शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेबी पाउडरबाट क्यान्सर मामिला राफसाफ गर्न साढे ६ अर्ब डलर क्षतिपूर्ति तिर्दै जोन्सन एन्ड जोन्सन

बिहीबार, २० वैशाख २०८१, १४ : ५३
बिहीबार, २० वैशाख २०८१

वाशिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय फर्मा तथा मेडिकल प्रविधि कम्पनी जोन्सन एन्ड जोन्सनले बेबी पाउडरको प्रयोगका कारण क्यान्सर भएको भन्दै कम्पनीविरुद्ध दायर भएको मुद्दाहरू राफसाफ गर्न अर्बौँ डलर तिर्ने भएको छ ।

 कम्पनीको एउटा सहायक कम्पनीले यस मामिलामा २५ वर्षको अवधिमा पीडितहरूलाई ६ अर्ब ४८ करोड डलर क्षतिपूर्ति तिर्ने प्रस्ताव गरेको हो । ट्याल्कम–बेस्ड बेबी पाउडरको प्रयोगका कारण पाठेघरको क्यान्सर भएको भन्दै कम्पनीमाथि अमेरिकामा दसौँ हजार मुद्दा दायर भएका थिए । यस्तै केही मुद्दामा अदालतले कम्पनीलाई करोडौँ डलर क्षतिपूर्ति तिर्न आदेश पनि दिइसकेको थियो ।

जेएन्डजेको ट्याल्कम बेबी पाउडरले पाठेघरको क्यान्सर वा फोक्सो र अन्य अङ्गलाई हानी पुर्‍याउने मेसोथेलियोमा गराउन सक्ने दाबी सन् २०२० मा मुद्दामा पीडितहरूले गरेका थिए । कम्पनीले सन् २०२२ मा विश्वभर यो पाउडरको विक्री बन्द गर्ने घोषणा गरेको थियो । बेबी पाउडरको प्रयोगका कारण क्यान्सर भएको भन्दै कम्पनीविरुद्ध अमेरिकाका दर्जनौँ राज्यमा ६० हजारभन्दा बढी मुद्दा दायर भएका छन् ।

यी दाबीकर्ताहरूलाई भुक्तानी दिन र अदालत बाहिरै मामिला राफसाफ गर्न गर्न जेएन्डजेले आफ्नो सहायक कम्पनीलाई दामासाहीमा लैजान खोजेको थियो । 

तर, कम्पनीले अहिलेसम्म पनि आफूले बनाएको पाउडरमा खराबी रहेको कुरालाई भने स्वीकार गरेको छैन । पाउडरकै कारण क्यान्सर भएको आरोपलाई उसले निराधार बताउँदै आएको छ । बेबी पाउडरले क्यान्सर गराएको सबै मामिलाहरू राफसाफ गर्न कम्पनीले ११ अर्ब डलर छुट्याउन खोजिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप