शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु खोला–भैंसेपाटी सडकखण्ड विस्तार : ७ वर्षमा ९० प्रतिशत काम

शुक्रबार, ०३ चैत २०७९, २२ : ०५
शुक्रबार, ०३ चैत २०७९

काठमाडौं । शुक्रबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भैंसेपाटी, बालाजु बाईपास, जोरपाटी–साँखु सडकखण्डको अनुगमन गरे । ठेकेदारको ढिलासुस्तीका कारण लामो समयसम्म सडक निर्माण तथा विस्तार योजना अलपत्र पर्दा यात्रु तथा स्थानीयले सास्ती पाएको गुनासोपछि उनी अनुगमनमा निस्किएका हुन् ।

अहिले काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा धुलो र धुवाँले बटुवादेखि स्थानीयले सास्ती खेप्नु परेको छ । त्योमध्ये एक हो नख्खु खोला–भैंसेपाटी सडकखण्ड । यो सडकखण्ड निर्माण थालिएको ७ वर्षभन्दा बढी भयो । तर,  निर्माणको काम कछुवाको गतिमा छ ।

ठेकेदारले लामो समय काम अलपत्र पार्दा यो सडकखण्डमा दैनिक ओहोरदोहोरमा यात्रुले निकै कष्ट भोग्नुपरेको छ । सडक खनेर अस्तव्यस्त बनाइएको छ भने दुवै किनारमा गिट्टी थुपारेर झन् साँघुरो पारिएको छ ।

समयमै काम सम्पन्न गर्न नसक्दा स्थानीयवासी पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हैरान छन् । सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै पटकपटक गुनासो गर्दा पनि सडक विस्तारको कामले गति लिन नसकेको स्थानीय बताउँछन् ।

nakkhukhola-bhaisepati-road (2)-001

सकडको छेउमा घर हुँदा धुलोले एकछिन पनि उभिन नसक्ने अवस्था रहेको स्थानीय सजिता श्रेष्ठले बताइन् । ‘पाँच वर्षदेखि हामी धुलोमात्र खाएर बसेका छौं,’ उनले भनिन्, ‘घरबाट निस्किना साथ धुलोले ढाक्छ, एकछिन बाहिर उभिन सकिँदैन । हामी धाराको पानी खान छोडेर यो बाटोमा हाल्छौं । हामीले आजै हो मन्त्रीहरु अनुगन गर्न आएको देखेको ।’

मन्त्री आउने थाहा पाएर लगातार दुई दिनदेखि काम भइरहेको स्थानीय विक्रम थापाले बताए । धुलोले गर्दा लुगा सुकाउने त परैको कुरा, खाना खान समेत गाह्रो भएको उनले बताए । ‘यहाँ सडक निर्माणको नाममा कामदारहरु एक छिन आउने, कोट्याउने र जाने काममात्र हुँदै आएको थियो,’ उनले भने, ‘तर, आज मन्त्री आउने भन्ने थाहा पाएर नै होला, दुई दिनदेखि लगातार काम गरिरहेका छन् ।’

पहिलो खण्ड अन्तर्गत ३.५२ किलोमिटर सडक विस्तार गर्न २९ जुलाई २०१६ मा सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त सडक विस्तारको काम २८ महिनाभित्र सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म भौतिक प्रगति ९० प्रतिशतमात्र छ ।

उक्त सडक निर्माणको जिम्मा आशिष–बिरुवा–सीएम जेभी निर्माण कम्पनीले पाएको थियो । पटकपटक म्याद थप गर्दासमेत ठेकेदार कम्पनीले लापरवाही गरेपछि स्थानीयले दबाबस्वरूप सडक नै बन्द गराएका थिए । पछिल्लो पटक गत दसैँअघि नै उक्त सडक निर्माण कार्य सम्पन्न गर्ने सम्झौता थियो । तर, चैत महिना सुरु भइसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

nakkhukhola-bhaisepati-road (3)-001

ठेक्का लगाउने निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ३.५२ किलोमिटरमध्ये दुई किलोमिटर सडकमात्र कालोपत्र भएको छ । सुरु ठेक्का रकम २८ करोड ६२ लाख ५० हजार रूपैयाँ भए पनि अहिले लागत बढाएर ३० करोड ५ लाख रूपैयाँ पु¥याइएको छ । १९ करोड ९६ लाख ९६ हजार रूपैयाँ त भुक्तानी नै भइसकेको छ ।

सडकको बिचमा रहेको खानेपानीको पाइप बिछ्याउने कामले गर्दा काममा ढिलाई भएको काठमाडौं सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द अधिकारीले बताए । पाइप बिछ्याउने काम दुईतीन दिनभित्र सकिने भएकाले चैत मसान्तभित्र सडक कालोपत्रे भइसक्ने उनको भनाइ छ ।

हप्ता दिनभित्र कालोपत्रे हुन्छ : मन्त्री श्रेष्ठ

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाभित्रको योजना जिम्मा लिएका सबै ठेकेदारलाई बोलाएर आफूले निश्चित अवधिभित्र काम सक्न निर्देशन दिएको बताए । उत्यकाको विभिन्न ठाउँमा सडक निर्माणको काम तीब्र गतिमा भए पनि सोचे अनुसार कामको प्रगति हुन नसकेको उनको भनाइ छ ।

nakkhukhola-bhaisepati-road (1)-001

तार भूमिगतले गर्दा केही काममा अवरोध भएको र अहिले सडक विभाग, नेपाल विद्युत प्राधिकरणले पनि रफ्तारका साथ काम गरिरहेको उनले बताए । सकड पिच नहुनुमा एक त ठेकेदारको ढिलाई र स्थानीयको पनि विवाद एक हदसम्म जिम्मेवार रहेको उनको भनाइ थियो ।

‘अनुगमनमा आउँदा धेरै काम हुन बाँकी देखियो,’ उनले भने, ‘स्थानीयको पनि आफ्नै गुनासो छ । अदालतले स्थानीयको घर नभत्काउन आदेश दिएको छ । फैसला भएको कारणले त्यसको विरुद्धमा सरकार जान सक्दैन ।’ कहाँ समस्या छ भनेर छलफल गरी समस्याको समाधान निकाल्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप