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले शेरवहादुर देउवालाई दलको नेता बनाएको कारण देखाँउदै देउवाले संसदीय दलको नेतामा रुची देखाउन नहँुने तर्क पनि राखिएको छ ।

को बलियो ?
प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्षबाट २३ र समानुपातिकबाट ४० सदस्य छन् । कुल ६३ सांसदमा वहुमत संख्या आफ्नो पक्षमा देखिएपछि देउवा अघि सरेका छन् । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ देउवा पक्षका सांसद बढी छन् ।

प्रत्यक्षमा निर्वाचितमा देउवापक्षमा ११ सांसद छन्  । पौडेलपक्षबाट ९ सांसद छन् । बाँकी ३ सांसद कृष्णप्रसाद सिटौलापक्षका हुन् । समानुपातिकतर्फ छनौट भएकामा देउवा निकट २९ सांसद छन् भने पौडेल पक्षका १० छन् । समानुपातिकमा चुनिएका उद्योगी विनोद चौधरीको गुट भने पहिचान भईसकेको छैन ।

काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुन ३२ मत आवश्यक पर्दछ ।

तर्क आ–आफ्नै
काँग्रेसमा ‘देउवा नै संसदीय दलको नेता बन्नुपर्छ’ र ‘बन्नु हुँदैन’ भन्ने दुई धार देखिएका छन् ।
देउवा निकटका नेताहरुले उनको ‘बचाउ’ गरेका छन् भने पौडेल पक्षका नेताहरुले सभापतिले संसदीय दलको नेता छोड्नुपर्ने तर्क अघि सारेका छन् ।
देउवा निकट गोपालमान श्रेष्ठले देउवा नै दलको नेता बन्ने वताए । श्रेष्ठले वलियो प्रतिपक्षका लागि पार्टी सभापति नै संसदीय दलको नेता चुनिनु पर्ने वताए । उनले भने, ‘मतदान वा सर्वसम्मत जुन विधिबाट भएपनि संसदीय दलको नेता देउवा हो ।’

देउवा निकट अर्का नेता मीन विश्वकर्माले देउवा नै संसदीय दलको नेतामा उपयुक्त व्यक्ति भएको बताए ।

पूर्वसिंचाइमन्त्री सञ्चय गौतमले दलको थप वर्वादीलाई रोक्न पनि देउवाले संसदीय दलको नेताको दावी छोड्नपर्ने बताए ।

स्वर्गीय सभापति गिरीजाप्रसाद कोइरालाले संसदीय दलको नेता छोडेको संस्मरण गराए । उनले देउवाल विगतबाट सिक्नुपर्ने बताए ।

विपक्षी दलको नेतालाई सुविधा
केन्द्रीय संसदमा विपक्षी दलको नेताले मासिक ६० हजार ९७० रुपैयाँ  पारिश्रमिीक प्राप्त गर्छन । पारिश्रमिक भन्दा वाहिरको शीर्षकमा थप सेवा सुविधा पनि विपक्षी दलको नेतालाई उपलब्ध गराइएको हुन्छ ।
विशेष भत्ताका लागि एक हजार, सञ्चारको लागि मासिक तीन हजार, वैठक भत्ता पाँच सय, आवासको लागि २५ हजार ६०८ उपलब्ध गराउने प्रावधान छ ।

त्यसैगरी सचिवालय वन्दोवस्त र गार्डघरको लागि एक हजार ७५० प्राप्त हुनेछ ।

इन्धन २३० लिटर र मोविल ५ लिटर प्राप्त गर्नेछन् भने धारा विजुलीको मासिक दुई हजार प्राप्त गर्नेछन् ।

अशक्त वा मृत्यु भएमा सहायता स्वरुप क्रमशः ५० हजार र दुई लाख पाउने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप